कोभिड नेपाल: सङ्क्रमणको दोस्रो लहर ओरालो लाग्दा पनि सरकारी अस्पतालका आईसीयू किन भरिभराउ?

तस्बिर स्रोत, APF via RSS
कोभिडको दोस्रो लहर ओरालो लाग्न थाले पनि काठमाण्डू उपत्यकाका प्रमुख सरकारी अस्पतालमा सिकिस्त बिरामीको चाप खासै घट्न नसकेको अस्पतालहरूले जनाएका छन्।
वीर, त्रिविवि शिक्षण, शुक्रराज ट्रपिकल, पाटन, भक्तपुरलगायतका अस्पतालहरूमा भेन्टिलेटरमा बिरामीको सङ्ख्या खासै नघटेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले जनाउँछ।
शिक्षण अस्पताल महाराजगन्जका आईसीयू विशेषज्ञ डा. प्रमेशसुन्दर श्रेष्ठका अनुसार त्यहाँ कोभिड बिरामीका लागि छुट्टाइएका सबै आईसीयू शय्याहरू भरिएका छन्।
"३० वटा आईसीयूमध्ये ३० वटैमा बिरामी छन्। त्यसबाहेक अरू बिरामी गरेर ४५ देखि ५० हाराहारीमा छन्," डा. श्रेष्ठले भने।
उनका अनुसार दोस्रो लहर उच्च बिन्दुमा पुगेका बेला बिरामीको सङ्ख्या ४०० सम्म थिए।
"बिरामीको सङ्ख्याचाहिँ ५०-६० मा झरेको छ। तर आईसीयू सधैँ भरिएकै हुन्छ," डा. श्रेष्ठले भने।
त्यस्तै अवस्था शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको पनि छ। निर्देशक डा. अनुप बास्तोलाका अनुसार आईसीयूमा बिरामीको सङ्ख्या 'स्थिर' छ।
उनले भने, "आईसीयू त सधैँ भरिएकै हुन्छ। सङ्ख्या स्थिर नै छ।"
शुक्रवारको तथ्याङ्क अनुसार देशभर ५७२ जना कोभिड बिरामी आईसीयूमा र १७२ जना भेन्टिलेटरमा रहेका छन्।

तस्बिर स्रोत, RSS
निजीमा सङ्ख्या बढ्न थाल्यो
दोस्रो लहर उच्च बिन्दुमा पुगेको बेला भरिएका निजी अस्पतालका आईसीयू/भेन्टिलेटरमा पनि फेरि बिरामीको सङ्ख्या बढ्न थालेको छ।
ह्याम्स अस्पतालमा अहिले १२ वटा आईसीयूमध्ये ११ वटामा बिरामी छन्।
आईसीयू विशेषज्ञ डा. सबिन कोइराला भन्छन्, "बीचमा आईसीयू खालि नै भइसकेको थियो। अब फेरि भरिन थालेको छ।"
निषेधाज्ञा खुकुलो भएर सङ्क्रमितको दर बिस्तारै बढ्न थालेपछि निजीमा सामान्यदेखि गम्भीर प्रकृतिका बिरामीको सङ्ख्या बिस्तारै बढ्न थालेको ती अस्पतालहरूले जनाएका छन्।
"बीचमा त बिरामी नै नआएको अवस्था पनि थियो। तर अहिले फेरि इमर्जेन्सीमा आउने क्रम बढेको छ," उनले भने।
सरकारीमा बिरामीको सङ्ख्या किन घटेन?

तस्बिर स्रोत, RSS
निजी अस्पतालमा आईसीयूमा बिरामीको सङ्ख्या घटेको भए पनि सरकारी अस्पतालमा भने खासै नघटेको बताइन्छ।
शिक्षण अस्पतालका डा. श्रेष्ठ भन्छन्, "हाम्री अस्पतालमा अन्य अस्पतालबाट बिरामी आउने भएका कारण आईसीयू खालि भएको छैन।"
"निजी अस्पतालमा उपचार गरेर अलि सहजताका लागि शिक्षण अस्पताल आउने धेरै थिए। त्यसैले बिरामीको चापचाहिँ खासै भएन।"
निषेधाज्ञा खुलेसँगै कठिनाइ हुने चिन्ता
निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर २० प्रतिशत हाराहारीबाट बढेर २५ प्रतिशत पुगेको छ।
सङ्क्रमितको सङ्ख्या बढेसँगै बिरामीको चाप सरकारी अस्पतालमा बढ्ने गरेको पाइन्छ।
सङ्क्रमितको सङ्ख्या घटेकै बेला पनि गम्भीर अवस्थाका बिरामीको चाप नघटेका सरकारी अस्पताललाई फेरि बिरामीको व्यवस्थापनमा कठिनाइ हुने हो कि भन्ने चिन्ता व्यक्त गरिएको छ।
शुक्रराजका डा. बास्तोलाले भने, "निषेधाज्ञा खुकुलो पारिएको छ र यसको असर अबको ४/६ हप्तामा अस्पतालमा देखिन थाल्छ।"
नेपालमा पनि कोरोनाभाइरसको तेस्रो लहर आउने अनुमान गरिएको छ तर कहिले भन्ने यकिन नभएको अधिकारीहरू बताउँछन्।
तेस्रो लहर कहिले आउँछ भन्नेबारे अनुमानका लागि 'मोडलिङ'को काम भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले बताएका छन्।









