यास् चक्रवात: पूर्वी भारतमा जनधनको क्षति

तस्बिर स्रोत, Reuters
पूर्वी भारतमा बङ्गालको खाडीबाट आएको शक्तिशाली यास् नामक चक्रवातले कम्तीमा चार जनाको ज्यान गएको र कैयौँ घरबारविहीन भएका विवरण आएका छन्।
उक्त चक्रवातले भारतको पश्चिम बङ्गाल र ओडिशा राज्य तथा दक्षिणी बाङ्ग्लादेशमा निकै प्रभाव पारेको छ।
चक्रवात जमिनमा बज्रिनु अगावै तटीय क्षेत्रका दश लाखभन्दा धेरै मानिसलाई सुरक्षित क्षेत्रतर्फ विस्थापन गरिएको थियो।
महामारीका बेला थप विपद्
दुई सातायता भारतमा आएको यो दोस्रो समुद्री आँधी हो।
अघिल्लो साता टाउटे आँधीले पश्चिम भारतमा १५० जनाको ज्यान लिएको थियो।
भारत कोभिड-१९ को घातक महामारीको चपेटामा परेकै बेला यी प्राकृतिक विपद् आइपरेका छन्।
यास् चक्रवातले तटीय क्षेत्रमा तीव्र हावाहुरी तथा वर्षा निम्त्याएको छ।

तस्बिर स्रोत, Reuters
घरहरू भत्किएका छन् भने ठूल्ठूला छालले तटीय नगरहरूमा डुबान निम्त्याएका छन्।
चक्रवात आउनु अगावै तटीय क्षेत्रबाट दश लाखभन्दा धेरै मानिसलाई उद्धार गरेर अन्यत्र लगिएको थियो।
भारतीय मौसम विभागका पछिल्ला ट्वीटहरूमा चक्रवात पश्चिमोत्तर क्षेत्रतर्फ सर्दै गएको र कमजोर हुँदै गएको जनाएको छ।
क्षतिका विवरण
पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले त्यहाँ ३ लाख घरमा क्षति पुगेको र दिगा नगरमा चार मिटर अग्ला छालहरूका कारण डुबान भएको बताइन्।
एक जनालाई छालले समुद्रतर्फ बगाएको र अर्का चाहिँ घर भत्किएर मारिएको उनले बताइन्।
ओडिशा राज्यमा रूख ढल्नाले दुई जनाको ज्यान गएको विवरण आएका छन्।
कोभिड-१९ को सुरक्षा मापदण्डबमोजिम करिब १२ सय आश्रयस्थल बनाइएका छन्।

तस्बिर स्रोत, EPA
तर दश लाख विस्थापितलाई राख्नुपर्दा त्यहाँ सामाजिक दूरी कायम गर्न कठिन हुने ठानिएको एएनआई समाचार एजेन्सीले जनाएको छ।
बाङ्ग्लादेशमा १५ हजार मानिसलाई आश्रयस्थलमा पठाइएको बताइएको छ।
अधिकारीहरूले त्यहाँ एकजना रूखले किचेर मारिएको जानकारी दिएको एएफपी समाचारसंस्थाले जनाएको छ।
भारतका आन्ध्र प्रदेश, झारखण्ड तथा तमिलनाडु राज्यका तटीय क्षेत्रहरूमा पनि प्रभाव पर्ने ठानिएको छ।
ओडिशाको भुवनेश्वर र पश्चिम बङ्गालको कोलकता विमानस्थलहरूले बुधवार सबै उडान रोकेका थिए।








