कोभिड नेपाल: खोप ल्याउन गरिएका पहल कति प्रभावकारी

तस्बिर स्रोत, Reuters
झन्डै १४ लाख नेपालीले कोभिशील्ड खोपको दोस्रो मात्रा प्रतीक्षा गरिरहँदा स्वास्थ्य अधिकारीहरूले खोप ल्याउन 'एक मिनेट खेर नफालीकन काम' गरिरहेको बताएका छन्।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले खोप उपलब्ध हुने आधिकारिक पत्र प्राप्त भएपछि मात्र अहिलेको प्रयासले सार्थक नतिजा दिएको भन्न सकिने बताए।
नेपाल आएको पछिल्लो खोप राष्ट्रपति विद्यादेवी भण्डारी र उनका चिनियाँ समकक्षी सी जिनपिङबीच कुराकानी भएपछि अनुदानमा चीनले दिएको १० लाख मात्रा खोप हो।
त्यसपछि चीनबाट थप २० लाख मात्रा खरिद गर्न नेपालले प्रक्रिया अघि बढाएको बताए पनि त्यसबारे अन्तिम सम्झौता भने भइसकेको छैन।
अहिलेसम्म के भएको छ?
डा. पोखरेलका अनुसार खोप उत्पादन गर्ने देश र कम्पनीहरूसँग परराष्ट्र मन्त्रालय वा सिधै खोप खरिदबारे कुराकानी भइरहेको छ।
उनले भने, "खोप खरिद गर्ने प्रयास अघि पक्का पनि बढेको छ। विभाग, मन्त्रालय र सरकार त्यसै बसेको छैन। मलाई लाग्छ मिनेटमिनेटमा प्रयास भइरहेको छ।"
"एक मिनेट खेर नफालीकन काम गरिरहेका छौँ। तर जबसम्म हामीलाई आधिकारिक पत्र वा समय तालीका प्राप्त हुँदैन, तबसम्म अहिलेको अवस्थामा खोप आइहाल्छ भनेर विश्वास गर्न सकिँदैन।"
खोप खरिद प्रक्रियामा पछिल्लो समय स्वास्थ्य सेवा विभागले जिम्मेवारी पाएको छ।
परराष्ट्र मन्त्रालयले पनि यो प्रक्रियाको समन्वय गरिरहेको छ भने राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत पनि नेपालको खोप कूटनीति प्रकट भएको छ।
राष्ट्रपतिले खोपमा सहयोग गर्न अनुरोध गर्दै भारत, अमेरिका र रुसका राष्ट्रपतिहरूलाई पत्राचार गरेकी छन्।
चीनबाट कूल १९ लाख भेरो सेल खोप अनुदानमा प्राप्त गरिसकेको नेपालले २० लाख मात्रा खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको छ।
चिनियाँ पक्षले खोप विक्रीका लागि राखेका सर्तका प्राविधिक र कानुनी पाटोबारे विभागमा छलफल चलिरहेको बताइन्छ।
गोपनीयतासम्बन्धी सम्झौता अरू खालका खोपहरू खरिद गर्दा पनि गर्नुपर्ने तर चिनियाँ पक्षले खोपको मूल्य सार्वजनिक गर्न नमिल्ने सर्त राखेपछि कानुनी पाटोबारे छलफल भइरहेको विभागका अधिकारीले बीबीसीलाई बताए।

