तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इन्टरनेटमा यौन उत्पीडन: 'मेरो १२ वर्षीया छोरीलाई निर्वस्त्र तस्बिर खिच्न लगाइयो'
- Author, भिक्टोरिया प्रीसेदस्काया
- Role, बीबीसी युक्रेन
कोरोनाभाइरस महामारीका बेला इन्टरनेटमा बालबालिकालाई उत्साहित गरेर गरिने उत्पीडनका घटनामा व्यापक वृद्धि भएको सम्बन्धित क्षेत्रमा काम गर्ने विभिन्न देशका संस्थाले जनाएका छन्।
युक्रेनको गैरसरकारी संस्था चाइल्ड रेस्क्यु सर्भिसेसले गरेको अनुसन्धानले कोभिड सङ्कटका बेला छदेखि १७ वर्षका प्रत्येक चारमध्ये एकलाई शरीरबारे अन्तरङ्ग प्रश्न सोधिएको वा शरीरका गोप्य अङ्गहरू देखिने तस्बिर खिच्न भनिएको खुलासा गरेको छ।
१२ वर्षीया इलोना अत्यन्तै चिन्तित भइन्।
कहिलेकाहीँ दिनहुँ जस्तै उनी आफ्नै कोठामा समय बिताउँथिन्।
उनी खाना नखाने र परिवार सदस्यसँग कुरा गर्न रहर गर्दिन थिइन्।
''वा उनी चाहिनेभन्दा बढी उत्साहित हुन्थिन् र एकोहोरो हाँस्थिन,'' उनकी आमा अक्साना भन्छिन्।
गोपनीयता कायम राख्नका लागि उनीहरूको अनुरोधमा दुवै नाम परिवर्तन गरिएको छ।
कहालीलाग्दो कथा
अक्सानाले आफ्नी छोरीलाई सामाजिक सञ्जालमार्फत छ महिनासम्म गरिएको नजिकिने प्रयास र दुर्व्यवहारबारे कहालीलाग्दो कथा व्याख्या गरिन्।
यो कार्य परिचय नखुलेका व्यक्ति वा सम्भवतः अनलाइनमार्फत काम गर्ने समूहबाट भएको थियो।
युक्रेनमा कोरोनाभाइरस महामारीको पहिलो लहरभन्दा केही समयअघि मात्रै यो सुरु भएको थियो।
"तपाईँलाई थाहै छ कि किशोर किशोरीहरू कसरी आफ्नो स्वतन्त्रता र एकान्त स्थानका लागि लड्ने गर्छन्। त्यस कारण हामीले उनलाई आफैमा छाडिदियौँ," अक्सानाले भनिन्।
"विद्यालयमा उनी सधैँ मिहिनेती र सहयोगी थिइन्। हामीसँग उनी खुला थिइन्। त्यस कारण उनलाई विश्वास नगर्नुपर्ने हामीसँग कुनै कारण थिएन।''
व्यवहारमा परिवर्तन
तर उनकी आमाले उनी बिस्तारै परिवर्तन भइरहेको महसुस गर्न थालिन्।
त्यो मोबाइल फोन प्रयोग बढ्नुबाट सुरु भएको थियो।
मोबाइल चलाउने समय कटौती गर्नुपर्ने सुझाव दिँदा उनले आक्रामक प्रतिक्रिया दिन्थिन्।
''उनले आफ्नो फोन चाखलाग्दो गरी हेर्थिन्। र मलाई थाहा थियो कि उनले रातमा समेत कसैलाई सन्देश पठाइरहेको थिइन्,'' अक्सानाले भनिन्।
त्यसपछि बिना कुनै सङ्केत इलोनाको मानसिक स्वास्थ्य बिग्रन थाल्यो।
विद्यालय जान मन नलागेको भनेर उनी आफ्नो कोठामा जान थालिन्। आमालाई उनले आफूले राम्रो महसुस नगरिरहेको बताउँथिन तर भएको के हो कहिल्यै भनिनन्।
