कोभिड महामारी: कोरोना भाइरसको उत्पत्तिबारे थप अनुसन्धान गर्ने अमेरिकी निर्णयप्रति चीन आक्रोशित

तस्बिर स्रोत, Reuters
चिनियाँ प्रयोगशालाबाट कोभिड-१९ को उत्पत्ति भएको हो वा होइन भन्नेबारे थप अनुसन्धान गर्ने अमेरिकी प्रयासको चीनले निन्दा गरेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले भाइरसको उत्पत्तिबारे गुप्तचर निकायले तयार पार्ने प्रतिवेदन सार्वजनिक हुने आफ्नो अपेक्षा रहेको बताएका थिए।
चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई ‘राजनीतिक आवरण दिएको र अरूलाई दोषी देखाएको’ आरोप लगाएको छ।
उसले कोभिड-१९ र चीनको वुहान शहरमा रहेको अनुसन्धान प्रयोगशालाबीच कुनै सम्बन्ध नरहेको पनि जनाएको छ।
कोभिड-१९ सबैभन्दा पहिले सन् २०१९ को अन्त्यतिर वुहान शहरमा देखा परेको थियो।
त्यसयता विश्वभरि १६ करोड ८० लाखभन्दा बढी सङ्क्रमण पुष्टि भएका छन् भने ३५ लाखभन्दा बढीले ज्यान गुमाएका छन्।
चिनियाँ अधिकारीहरूले प्रारम्भिक सङ्क्रमण वुहानको समुद्री खानेकुरा पाइने बजारसँग जोडिएको बताएका थिए जसलाई आधार मान्दै अग्रणी वैज्ञानिकहरूले उक्त भाइरस जनावरबाट मानिसमा सरेको सैद्धान्तिक धारणा राखेका थिए।

तस्बिर स्रोत, Getty Images
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसै वर्षको स्थलगत अध्ययनपछि उक्त भाइरस कुनै प्रयोगशालाबाट बाहिर आउने सम्भावना एकदमै न्यून रहेको टिप्पणी गरेको थियो।
उक्त अध्ययनका सहभागी डब्लयूएचओका भाइरोलोजिस्ट मारियोन कुपमेन्सले अमेरिकी निकायहरूसँग कुनै थप सूचना भए उनीहरूले त्यो उपलब्ध गराउनुपर्ने बताए।
तर अमेरिकी सञ्चारमाध्यमका पछिल्ला विवरणहरूमा उक्त भाइरस चिनियाँ प्रयोगशालाबाट उत्पत्ति भएका प्रमाणहरू बढ्दै गएको र सम्भवतः दुर्घटनावश चुहिएको हुन सक्ने उल्लेख गरिएका छन्।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर

अहिले किन विवाद भइरहेको छ?
बुधवार दिएको एउटा वक्तव्यमा राष्ट्रपति बाइडनले कोभिड-१९ को उत्पत्तिबारे प्रतिवेदन तयार गर्न भनेका थिए।
उनले मानव र सङ्क्रमित जनावरको सम्पर्क वा प्रयोगशालामा दुर्घटना कुन कारणले सङ्क्रमण देखियो थप अध्ययन हुनुपर्ने उल्लेख गरेका थिए।
अहिलेसम्म त्यही दुईवटा कारणको सेरोफेरोमा अधिकांश गुप्तचरी निकाय घुमिरहेको भन्दै थप सूचना सङ्कलन गरी निश्चित निष्कर्षमा पुग्ने प्रयासलाई अभिवृद्धि गर्न आफूले निर्देशन दिएको बाइडनको भनाइ थियो।
बिहीवार बाइडनले संवाददाताहरूलाई उनले ‘आफूले थाहा पाएको कुरा नभएसम्म’ उक्त प्रतिवेदन सार्वजनिक गर्ने जनाएका थिए।
त्यसपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि अमेरिका र अरू देशहरूले भाइरसको उत्पत्तिबारे थप बुझ्न गरिरहेको प्रयासलाई स्वागत गरेका थिए।
अमेरिकी घोषणाले चीनलाई आक्रोशित बनाएको छ।
विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाले ‘तथ्य वा वास्तविकतालाई ध्यान नदिने र उत्पत्तिबारेका गम्भीर वैज्ञानिक अध्ययनमा उसको शून्य चासो” रहेको प्रतिक्रिया दिए।
उनले भ्रामक सूचना दिने मामिलामा अमेरिकी गुप्तचर निकायको अँध्यारो विगत रहेको पनि उल्लेख गरेका छन्।
'प्रयोगशाला सिद्धान्त'बारे हामीलाई के थाहा छ?
चीनको एउटा प्रसिद्ध प्रयोगशाला वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट कोभिड-१९ को उत्पत्ति भएको अनुमान अघिल्लो वर्षबाट गर्न थालिएको थियो र त्यसलाई राष्ट्रपति ट्रम्पले व्यापक प्रचारप्रसार गरेका थिए।
एप्रिल २०२० मा अमेरिकी विदेश मन्त्रालयका कूटनीतिक पत्राचारहरूमा त्यहाँ स्थित दूतावासका कर्मचारीहरू जैविक सुरक्षालाई लिएर चिन्तित रहेको पाइएको थियो।

तस्बिर स्रोत, Reuters
तर यसै वर्षको शुरूमा डब्ल्यूएचओले चिनियाँ वैज्ञानिकहरूसँग मिलेर गरेको अध्ययनपछि प्रयोगशालाबाट सङ्क्रमण शुरू हुने सम्भावना न्यून रहेको उल्लेख गरेको थियो।
उसले सम्भवतः चमेराबाट अरू जीव हुँदै सङ्क्रमण मानिसमा सरेको हुन सक्ने बताएको थियो र थप अध्ययनमा जोड दिएको थियो।
बीबीसीका जन सुडवर्थका अनुसार भाइरसको उत्पत्तिबारे सबै सम्भावनाको अध्ययन गर्नुपर्ने पक्षमा कैयौँ वैज्ञानिकहरू रहेको भए पनि योसँग जोडिएको राजनीति सहितका कारणले बेइजिङले आफ्नो भूमिकामा अर्को अनुसन्धानको अनुमति दिने सम्भावना एकदमै कम छ।
यो पनि हेर्नुहोस्










