कोभिडः युरोपको खोप पासपोर्ट के हो र यसले यात्रालाई कस्तो असर गर्छ?

तस्बिर स्रोत, Getty Images
युरोपमा बस्ने र घुम्ने मानिसहरू अब एउटा होइन दुइटा राहदानी लिएर यात्रा गर्नेछन्।
जुलाईको सुरुदेखि लागु "ईयू डिजिटल कोभिड सर्टिफिकेट, ईयूडीसीसी"ले युरोपका मानिसहरूलाई एक देशबाट अर्को देश जान सहज बनाउनेछ।
यो प्रमाणपत्रको उद्देश्य कोभिड खोप लगाएका वा सङ्क्रमणमुक्त भएका वा भर्खरैको परीक्षणमा सङ्क्रमण नभएको पत्ता लागेका व्यक्तिहरूलाई युरोपेली देशहरू बीचको यात्रालाई सहज बनाएर त्यहाँका यात्रासम्बन्धी प्रतिबन्धहरू लागु नहुने बनाउने हो।
यसलाई युरोपेली खोप राहदानी भनिएको छ र यसलाई ईयूका सबै २७ सदस्य राष्ट्रहरू एवम् आइसल्यान्ड, नर्वे र स्वीट्जरल्यान्डले मान्यता दिएका छन्।
"हामी सदस्य राष्ट्रहरूमा घुमफिरको स्वतन्त्रतालाई पुन: कायम गर्न सहयोग गर्न चाहन्छौँ," युरोपियन कमिशनकी अध्यक्ष उर्जुला फन डेरलाइअनले भनिन्।
तर कतिपय राष्ट्रमा खोप राहदानी विभेदको माध्यम बन्न सक्ने भन्दै यसको विरोध भएको छ।

तस्बिर स्रोत, Getty Images
यसको प्रतिउत्तरमा युरोपियन कमिशनले कुनै कारणवश खोप लगाउन नपाएका नागरिकलाई विभेद गर्न नचाहेको बताएको छ।
ईयूले यो तरिका सदस्य राष्ट्रका नागरिक र बासिन्दाको आवागमन अधिकार सुनिश्चित गर्न बनाइएको सङ्केत गरेको छ। तर जर्मनी र स्पेनजस्ता केही राष्ट्रले ईयूभन्दा बाहिरका राष्ट्रहरूबाट हुने यात्रालाई केही सहज बनाइसकेका छन्।
युरोपको खोप राहदानीले कसरी काम गर्छ र यसले यात्रुहरूलाई कस्तो असर गर्छ त?
ईयू खोप राहदानी के हो?
- यो ईयूका सबै नागरिकलाई उपलब्ध छ
- यसले खोप लगाएको वा पीसीआर/ एन्टिजन परीक्षणमा सङ्क्रमण नभएको नतिजा आएको वा गएको १८० दिनमा कोभिडबाट निको भएको पुष्टि गर्छ
- यो डिजिटल र कागजमा उपलब्ध हुन्छ
- यसको प्रामाणिकताको लागि यसमा क्यूआर कोड हुन्छ
- यसमा अत्यावश्यक जानकारी मात्रै हुने भएका कारण यसले गोपनीयता कायम राख्छ
- यो आधिकारिक भाषा वा जारी गर्ने देशको भाषा र अङ्ग्रेजी भाषामा छापिन्छ
- यो निःशुल्क उपलब्ध हुन्छ
युरोपका कुनै पनि देशले खोप लगाएका यात्रुलाई बिना प्रतिबन्ध यात्रा गर्न दिन्छ भने यो प्रमाणपत्र पनि सोही आधारमा स्वीकार्नुपर्छ।