''युक्रेनमा लकडाउनको पहिलो केही हप्ताहरूमा सबै कुरा एकै पटक हुन गयो। म र मेरो श्रीमान् हाम्रो रोजगारी र भविष्यबारे चिन्तित थियौँ र सम्भवतः हामीले छोरीप्रति कम ध्यान दियौँ,'' उनले भनिन्।
''र रातको समयमा एक दिन उनी बेस्सरी रुँदै मसँग आइन्। मैले उनलाई सोधेँ: 'के तिमिलाई कसैले शारीरिक रूपमा चोट पुर्याएको छ? उनले भनिन् : 'छैन आमा। तर हुन सक्छ'।''
के भएको हो पत्ता लगाउन अक्सानालाई कैयौँ दिन लाग्यो।
अनलाइन साथी
इलोनाले इन्स्टाग्राममा एक जना १५ वर्षे युवकलाई साथी बनाएको ठानेकी थिइन्।
उसको प्रोफाइलले त्यो विश्वास दिलाएको थियो।
उ सुन्दर र मनमोहक थियो।
उसले इलोनाको तारिफ गर्थ्यो। उनी मोडल बन्न सक्ने भनिरहन्थ्यो।
हप्तौँसम्म उनीहरूले एक अर्कासँग भिडिओ लिङ्क र गीतहरू आदानप्रदान गर्ने गर्थे र अबेर रातसम्म च्याट गर्थे।
'के गल्ती गरेँ'
उनीहरूबीच यति धेरै समानता थियो कि इलोनाले उसलाई जे पनि भन्न सक्ने आफूलाई लागेको आमासँग भनिन्।
त्यसपछि अकस्मात् उसको सन्देश आउन बन्द भयो।
इलोनाले आफूले 'के गल्ती गरेँ' भन्दै उसलाई सन्देश पठाइरहिन्।
र अन्ततः एक दिन उसले ती सन्देशहरूको उत्तर पठायो।
''मलाई लाग्दैन कि तिमी मलाई माया गर्छौ। गर्ने भए तिमी मसँग अलि खुल्ने थियौँ। के तिमी त्यो प्रमाणित गर्न तयार छौ?''
सुरुमा उसले इलोनालाई उनको तस्बिर र भिडिओ पठाउन भन्यो।
''के तिमी मलाई जन्मदिनमा दिइएको पाइजामा देखाउन सक्छौ?''
''व्यायामअघि गरिने तयारीको भिडिओ पठाउन सक्छौ?''
समय बित्दै जाँदा उसका मागहरू पनि बढ्न थाले।
निर्वस्त्र तस्बिर र भिडिओ
उसले भित्री वस्त्र लगाएको र पछि नलगाएको तस्बिरहरूको माग गर्न थाल्यो।
त्यसपछि उसले प्रत्यक्ष भिडिओमा आफ्ना शरीरका विभिन्न अङ्गहरूसँग खेलेको र नुहाएको देखाउन माग गर्न थाल्यो।
जब उनले त्यसो गर्न अस्वीकार गर्थिन्, कुराकानीको पूरै माहौल फेरिन्थ्यो।
इलोनाले यसअघि नै पठाएका तस्बिरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने र अभिभावकलाई पठाइदिने धम्कीपूर्ण सन्देश प्राप्त गर्न थालिन्।
सन्देश उनले जे पठाएकी छन् त्यो युक्रेनमा गैरकानुनी रहेको र प्रहरीकहाँ उजुरी गरिदिने समेत लेखिएको हुन्थ्यो।
उनले थुप्रै अकाउन्टहरूबाट त्यस्तै खाले म्यासेजहरू प्राप्त गर्न थालिन् जसमा उनको घरको ठेगाना र विद्यालयबारे थाहा भएको उल्लेख गरिएको हुन्थ्यो।
उनकी आमालाई ती सन्देश एक व्यक्तिभन्दा पनि समूहबाट आइरहेको लागेको छ।
सन्देशमा कसैले पनि उनलाई दुख नदिने भएकाले डराउनु नपर्ने लेखिएको थियो।
''धन्न त्यस बेला उनी मसँग कुरा गर्न आइन्,'' अक्सानाले भनिन्।
अनलाइन अपराधको सिकार
