तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बेलारुसले विमान मोड्न लगाएर पक्राउ गरेको पत्रकारलाई यातना दिने आशङ्का
बेलारुसद्वारा विमानलाई आकाशबाटै जबरजस्ती मोड्न लगाएर पक्राउ गरिएका पत्रकारका बुवाले आफ्नो छोरालाई यातना दिने त्रास बीबीसीसँग व्यक्त गरेका छन्।
२६ वर्षीय रोमन प्रोटासेभिच ग्रीसबाट लिथुआनिया जाँदै गर्दा उनी सवार विमानलाई बेलारुसले बम भएको भन्दै उसको राजधानी मिन्स्कमा ओरालेको थियो।
भिडिओ सार्वजनिक
पाश्चात्य देशहरूले एक विपक्षी अभियानकर्मी पत्रकारलाई पक्राउ गर्न र्यानएअरको विमान अपहरण गरेको बेलारुसमाथि आरोप लगाएका छन्।
दबावमा रेकर्ड गरिएको जस्तो देखिने एउटा भिडिओ सार्वजनिक गरिएको छ जसमा प्रोटासेभिचले आफू स्वस्थ्य रहेको भनेका छन् र जसमा उनले बेलारुसले लगाएका अभियोगहरू स्वीकारेको जस्तो देखिन्छ।
तर विपक्षी नेताहरू एवं अभियानकर्मीहरूले उक्त भिडिओको आलोचना गर्दै प्रोटासेभिचमाथि दबाव दिएर स्वीकार गर्न लगाइएको बताएका छन्।
उनको निधारमा केही चोटजस्तो देखिन्छ। उनका मित्रहरूले उनलाई पक्राउपछि कुटपिट भइरहेको बताएका छन्।
पत्रकारका पिता डिमित्री प्रोटासेभिचले सोमवार बीबीसीसँग कुरा गर्दै उनका छोरालाई बेलारुसका अधिकारीहरूले कस्तो व्यवहार गर्लान् भन्नेबारे निकै डर लागेको बताए।
२१औँ शताब्दीमा युरोपको मध्यमा यस्तो घटना हुन नपर्ने उनले बताए।
पश्चिमा देशहरू क्रुद्ध
भिडिओ सार्वजनिक गरिएलगत्तै युरोपेली युनियनले बेलारुसमाथि थप प्रतिबन्ध लगाउन सहमति जनाएको छ।
उसले विमानसेवाहरूलाई बेलारुसको आकाश प्रयोग नगर्न भनेको छ तथा बेलारुसका विमानसेवाहरूलाई ईयूको क्षेत्रमा उड्न प्रतिबन्ध लगाएको छ।
बेलारुस प्रजातान्त्रिक नभएसम्मका निम्ति उसका निम्ति भनेर छुट्ट्याएको साढे तीन अर्ब डलरको युरोपेली लगानी प्याकेज स्थगित गरिने युरोपेली आयोगकी प्रमुख उर्जुला फन डेर लयनले बताइन्।
अमेरिकी राष्ट्रपति जो बाइडनले बेलारुसको कार्यको निन्दा गर्दै त्यहाँका अधिकारीहरूलाई जबाफदेही बनाउन अमेरिकी अधिकारीहरूलाई आदेश दिएका छन्।
बेलारुसले र्यानएअरको उक्त विमानमा बम रहेको भन्दै आकाशबाटै लडाकू विमानले घेरेर जबरजस्ती मिन्स्कमा ओरालेको थियो।
विमानमा सवार १२६ यात्रुलाई बाहिर निकालेर प्रहरीले प्रोटासेभिचलाई पक्राउ गरेको थियो।
प्रत्यक्षदर्शीहरूका अनुसार उनको महिला साथी सोफिया सापेगा सहित पक्राउ गरिँदा प्रोटासेभित्र निकै त्रसित देखिन्थे।
बेलारुस एक मात्र युरोपेली देश हो जहाँ बन्दीहरूलाई मृत्युदण्ड दिइन्छ।
अन्य तीन यात्रुहरू पनि विमानको अन्तिम गन्तव्य लिथुआनियाको राजधानी भिल्नियसमा नपुगेको र्यानएअरका प्रमुखले बताएका छन्।
उनले ती यात्रु बेलारुसी केजीबी एजेन्ट भएको हुनसक्ने बताए। त्यसको स्वतन्त्र पुष्टि भएको छैन।
बेलारुसले चाहिँ प्यालेस्टिनी हमास विद्रोही समूहले विमानमा बम राखेको धम्की दिएकाले उसलाई मोड्न परेको बताएको छ।
बेलारुससम्बन्धी केही तथ्य
कहाँ छ बेलारुस?
बेलारुसको पूर्वमा उसको निकट साझेदार देश रुस छ भने दक्षिणमा यूक्रेन छ।
उत्तर तथा पश्चिममा इयु एवं नेटोका सदस्य राष्ट्रहरू लात्भिया, लिथुआनिया र पोल्यान्ड छन्।
किन महत्त्वपूर्ण छ?
करिब ९५ लाख जनसङ्ख्या भएको बेलारुस यूक्रेनजस्तै पश्चिमा तथा रुसको द्वन्द्वमा चेपिएको छ।
राष्ट्रपति अलेक्सान्डर लुकासेन्कोलाई युरोपका अन्तिम तानाशाह भनिन्छ। उनी २७ वर्षदेखि सत्तामा छन्।
त्यहाँ के भइरहेको छ?
बेलारुसमा नयाँ प्रजातान्त्रिक नेतृत्व तथा आर्थिक सुधारको माग गर्दै ठूलो विपक्षी आन्दोलन भइरहेको छ।
विपक्षी आन्दोलनकारी तथा पश्चिमा सरकारहरूले लुकासेन्कोले गत वर्ष अगस्ट ९ मा भएको चुनावमा धाँधली गरेर जितेको बताएका छन्।
आधिकारिक नतिजामा उनले धेरै बहुमतले जितेको जनाइएको छ।
सडक प्रदर्शनविरुद्ध भएको प्रहरी दमनमा परेर कैयौँ विपक्षी नेता या त जेलमा पुगेका छन् या निर्वासनमा अन्यत्र गएका छन्।