तस्बिर स्रोत, Getty Images
ईयूले फाइजर, मोडेर्ना, अक्सफर्ड-आस्ट्राजेनेका र जोन्सन एन्ड जोन्सनको खोपलाई अनुमति दिएको छ तर रुसी र चिनियाँ खोपलाई मान्यता दिएको छैन।
भारतमा निर्मित कोभिशील्ड खोप पनि अहिलेसम्म सो प्रमाणपत्रका लागि योग्य नभएको बताइएको छ। यसले अफ्रिका र एशियाबाट यात्रा गर्ने व्यक्तिका लागि समस्या सिर्जना गर्ने देखिएको छ।
तर प्रस्तावमा सदस्य देशहरूले विश्व स्वास्थ्य सङ्गठनबाट मान्यताप्राप्त खोपहरूलाई स्वीकार्न सक्ने बताइएको छ।
कोभिशील्ड खोप युरोपका नौ देशहरू स्पेन, जर्मनी, स्लोभानिया, ग्रीस, आयरल्यान्ड, अस्ट्रिया, एस्टोनिया, आइसल्यान्ड र स्वीट्जरल्यान्डले आगन्तुक यात्रुका लागि मान्यता दिएको बताइएको छ।
विश्वका ६१ देशमा प्रयोग गरिएको सिनोफार्म र ३२ देशमा प्रयोग भएको सिनोभ्याक चिनियाँ खोपलाई विश्व स्वास्थ्य सङ्गठनले आपत्कालीन प्रयोगका लागि मान्यता दिएको छ।
रुसी स्पुत्निक भीलाई भने विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको छैन तर ग्रीसले यो खोप लगाएका यात्रुलाई प्रवेश दिने गरेको छ।
कसले पाउँछ प्रमाणपत्र?

तस्बिर स्रोत, Getty Images
युरोपियन कमिशनको वेबसाइटका अनुसार यो प्रमाणपत्र सबै ईयू सदस्य राष्ट्रका नागरिक र तिनका परिवारका सदस्यलाई जुनसुकै देशको नागरिक भए पनि दिनुपर्छ।
यो प्रमाणपत्र ईयूका देशहरूमा स्थायी बसोबास गरिरहेका विदेशी नागरिक र युरोप यात्राको अनुमति पाएका पर्यटकलाई पनि उपलब्ध हुनेछ।
आलोचना
खोप राहदानी विभेदकारी रहेको भन्दै यसको विरोध भएको थियो।
थोरै व्यक्तिले मात्रै बिना प्रतिबन्ध यात्राको सुविधा पाउने र खोप प्राथमिकतामा नपरेका युवाहरूजस्ताले कडा नियम पालना गर्नुपर्ने अवस्था सिर्जना गर्ने केहीको दाबी छ।
त्यस्तै खोपप्राप्त व्यक्तिले भाइरस सार्न सक्ने विषय पनि छ।
विश्व स्वास्थ्य सङ्गठनले ईयूको घोषणाको पूर्व सन्ध्यामा यात्रा सुरक्षाका लागि विश्वसनीय अन्तर्राष्ट्रिय खाका कोर्न लागेको र त्यसमा खोप आधार नहुने बताएको छ।
ईयूले परीक्षण नतिजा वा सङ्क्रमणमुक्तको आधार पनि राखिएको हुँदा खोप नलगाएका व्यक्तिलाई पनि प्रमाणपत्रले यात्रा सहज बनाउने बताएको छ।
गोपनीयता राख्नका लागि प्रमाणपत्रमा नाम, जन्म मिति, जारी मिति र परीक्षण वा खोपसँग सम्बन्धित तथ्याङ्क मात्रै हुने ईयूले बताएको छ।

तस्बिर स्रोत, Getty Images
यसले यात्रालाई कसरी असर गर्छ?
ईयूले यो कठिन प्रक्रिया भएको स्वीकार्दै यसको सूचना सङ्कलनको कार्य सदस्य राष्ट्रलाई दिएको छ।
प्रत्येक सदस्य राष्ट्रले तेस्रो देशबाट आउने अत्यावश्यक बाहेकका यात्रुका बारेमा निर्णय गर्ने अधिकार छ।
स्पेन र जर्मनीले यात्राभन्दा कम्तीमा दुई साताअघि दुई मात्रा खोप पूरा गरेका पर्यटकलाई प्रवेश दिने बताएको छ।
ईयूले भने केही देशले आफ्नो नियम बनाए पनि धेरैले तेस्रो देशबाट पनि यस्तै प्रमाणपत्र पर्खिने बताएको छ।
तर तेस्रो देशमा रहेका युरोपेली नागरिकले खोप प्राप्त गरिसकेको भए प्रमाणपत्र पाउन सक्ने ईयूका एक प्रवक्ताले बताएका छन्।
"युरोप बाहिर खोप प्राप्त गरेका युरोपेली नागरिकले नागरिकताको देश वा स्थायी बसोबास भएको देशमा प्रमाणपत्रका लागि आवेदन दिन सक्नेछन्," ती प्रवक्ताले भने।