इलोना अनलाइन ग्रुमिङ्ग अर्थात् इन्टरनेटको माध्यमबाट यौन उत्पीडन सुरु गर्नु अघि विश्वासिलो सम्बन्ध कायम गर्ने प्रक्रियाको सिकार थिइन्।
फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता सामाजिक सञ्जालले उमेर, लिङ्ग र क्षेत्रका आधार र साझा रुचि जस्ता विषहरूमा साथीहरू सहजै फेला पार्न सहयोग गर्छन्।
तर त्यसलाई झु्क्याएर अपराधी मानसिकता भएका व्यक्तिहरूले आफ्नो निसाना तय गर्छन्।
अपराधीहरूले छिट्टै विभिन्न अकाउन्टहरूबाट व्यक्तिगत जानकारी बटुल्न सक्छन् जसका आधारमा उनीहरूले पीडितलाई आकर्षित पार्ने गरी प्रोफाइल तयार गर्न सक्छन्।
अनलाइन ग्रुमिङ
महामारीका बेला विश्वभरका दशौँ लाख युवाहरूले पहिलेभन्दा निकै लामो समय अनलाइन बिताएका छन्।
उनीहरूले भर्चुअल माध्यमबाट अध्ययन गर्नेदेखि गेमिङ् र भर्चुअल माध्यमबाटै साथीहरूसँग कुराकानी गर्ने गरेका छन्।
यसले विश्वभर बालबालिकाहरूमा हुने उत्पीडनमा व्यापक वृद्धि गराएको द इन्टरनेट वाचले जनाएको छ।
अन्तर्राष्ट्रिय साइबर क्राइम पुलिसले अधिकांश बालबालिकाहरूले घरमा एक्लो महसुस गरिरहेको र अनलाइनमा बढी समय बिताइरहेका बेला लकडाउनले सृजना गरिदिएको आँधीबारे कुरा गरेको छ।
युक्रेनी चाइल्ड रेस्क्यु सर्भिसेजले युक्रेनी चिल्ड्रेन राइट्स कमीसनसँगको सहकार्यमा ६ देखि १७ वर्षका ७,००० भन्दा बढीको अन्तर्वार्ता गरेको थियो।
उक्त अध्ययनले प्रत्येक चारमा एक जनालाई महामारीका बेला अन्तरङ्ग प्रश्न सोधिएको वा शरीरका अङ्गहरू देखिने तस्बिर खिच्न भनिएको निचोड निकालेको छ।
मुख्य अध्येता डा. ओलीना काप्राल्स्काले आफूहरूको निचोडले दिक्क लागेको बताएकी छन्।
सबैभन्दा गम्भीर उत्पीडनका घटना १० देखि १७ वर्षका बालबालिकामाथि भएको अध्ययनले पत्ता लगाएको थियो।
केहीलाई क्यामेरामा आफ्नै अङ्गहरू देखाउन र यौन गतिविधि गर्न भनिएको थियो भने अन्य केहीलाई अपरिचित व्यक्तिलाई प्रत्यक्ष भेट्न भनिएको थियो।
जुम आतङ्क
अनलाइनमार्फत पढाइ हुने अवस्थाले युक्रेनका युवाहरूमा अर्को खतरा निम्त्याएको छ।
''जुम बम्बिङ् (अनधिकृत व्यक्तिहरू जुम छलफलमा आउनु) वृद्धि भएको छ,'' युक्रेनको साइवर प्रहरी प्रमुख क्याप्टेन रोमन साकाले भने।
''तर थप तथ्य वा स्क्रीनसटबिना त्यस्ता घटनाहरूको अनुसन्धान गर्न निकै कठिन छ।''
मारीयाका पाँच वर्षे छोरा शृङ्खलाबद्ध रूपमा भएका करिब एक दर्जनभन्दा बढी जुम बम्बिङ्मा उपस्थित थिए।
ती घटना एकै महिनामा भएका थिए।
सुरुमा तीन व्यक्ति भर्चुअल कक्षामा सहभागी भए। उनीहरूले होहल्ला गर्ने र बच्चाहरूको नाम भन्ने गरे।
