कोभिड नेपालः जोनसन एन्ड जोनसनको एक मात्रा लगाउँदा पुग्ने '६ लाख खोप प्राप्त हुने'

तस्बिर स्रोत, Reuters
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
सरकारद्वारा गठित कोभिड-१९ खोपसम्बन्धी सल्लाहकार समितिका संयोजकले कोभ्याक्स अभियानले नेपाललाई तीन लाख ४८ हजार अक्सफर्ड-आस्ट्राजेनेकाको खोप र छ लाख जोनसन एन्ड जोनसनको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको बीबीसीलाई बताएका छन्।
दुई मात्रा लिनुपर्ने अक्सफर्ड-आस्ट्राजेनेकाको खोप आगामी जुलाई महिनाभित्र उपलब्ध गराइने व्यहोराको पत्र प्राप्त भएको उनले उल्लेख गरे।
अमेरिकामा जोनसन एन्ड जोनसन कम्पनीले विकास गरेको जेनसेन खोपको एउटै मात्रा लगाउन सिफारिस गरिएको छ।
यसबाहेक चीनबाट पनि खोप खरिद गर्ने प्रक्रिया अघि बढेकाले खोप अभियानको सञ्चालनमा देखिएको अवरोध चाँडै फुक्न सक्ने कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीका प्रमुखले बीबीसीलाई बताए।
कोभिड खोप ल्याउने विषयमा कस्तो प्रगति भएको छ?
खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले कोभ्याक्सले अक्सफर्ड-आस्ट्राजेनेका र जेनसेन खोप नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताए।
उनले भने, "तीन लाख ४८ हजार मात्रा आस्ट्राजेनेकाको खोप जुलाई महिनाभित्र उपलब्ध गराइने भनेको केही समय भइसक्यो जस्तो लाग्छ। जोनसन एन्ड जोनसनको खोप उपलब्ध गराउने भनेर हालै चिट्ठी आएको हो। त्यसमा कहिलेसम्म खोप उपलब्ध गराइन्छ भनेर मिति भने तोकिएको छैन।"

तस्बिर स्रोत, EPA
उनले थपे, "यो धनी राष्ट्रहरूले जम्मा गरेर राखेको भनिएको खोपमध्ये हो। र, कोभ्याक्समार्फत् हामीले पाउन लागेका हौँ।"
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को नेतृत्वमा खोपमा विश्वव्यापी पहुँच उपलब्ध गराउन स्थापित गरिएको कोभ्याक्स कार्यक्रमको सन् २०२१ भित्र दुई अर्ब कोभिड-१९ खोप वितरण गर्ने लक्ष्य पूरा हुन नसक्ने चेतावनीमाझ पछिल्ला विवरण आएको हो।
उक्त अभियानले हालसम्म १३१ देशमा नौ करोड खोप वितरण गरेको छ।
डब्ल्यूएचओका वरिष्ठ सल्लाहकार डा. ब्रुस एल्वर्डले कोभ्याक्समार्फत् खोप नपाएकाले कैयौँ देशका खोप कार्यक्रमहरू प्रभावित भइरहेको बताएका थिए।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोख्रेलले जुन महिनासम्म कोभ्याक्सले नेपाललाई उपलब्ध गराउन सकिने खोपको मात्राबारे निर्णय गर्ने बताए।
उनले भने, "न्यूनतम उहाँहरूको तीन लाख ४८ हजार मात्रा हो। हामीले हामीलाई चाहिने १४ लाख मात्रा नै दिनुपर्यो भनिरहेका छौँ। उहाँहरूले कति दिनुहुन्छ भनेर अबको लगभग एक हप्ताभित्र थाहा भइसक्छ र त्यो अर्को महिनासम्म हामीले पाइसक्छौँ।"
नेपालले अमेरिकी कम्पनी जोनसन एन्ड जोनसनबाट ५० लाख मात्रा खोप खरिद गर्ने प्रयासमा छलफल अघि बढाएको भए पनि त्यो खोप आउन लागेको प्रक्रियाबारे आफूलाई जानकारी नभएको उनले बताए।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर

