कोरोना भाइरस: कोभिड-१९ सँग जुध्न एन्टिबडीको नयाँ परीक्षणले कसरी सघाउँछ

भाइरस

तस्बिर स्रोत, Reuters

    • Author, सरोज पाथिराना
    • Role, बीबीसी विश्व सेवा

एन्टिबडीको जाँच सुपथ र छिटो हुने परीक्षण कोभिड-१९ विरुद्धको लडाइँमा पछिल्लो अस्त्र हुनसक्छ।

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले नेतृत्व गरेको एउटा अन्तर्राष्ट्रिय अनुसन्धान समूहले एन्टिबडी परीक्षणका निम्ति सस्तो र सरल परीक्षणको विकास गरेको जनाएको छ।

"एन्टिबडीको परीक्षण गर्ने र व्यक्ति तथा समुदायमा रोगको प्रतिरक्षा क्षमता बुझ्ने राम्रो तरिकाका साथ हामीले विश्वव्यापी रूपमा मानिसको जीवनरक्षा र भाइरसको बिस्तार नियन्त्रणतर्फ कदम चालिरहेका छौँ," विश्वविद्यालयको एमआरसी ह्युमन इम्युनोलोजी युनिटका निर्देशक प्राध्यापक एलिसन सिमोन्सले बताए।

अनुसन्धानकर्ताले अब उक्त निकै सामान्य जाँचको थप प्रयोग गर्ने योजना बनाएका छन्। कोभिड-१९ बाट सुरक्षित रहेका व्यक्तिदेखि खोपको अर्को मात्रा आवश्यक रहेका मानिसको पहिचान गर्न सक्छ किन सक्दैन भन्ने पत्ता लगाउन त्यसो गरिने बताइएको छ।

हालसम्म उपकरणको विकास जारी छ र प्रयोगशाला बाहिर त्यसको प्रयोग गरिएको छैन।

एन्टिबडी के हो?

एन्टिबडी रगतमा हुने प्रोटिन हो जसले सङ्क्रमण पहिचान गर्छ र त्यसविरुद्ध लड्छ।

यदि कसैमा सङ्क्रमण भएको छ भने एन्टिबडीले तपाईँको शरीरलाई त्यसविरुद्ध सङ्घर्ष गर्न तयार बनाउँछ।

खोपले बिरामी नबनाएरै बिनाजोखिम एन्टिबडीको विकास गर्न सजिलो पारिदिन्छ।

यदि कुनै व्यक्तिलाई कोभिड-१९ पहिले भइसकेको छ भने उसको शरीरमा त्यो एन्टिबडी रहेको हुनसक्छ र त्यसले भाइरसबाट फेरि सङ्क्रमित हुनबाट जोगाउन सक्छ।

एन्टिबडी

तस्बिर स्रोत, Getty Images

तर विज्ञहरू त्यसको पुष्टि गर्न थप अनुसन्धानको खाँचो रहेको बताउँछन्।

प्रतिरोधात्मक प्रणाली जटिल छ र टी-सेलजस्ता अन्य तत्वहरूले पनि सुरक्षामा भूमिका खेल्न सक्छन्।

नयाँ परीक्षणले कसरी काम गर्छ?

यसमा औंलाको टुप्पोबाट रगत निकालेर परीक्षण गरिने भएकाले त्यो छिटो र सहज हुन्छ।

यो परिक्षणमा रातो रक्तकोषमा रहने कोरोनाभाइरसले प्रोटिनमा निर्माण गर्ने सतह हेरिन्छ।

परीक्षण

तस्बिर स्रोत, Getty Images

भाइरसको निम्ति एन्टिबडी छ भने त्यसले रातो रक्तकोषको झुन्ड तयार गर्छ। त्यो झुन्ड नाङ्गो आँखाले हेर्न सकिने गरी ठूलो आकारमा हुन्छ।

