कोभिड खोपः रुसमा घरपालुवा जनावरलाई पनि कोरोना भाइरसविरुद्ध सुई

तस्बिर स्रोत, Getty Images
रुसका अधिकारीहरूले जनावरहरूलाई कोरोनाभाइरसविरुद्धको खोप दिन थालिएको जनाएका छन्।
गत मार्च महिनामा रुसले कोरोनाभाइरसविरुद्ध जनावरलाई दिइने विश्वको पहिलो खोप दर्ता गरेको घोषणा गरेको थियो।
देशका विभिन्न भेगमा भेटरिनरी क्लिनिकहरूमा खोप दिन सुरु गरिएको पशुस्वास्थ्य सेवाको निगरानी गर्ने निकाय रोस्सेलखोज्नाद्जोरले स्थानीय सञ्चारमाध्यमलाई बताएको छ।
उक्त निकायका अनुसार कार्निभ्याक-कोभ खोपप्रति ईयू, आर्जेन्टिना, दक्षिण कोरिया र जापानले चासो देखाएका छन्।
वैज्ञानिकहरूले हाल मानिसहरूमा उक्त रोग फैलाउन जनावरहरूले खास भूमिका खेलेको भन्ने कुनै प्रमाण नभेटिएको बताएका छन्।
तर विश्वभरि विभिन्न प्रजातिका जनावरमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर

तिनमा कुकुर, बिराला, चिम्पान्जी र मिङ्क आदि छन्।
जनावरलाई दिइने कार्निभ्याक-कोभ लगाएपछि झन्डै छ महिनासम्म प्रतिरक्षा प्रणाली सबल हुने बताइएको छ।
रोस्सेलखोज्नाद्जोर प्रमुखकी सल्लाहकार जुलिया मेलानोका अनुसार क्लिनिकहरूले उक्त खोपको माग बढेको बताएका छन्।
खोपको खोजी
आरआईए समाचारसंस्थाले उनलाई उद्धृत गर्दै खासगरी घरपालुवा जनावर पाल्ने, त्यस्ता जनावरको प्रजनन गराउने र विशेषगरी यात्रा गरिरहने वा आफ्ना जनावरलाई घुमाउने लैजाने मानिसहरूले खोपको खोजी गरेका छन्।
अमेरिकाको भेटरिनरी औषधि उत्पादक कम्पनी जोइटिसले पनि अर्को खोप विकास गरिरहेको छ।
मिङ्क भनिने एक किसिमको अर्धजलचर जीवमा कोभिड-१९ गम्भीर रूपमा देखा परेको छ। उक्त जीव भुवाका लागि पाल्ने गरिन्छ।
कैयौँ देशहरूले घरमा पालिएको उक्त जनावरमा सङ्क्रमण भएको र गम्भीर बिरामी भएको वा मरेको बताएका छन्।
डेनमार्कमा उक्त जनावरमा महामारी नै फैलिएको थियो र त्यहाँ उक्त जनावर पाल्ने कम्पनीहरू सन् २०२२ सम्मका लागि बन्द गरिएका छन्।
उक्त जनावरले रूप फेरिएको कोरोनाभाइरस मानिसमा फर्काएको पनि केही घटनाहरू पाइएका छन्।












