कोभिड नेपाल: कोरोना भाइरस सङ्क्रमणलाई कम आँकेको प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीकारोक्ति

केपी शर्मा ओली

तस्बिर स्रोत, PM's Ssecretariat

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाभाइरस सङ्क्रमण 'यो तहसम्म बढ्छ भन्ने आफूले नठानेको' बताएका छन्।

एक सामूहिक छलफलका क्रममा उनले नेपालमा यस रूपमा कोभिड बढ्छ भन्ने नसोचेको बताएका छन्।

विभिन्न अनलाइन सञ्चारमाध्यमले सार्वजनिक गरेका भिडि‌ओ क्लिपमा उनले भनेका छन्, ''यस रूपमा नेपालमा कोभिड बढ्छ भन्ने मैले ठानेको थिइनँ। मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम (प्रतिरोध प्रणाली) धेरै बलियो छ त्यसकारण अलिअलि सर्ला तर यस तहमा चाहिँ वृद्धि हुन सक्दैन जस्तो लागेको थियो। तर यस तहमा वृद्धि भयो" ।

''सामान्य इम्युन सिस्टमले (साधारण प्रतिरोधी क्षमताले) पनि यसलाई रेजिस्ट (रोक्न) गर्न सक्दो रहेनछ। यद्यपि इम्युन सिस्टमको (रोग प्रतिरोधी क्षमताको) काम छैन होइन। त्यो जति मात्रामा मानिसहरू रिभाइभ (निको) भएका छन् त्यसमा इम्युन सिस्टमको अवश्य नै भूमिका हुन्छ। यससँग इम्युन सिस्टमको भूमिका नहुने होइन।''

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

कोरोनाभाइरस महामारी फैलिएका बेला शरीरको रोगप्रतिरोधी क्षमता सुदृढ बनाउन बेसार पानी खान र अम्बाको पात उमालेर पानी खाने गर्नुपर्ने सुझाव उनले बारम्बार दिने गरेका थिए ।

उनको भनाइको वैज्ञानिक आधार नरहेको बताउँदै कतिपय विज्ञ लगायत सामाजिक सञ्जालमा ओलीको आलोचना र उपहास हुँदै आएको छ।

भेरी अस्पताल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा कोभिड-१९ सँग सम्बन्धित कारण पाँच हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन्।

नेपालमा साढेचार लाखका हाराहारीमा मानिसहरू कोभिडबाट सङ्क्रमित भएका छन्।