अन्तर्राष्ट्रिय हवाई यात्रा नेपालः उडान नियमित गर्दा पनि भाडा किन महँगो

नेपालमा अन्तर्राष्ट्रिय उडान चार्टर्डबाट नियमित बनाइए पनि अहिलेको भाडा दर सामान्यभन्दा दुईगुना महँगो भएको गुनासो यात्रुहरूको रहेको छ।
युरोप वा अमेरिका जाने उडानको भाडा अहिलेसम्म दोबर महँगो छ भने नेपालीहरू वैदेशिक रोजगारीमा जाने खाडी मुलुकमा तेबरभन्दा महँगो भएको गुनासो सुनिन्छ।
काठमाण्डूमा रहेको एउटा ट्राभल एजेन्सीकी सञ्चालक देवकी गुरुङले चार्टर्ड उडान बन्द गरेर नियमित उडान सञ्चालनमा आए पनि भाडा साबिकबाट दोबरभन्दा नघटेको बताइन्।
"युरोपका लागि पहिला ५०-५५ हजारमा एकतर्फी टिकट पाइन्थ्यो भने जुलाई २० तारिखपछिका लागि हामीले काटेको टिकटको भाडा दोबर छ। यो बीचमा त 'रेट' भन्ने नै थिएन जति राख्दा पनि भयो," गुरुङले बीबीसीसँग भनिन्।
"अस्ट्रेलिया जान रोकिएकाहरू त चार-पाँच लाखसम्मको भए पनि टिकट जसरी पनि मिलाइदिनूस् भनिरहेका छन्।"
उनका अनुसार खाडी मुलुक जाने कामदारको हकमा उडान भाडा झन् बढी छ र उनीहरू मारमा परेका छन्।
वैदेशिक रोजगारीमा जानेलाई झन् मार
खासगरी कतार, दुबई र साउदी अरबमा कामदारका रूपमा धेरै नेपालीहरू गइरहेका छन्।
त्यहाँको सरकारले आफूले तोकेको होटलमा अनिवार्य क्वारन्टीन बस्नुपर्ने नियम राखिदिएपछि कामदारहरू मारमा परेको बताइन्छ।
गुरुङले भनिन्, "हामी ट्राभल एजेन्सीहरूले कार्डबाट पेमेन्ट गरेर होटल बुकिङ गर्ने अनि टिकट लिँदा क्वारन्टीनका लागि एक लाखभन्दा बढी हुन्छ र टिकटका लागि ७०,००० जति गर्दा एक लाख ९०,००० सम्म पर्छ।"
त्यस्ता देशमा नेपाल वायुसेवा निगमको उडान नहुनु र निजी क्षेत्रका मात्र उडान उपलब्ध हुँदा यात्रुहरू मारमा परेको वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव सुजितकुमार श्रेष्ठले बीबीसीलाई बताए।
उनले भने, "यो छानबिन हुनुपर्छ। हामीसँग यति धेरै प्रमाण छ, त्यो हामी पेस पनि गर्न सक्छौँ। क्वारन्टीनको बहानामा साउदी अरबमा छ रातका लागि ८०० डलर लिइरहेको छ। टीभी एसी पनि नभएको एउटा साधारण कोठाका लागि त्यतिसम्म रकम लिइएको छ।"
भाडा महँगो हुनुमा निश्चित व्यवसायीहरूलाई मात्र टिकट अनुमति दिनु अनि उडानलाई सीमित पारिनु कारण भएको नेपाल एसोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट सङ्घका उपाध्यक्ष रमेश थापा बताउँछन्।
उनले भने, "सरकारले बाहिर चाहिँ सबै उडानहरू गर्न खुला भनिदिने तर 'फ्लाइट फ्रिक्वन्सी' चाहिँ नथप्दिने र एअरलाइन्सहरूले पनि कम उडान गर्ने। सम्बन्धित निकायलाई बढाउन दिनेबित्तिकै स्वतः खोलिहाल्छ। कुनै एजेन्सीको नाममा सीट ब्लक गर्ने, होल्ड गर्ने, नदिनेबित्तिकै भाडा स्वतः महँगो भइहाल्छ।"

तस्बिर स्रोत, EPA
उडान कहिलेदेखि पुरानै अवस्थामा आउँछ
उडान थप गरेमा प्रतिस्पर्धा बढ्ने अनि यात्रुलाई सहज हुने व्यवसायीहरूको तर्क छ।
तर नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले भने कोरोनाभाइरस सङ्क्रमणका कारण अहिले नै उडानहरू पूर्ववत् अवस्थामा ल्याउन सक्ने अवस्था नरहेको बताएका छन्।
त्यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सीसीएमसीलगायत धेरै निकायले निर्णय गर्नुपर्ने उनीहरू बताउँछन्।
सरकारले एप्रिल ३० तारिखमा निषेधाज्ञा जारी गरेपछि मे १७ तारिखदेखि ३० तारिखसम्म चार्टर्ड उडान मात्रै भएको थियो।
त्यसपछि जुन महिनामा केही सीमित विमानसेवालाई मात्रै नियमित उडान थोरै सङ्ख्यामा दिएपछि ट्राभल एजेन्सीहरूले ती एअरलाइन्सको एकाधिकार भएको भन्दै नागरिक उड्डयन प्राधिकरणमा आपत्ति जनाएका थिए।
त्यसयता नियमित उडानहरू थपिएका त छन् तर पनि भाडा दोबरभन्दा बढी भएको यात्रुहरूको गुनासो कायमै छ।
'छानबिन गरेर कारबाही'
यात्रुहरूबाट भाडा दोबर, तेबर भएको भन्ने गुनासा आएपछि त्यसको सम्बोधनका लागि छानबिन अघि बढाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
उसले छानबिनपछि गलत पाइए कानुनी कारबाही गरिने बताएको छ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल भाडाका विषयमा छानबिन भइरहेको बताउँछन्।
उनले भने, "कुन पक्षमा कति कमजोरी भयो अथवा कसले बदमासी गर्यो भन्ने पहिचान गर्छौँ। कारबाही गर्न सक्ने हकमा हामीले नै गर्छौँ। हामीले गर्न नसक्ने विषयमा चाहिँ सम्बन्धित निकायहरूमा नै राय सुझावसहितको प्रतिवेदन छिट्टै नै पठाउँछौँ।"
नियमित उडानमा बजारको माग र आपूर्तिको अवस्थाले भाडदर निश्चित हुने गरेको अधिकारीहरूको भनाइ छ।








