जुरोङ: मङ्गल ग्रहबाट चिनियाँ अन्तरिक्ष यानले पहिलो तस्बिर पठायो

चिनियाँ यानबाट खिचिएको अगाडिको तस्बिर

तस्बिर स्रोत, CNSA

तस्बिरको क्याप्शन, चिनियाँ यानबाट खिचिएको अगाडिको तस्बिर

चीनले मङ्गल ग्रहमा अवतरण गरेको उसको जुरोङ नामको यानले खिचेको पहिलो तस्बिरहरू सार्वजनिक गरेको छ।

यान अगाडिको दृश्यमा मङ्गल ग्रहको सतहका साथै रोबोटका केही भाग देखिन्छ भने पछाडिको दृश्यमा यानको सौर्य ऊर्जाका प्यानल देखिन्छ।

सो यान आइतवार बिहानै मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण गरेको थियो।

सो अवतरणपछि चीन मङ्गल ग्रहमा अवतरण गरेर लामो समय काम गर्न सक्ने यान राख्ने अमेरिकापछि दोस्रो देश बनेको थियो।

मङ्गल ग्रहको उत्तरी गोलार्धमा अवतरण गरेको उक्त यानले कम्तीमा त्यहाँको ९० दिन काम गर्ने अपेक्षा चिनियाँ वैज्ञानिकहरूको छ।

जुरोङ २४० किलो तौलको छ र सौर्य ऊर्जाबाट चल्छ।

सो यानको अग्लो भागमा क्यामरा राखिएको छ जसले तस्बिर लिनुका साथै यानलाई यताउता जान पनि सहयोग गर्छ।

जुरोङमा क्यामराबाहेक अन्य पाँच उपकरण छन् जसले त्यहाँको चट्टान र मौसमको अध्ययन गर्नेछन्।

चिनियाँ यानबाट खिचिएको पछाडिको तस्बिर

तस्बिर स्रोत, CNSA

तस्बिरको क्याप्शन, चिनियाँ यानबाट खिचिएको पछाडिको तस्बिर

अमेरिकी अन्तरिक्ष यान पर्सिभिअरन्समा जस्तै यसमा पनि लेजर प्रविधिले चट्टानको अध्ययन गर्ने उपकरण छ।

अमेरिकाले सन् १९७६ मा भाइकिङ-२ अवतरण गरेकै स्थानवरपर जुरोङ यान अवतरण भएको छ। सो स्थानमा लामो समयअगाडि समुद्र रहेको हुनसक्ने वैज्ञानिकहरूको विश्वास छ।

त्यहाँ सतहमुनि निकै मात्रामा हिउँ रहेको भूउपग्रहको तथ्याङ्कले देखाउने वैज्ञानिकहरूको धारणा छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, नासाको पर्सिभिअरन्स रोभरले यसरी मङ्गलमा अवतरण गर्‍यो

अमेरिकाले गत फेब्रुअरीमा पर्सिभिअरन्स त्यहाँ अवतरण गराएको थियो।

युरोपको दुई पटक मङ्गल ग्रहमा यानमा याना अवतरण गराउने प्रयास भने असफल भएको छ।