नेपालले अरू खोप कहाँबाट ल्याउँदैछ?
नेपाली अधिकारीहरूले चीनबाट सिनोफर्म कम्पनीले विकास गरेको खोपको ४० लाख मात्रा खरिद गर्ने प्रक्रिया अघि बढाएको बताइरहेका छन्।
उक्त खोप ल्याउन गृहकार्य भइरहेको भन्दै सो खोप आगामी साउनदेखि खोप लगाउन थालिने अघिल्लो साता कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका थिए।
खोपको मूल्य, परिमाणसहित कतिपय विवरण गोप्य राख्नेगरी उक्त खरिद प्रक्रिया अघि बढाइएको विवरण सञ्चारमाध्यममा आएपछि स्वास्थ्य मन्त्रालयले चिनियाँ खोप खरिदको प्रक्रिया चलिरहेको प्रतिक्रिया अघिल्लो साता दिएको थियो।
उसले खोपसम्बन्धी सहकार्यमा नेपाललाई प्राथमिकतामा राख्न चीनलाई अनुरोध गरिएको पनि जनाएको थियो।
सीसीएमसीका प्रमुख बालानन्द शर्माले बीबीसीसँग कुरा गर्दै भारत र चीन सहित विभिन्न देशबाट खोप भित्र्याउन नेपालले प्रयास गरिरहेको बताए।

तस्बिर स्रोत, Chinese Embassy in Nepal
उनी भन्छन्, “हरेकतिरबाट कोसिस गर्दा चीनको सिनोफार्म कम्पनीले आउने दुईदेखि तीन महिनाभित्र ४० लाख खोप दिन सक्छु भनेकाले त्यो कम्पनीसँग सम्झौता गर्न अघि बढ्ने भन्ने निर्णय सरकारले लिएको हो। उसले जुन महिनाभित्र लगभग १० लाख खोप दिने भनेको छ।”
“त्यसरी आपूर्ति भयो भने हाम्रो खोप अभियानले निरन्तरता पाइरहन सक्छ। प्रत्येक दुईदेखि तीन हप्तामा चारदेखि पाँच लाख खोप भित्र्याउन सकियो भने हाम्रो खोप कार्यक्रम चलिरहन सक्छ।”
भारतले आफ्नो देशमा उत्पादन भइरहेको खोपको आपूर्तिमा प्रतिबन्ध लगाएपछि नेपालले केही महिदेखि वैकल्पिक माध्यमबाट कोभडि खोप प्राप्त गर्ने प्रयास जारी राखेको छ।
त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशका सरकार प्रमुखलाई पत्राचार गरेकी थिइन् भने विभिन्न कूटनीतिक नियोगहरूलाई सक्रिय बनाइएको अधिकारीहरूले बताउँदै आएका छन्।
भारतबाट कहिले आउला कोभिड खोप?
कतिपय देशहरूले राष्ट्रपतिको पत्रको जबाफसम्म नपठाएका विवरण आइरहँदा सरकारले खोप खरिदमा स्पष्टताका साथ काम गर्न नसकेको कैयौँ विज्ञहरूले प्रश्न उठाएका थिए।
तर सीसीएमसीका प्रमुख शर्मा भन्छन्, “खोप जम्मा पाँच-सातवटा मुलुकमा छ र बाँकी देशहरूले उनीहरूसँगै हारगुहार गरिरहेका छन्। आफूसँग मागिरहेका देश र डब्ल्यूएचओ सबैलाई खोप दिन ती देशहरूलाई पनि गाह्रो छ।”

तस्बिर स्रोत, EPA
उनले अहिलेको सङ्कटको अवस्थामा निजी क्षेत्रले खोप ल्याउन नसक्ने भएकाले नेपालले सीधै विदेशी सरकार र खोप उत्पादक कम्पनीहरूसँग कुराकानी गर्ने प्रयास गरिरहेको बताए।
“यतिबेला एजेन्टहरूबाट खोप ल्याउन सकिँदैन भन्नेमा हामी स्पष्ट छौँ। सरकार र कम्पनीसँगै कुरा गर्न विभिन्न किसिमका च्यानलहरू प्रयोग भइरहेका छन्। कुन बेला ब्रेकथ्रू (ठोस प्रगति) हुन्छ भन्न सकिएन।”
सरकारद्वारा गठित विज्ञ समितिका संयोजक उप्रेतीले नेपालले भुक्तानी गरेर पनि भारतबाट प्राप्त गर्नुपर्ने १० लाख खोप उपलब्ध हुने मितिबारे भने हालसम्म केही प्रगति नभएको बताए।
उक्त खोप नआएका कारण पहिलो मात्रा अक्सफर्ड-आस्ट्राजेनेकाको खोप लगाएका १३ लाख जनाभन्दा बढीले दोस्रो मात्रा खोप लगाउन पाएका छैनन्।
भारत सरकारले अवरुद्ध रहेको खोप आपूर्ति सुरु गर्ने विषयमा केही बताएको छैन। तर विज्ञ समितिका संयोजक उप्रेतीले चीनबाट अपेक्षा गरिएको परिमाणमा खोप भित्रिए खोप कार्यक्रम केही सहज रूपमा अघि बढ्ने बताए।

यो पनि हेर्नुहोस्