शिक्षक यति आश्चर्यमा परिन् कि अनधिकृत रूपमा प्रवेश गरेका व्यक्तिहरूबीच झुक्किएर विद्यार्थीहरूलाई एक्लै छाडेर उनी त्यो अनलाइन कक्षाबाट बाहिरिइन्।
त्यस्तै दोस्रो घटनामा मारियाका ११ वर्षे अर्का छोराले कसरी सबैलाई अश्लील भिडिओ देखाइयो अनि क्यामेरामा नग्न व्यक्तिले हस्तमैथुन गरे भन्ने कुरा आफ्नी आमालाई वर्णन गरे।
सुरक्षित सामाजिक सञ्जाल
''हामीले इलोनाको फोन नम्बर परिवर्तन गरिदिएका छौँ र उनको सबै सामाजिक सञ्जाल अकाउन्टहरू पनि बन्द गरिदिएका छौँ।
"तर पनि उनी बाहिर जान वा घरमा एक्लै बस्न डराउँछिन्,'' उनकी आमाले भनिन्।
अनलाइन उत्पीडनको प्रकृति नै यस्तो हुन्छ कि तस्बिरहरू इन्टरनेटमा सधैँका लागि फैलिरहन सक्छ।
यसले गर्दा पीडितहरू चरम चिन्ता लिने अवस्थाबाट गुज्रिन सक्ने डा. ओलीना नागुला बताउँछन्।
'निन्द्रा नलाग्ने समस्या र आत्महत्याको विचार आउन सक्छ। उनीहरू आफैलाई चोट पुर्याउने गतिविधिमा संलग्न हुन सक्छन्,'' उनी भन्छन्।
को जिम्मेवार?
फेसबुक, इन्स्टाग्राम, टिकटक र यूट्युबजस्ता सबै प्रमुख सामाजिक सञ्जालहरूले आफूहरूले एप युवाहरूका लागि सुरक्षित बनाउन मिहिनेत गरिरहेको जनाएका छन्।
तर बालबालिकाहरूको अधिकारसम्बन्धी क्षेत्रमा काम गर्ने समूहहरूले भने ती पहलहरू पर्याप्त नभएको बताइरहेका छन्।
सबैभन्दा विवादित विषयमध्ये एक उमेर पुष्टिसँग सम्बन्धित छ।
अभिभावकको अनुमतिबिना कानुनी रूपमा १३ वर्षभन्दा कम उमेर भएकाहरूको व्यक्तिगत सूचना सङ्कलन र वितरण गर्न नपाइने हुँदा अधिकांश सामाजिक सञ्जालहरूमा त्यसअघि खाता खोल्न पाइँदैन।
तर चाइल्ड रेस्क्यु सर्भिसेजको प्रतिवेदका अनुसार युक्रेनमा छदेखि ११ वर्षका बालबालिकाहरूमध्ये करिब एक तिहाइको इन्स्टाग्राम वा टिकटक अकाउन्ट छ।
त्यसका लागि बालबालिकाहरूले गलत उमेर उल्लेख गरेको हुन सक्ने वा वयस्कहरूलाई अकाउन्ट खोल्न आग्रह गरेको हुनसक्ने बताइएको छ।
अभिभावकले के गर्न सक्छन्?
बालबालिकाहरूले कोरोनाभाइरसका कारण लागु गरिएको लकडाउनका बेला सामाजिक सञ्जालमा अधिक समय बिताउन सक्ने सम्भावना हुन्छ।
यो उनीहरूका लागि आफ्ना साथीहरूसँग जोडिने उपयुक्त माध्यम हुनसक्छ तर आफूलाई दुविधा पर्दा परामर्श गर्नसक्ने वयस्क व्यक्ति उपस्थत रहनु आवश्यक पर्छ।
संरक्षकहरूले युवाहरूलाई आफूले खेलिरहेको गेम वा उनीहरू सामाजिक सञ्जालमा के गर्न रुचाउँछन् भन्ने विषयबारे बताउन सक्छन्।
उनीहरूले के कस्ता तस्बिरहरू हेरिरहेका छन् र के सेयर गरिरहेका छन् भन्ने कुराबारे छलफल गर्न राम्रो हुन्छ।
युवाहरूको अनलाइन जीवनमा विश्वास र वास्तविक रुचि नै उनीहरूलाई सुरक्षित राख्नका लागि महत्त्वपूर्ण उपाय हुनसक्छ।