अध्ययनको नेतृत्व गरेका अक्सफोर्ड विश्वविद्यालयको एमआरसी ह्युमन इम्युनोलोजी युनिटका प्राध्यापक एलन टाउनसेन्डले बीबीसीसँग भने, "यो निकै सामान्य परीक्षण हो र यो तालिमप्राप्त प्राविधिक वा प्यारामेडिकले गर्न सक्छन्।"

अनुसन्धान समूहले कोभिड-१९ का बिरामीमा त्यसको परीक्षण गरिसकेको छ।

तर अब खोपको अर्को मात्रा आवश्यक हुनसक्नेहरूको तुलनामा खोप लगाइसकेपछि सफल रूपमा प्रशस्त एन्टिबडी उत्पादन भइसकेकाहरूको पहिचान गर्न त्यो परीक्षण अनुकूल हुने आशा छ।

कोभिडविरुद्ध लड्न कसरी सघाउँछ?

वैज्ञानिकहरूले त्यो परीक्षणको ठूलो मात्रामा गरिने प्रयोगले समुदायमा रोग प्रतिरोधात्मक स्तर पहिल्याउन अनुसन्धानकर्मी र नीति निर्मातालाई सहयोग गर्ने आशा राखेका छन्।

जब नयाँ भेरिअन्ट आउँछ अनुसन्धान समूहले एन्टिबडीमा भाइरसको प्रभावबारे वैज्ञानिकहरूलाई अध्ययन गर्न सम्भावित अवसर दिने गरी परीक्षण अद्यावधिक गर्छ।

उक्त समूहले खोप लगाउँदा र भाइरसको सङ्क्रमणपछि शरीरले कस्तो प्रतिक्रिया जनाएको छ भन्ने कुरा उक्त परीक्षणले पत्ता लगाउने ठानेका छन्।

"राम्रो मात्रामा एन्टिबडी भएमा त्यसले कोभिड-१९ विरुद्ध लड्न सघाउँछ," श्रीलङ्कास्थित श्री जयवर्दनपुरा विश्वविद्यालयको डेङ्गी अनुसन्धान विभागकी निर्देशक तथा जीवविज्ञानकी प्राध्यापक नीलिका मलाविगेले बताइन्।

मास्क र महिला

तस्बिर स्रोत, EPA

एन्टिबडी व्यक्ति-व्यक्तिमा फरक

उनले खोप लगाएपछि एन्टिबडी उत्पादन भएकाहरूमा गरिएको अनुसन्धानको नेतृत्व गरिरहेकी छन्।

थुप्रै किसिमका एन्टिबडीहरू रहेको बताउँदै उनले भनिन्, "हामीलाई कस्ता किसिमका एन्टिबडीले कोभिड-१९ बाट बचाउँछन् भन्ने बुझ्ने प्रयास गरिरहेका छौँ।"

कैयौँ सन्दर्भमा एन्टिबडी परीक्षणको सत्यता अझैँ पनि मूल्याङ्कनमै छ। ब्रिटिश मेडिकल जर्नलका अनुसार परीक्षणबाट शरीरमा एन्टिबडी रहेको गलत परिणाम पनि देखा पर्न सक्छ।

सङ्क्रमण वा खोप लगाएपछि एन्टिबडी विकास हुन केही हप्ता पनि लाग्न सक्छ। प्राध्यापक टाउनसेन्डका अनुसार त्यो व्यक्ति व्यक्तिमा भर पर्छ।

"कसैमा निकै न्यून तहमा त कसैमा प्रशस्त मात्रामा एन्टिबडी उत्पादन हुने गरेको छ," उनले भने।

सामान्य ज्ञानको कुरा के हो भने अन्य सङ्क्रमणलाई एन्टिबडीले करिब एक वर्ष रोक्छ।

वैज्ञानिकहरूले निचोडमा पुग्न थप अनुसन्धानको खाँचो औँल्याएका छन्।

नयाँ परीक्षणले अनुमति पाउन बाँकी छ र अक्सफोर्ड विश्वविद्यालयको समूहले आफ्नो नयाँ उत्पादनबारे पब्लिक हेल्थ इङ्ल्याण्डसँग छलफल गर्ने योजना बनाएको छ।