तस्बिर स्रोत, RSS
अन्य कहाँबाट खोप ल्याउने प्रयास हुँदैछ?
नेपालले खोप अभियान सञ्चालन गर्दा प्रयोग गरेको कोभिशील्डसँग मिल्दोजुल्दो खालको खोप भित्र्याउने प्रयासलाई जोड दिइरहेको अधिकारीहरू बताउँछन्।
डा. पोखरेल भन्छन्, "कोभिशील्डसँगै मिल्ने एउटै फर्मूला भएको र एकै प्रकृतिको खोप एस्ट्राजेनेका भन्ने खोप प्राप्त भएपछि हामीले दोस्रो मात्रा खोप दिन्छौँ भनेका छौँ।"
"कतिपय देशहरूले खोपहरू प्रयोग नगरेको अवस्थामा डब्लूएचओ अन्तर्गत दाताहरूको एउटा समिति छ त्यसले अन्य देशलाई खोप उपलब्ध गराउनु भनेको छ। यस विषयमा पनि छलफल भएको छ।"
डेनमार्कमा पनि त्यस्तो खोपहरू रहेको बुझिएकाले कुराकानी भएको हुनसक्ने उनले बताए।
यसअघि अमेरिकाले नेपाल सहित एसियाका विभिन्न देशहरूलाई कूल ७० लाख खोप उपलब्ध गराउने घोषणा गरेको थियो।
अघिल्लो साता बीबीसीलाई दिएको अन्तर्वार्ता प्रधानमन्त्री ओलीले परम्परागत रूपमा गहिरो सम्बन्ध रहेकाले नेपालले ब्रिटेनले पनि खोप उपलब्ध गराइदिने अपेक्षा गरेको बताएका थिए।
उनले खुला सिमाना भएको अवस्थालाई ध्यान दिँदै नेपाललाई 'अरू भन्दा फरक ढङ्गले हेर्दै' भारतले पूर्ण रूपमा सहयोग गर्नुपर्ने धारणा राखेका थिए।
कुन खोपलाई प्रयोगको अनुमति छ?
नेपालले हालसम्म भारत, चीन र रुसमा उत्पादित खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ।
त्यसमध्ये सीरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको कोभिशील्ड खोपले गएको माघको पहिलो साता अनुमति पाएको हो।
त्यसपछि बेइजिङ इन्स्टिच्युट अफ बायोप्रडक्ट अन्तर्गत सिनोफार्मले उत्पादन गरेको भेरो सेल खोपले फाल्गुनको पहिलो साता आपत्कालीन प्रयोगको अनुमति पाएको थियो।
औषधि व्यवस्था विभागले भारत बायोटेकले विकास गरेको कोभ्याक्सिनलाई चैत्रको पहिलो साता आपत्कालीन प्रयोगको अनुमति दिएको थियो।
वैशाखको दोस्रो साता रुसमा विकास गरिएको स्पुत्निक-भी खोपले नेपालमा पनि आपत्कालीन प्रयोग गर्न मिल्ने अनुमति पाएको थियो।

तस्बिर स्रोत, Reuters
पछिल्लो पटक शुक्रवार विभागले चीनको सिनोभ्याक लाइफ साइन्सेज कम्पनी लिमिटेडले उत्पादन गरेको कोभिड १९ खोप भेरो सेललाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ।
नेपालमा अहिलेसम्म कोभिशील्ड र चीनले अनुदानमा दिएको सिनोफार्म अन्तर्गतको भेरो सेल खोप मात्रै प्रयोगमा ल्याइएको छ।
हालसम्म विश्व स्वास्थ्य सङ्गठनले डब्लूएचओले फाइजर/बायोएनजेक, अक्सफर्ड/एस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन, मोडेर्ना, सीनोफार्म र सिनोभ्याकको कोभिड-१९ खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिँदै सुचीकृत गरेको छ।
त्यसको अर्थ ती खोपहरू राष्ट्रसङ्घसहित विभिन्न साझेदार निकायहरूले अघि बढाएको कोभ्याक्स अभियानमार्फत विभिन्न देशहरूमा पठाउन मिल्नेछ।
ढिलासुस्ती
भारतको सिरम इन्स्टिच्युटबाट खरिद गरिएको १० लाख खोप समयमा आपूर्ति नहुँदा त्यसले नेपालले योजना गरेको कोभिशील्ड खोपको दोस्रो मात्रा दिने अभियानलाई प्रभावित पार्दै आएको छ।
हालै बाहिरिएका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आपूर्तिमा सहजता हुने बित्तिकै सबैभन्दा पहिला नेपाललाई ती खोप पठाइने आफूलाई जानकारी दिइएको बताउने गरेका थिए।
कोभिड-१९ बारेको सरकारी विज्ञ समितिका संयोजक डा. श्यामराज उप्रेतीले भारत वा कोभ्याक्सबाट थप खोप प्राप्त हुने मिति यकिन नभएको बताए।
कूटनीतिक मामिलाका कतिपय विज्ञहरूले खोप खरिदको प्रक्रिया चुस्त रूपमा अघि बढाउन ढिलासुस्ती देखिएको भन्दै सरकारको आलोचना गर्दै आएका छन्।









