कोरोना भाइरस नेपाल: थप २३ सय जनामा कोभिड पुष्टि, प्रत्येक चार दिनमा 'सङ्ख्या दोबर हुने क्रम देखियो'

कोभिड परीक्षण

तस्बिर स्रोत, Keshav P. Koirala / BBC

नेपालमा विगत २४ घण्टामा थप २,३५१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

त्यस अवधिमा देशभरि पीसीआर विधिबाट परीक्षण गर्दा २,२२० जना र एन्टिजन विधिबाट १३१ जनामा सङ्क्रमण पुष्टि भएको हो।

सो अवधिमा देशभरिका प्रयोगशालाबाट ८,८४४ नमुनाको पीसीआर र ८०३ जनाको एन्टिजन परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका जनाइएको छ।

मन्त्रालयले गरेको प्रेस ब्रीफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले अहिले नेपालमा प्रत्येक चार दिनमा सङ्क्रमितको सङ्ख्या दोबर हुने क्रम देखिएको बताए।

काठमाण्डू उपत्यकाभित्र भक्तपुरमा ८४, ललितपुरमा १८१ र काठमाण्डूमा ७८६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

अहिले देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या १०,५८२ रहेको सरकारले जनाएको छ।

तीमध्ये संस्थागत आइशोलेशनमा ८३६ र होम आइशोलेशनमा ९,७४६ जना रहेको मन्त्रालये जनाएको छ।

अहिले देशभरि कोभिड भएका १८० बिरामी आईसीयूमा रहेका र तीमध्ये ४७ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना भाइरस भेरिअन्टः भाइरसमा उत्परिवर्तन भयो भने के हुन्छ?

कस्तो छ अहिलेको अवस्था?

नेपालमा गत साताको तुलनामा १६२ प्रतिशतले सङ्क्रमण बढेको मन्त्रालयले आयोजना गरेको प्रेस ब्रीफिङमा काठमाण्डू विश्वविद्यालयमा जनस्वास्थ्य विभागकी सहप्राध्यापक डा. अर्चना श्रेष्ठले बताइन्।

उनका अनुसार अहिले विश्वमा २७ प्रतिशतले र भारतमा ३५ प्रतिशतले मात्र साप्ताहिक वृद्धि देखिएको छ।

भारतमा अहिले तीव्र गतिमा सङ्क्रमण बढिरहेको छ।

गत वर्ष भारतमा सङ्क्रमण उच्चबिन्दुमा पुगेको एक महिनापछि नेपालमा पनि सङ्क्रमण उच्चबिन्दुमा पुगेको मन्त्रालयले जनाएको छ।

यसपालि पनि त्यस्तै अवस्था आउने देखिएको अधिकारीहरूले बताएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड-१९ भारतः 'हामीले पहिला नदेखेको कोरोना भाइरस सुनामी'

मृत्युको तथ्याङ्क कस्तो छ?

मन्त्रालयका अनुसार बुधवार अपराह्णसम्म थप १० जनाको कोभिडका कारण मृत्यु भएको विवरण प्राप्त भएको थियो। तीमध्ये छ जनाको २४ घण्टाको अवधिमा मृत्यु भएको हो।

अहिलेसम्म नेपालमा कोभिडका कारण मृत्यु भएको पुष्टि हुनेको सङ्ख्या ३,११२ पुगेको छ।

गत वर्ष महामारी सुरु भएदेखि कोरोनाभाइरस पुष्टि भएका बिरामीमा मृत्युदर १.१ प्रतिशत भएको सरकारी तथ्याङ्कले देखाउँछ।

को बढी प्रभावित?

अहिलेको अवस्था हेर्दा भाइरस समुदायमा द्रुत गतिमा फैलिरहेको देखिएको पनि मन्त्रालयले जनाएको छ।

विवरणअनुसार अहिले २५ देखि ३४ वर्ष उमेर समूहमा बढी सङ्क्रमण भएको देखिएको छ।

हाल ६० प्रतिशत पुरुष र ४० प्रतिशत महिलामा सङ्क्रमण देखिएको छ।

महिला र पुरुषको सङ्क्रमण दर नजिक हुँदै जानु भनेको समुदायमा सङ्क्रमण फैलिएको अवस्था आउनु भएको अधिकारीहरूले बताए।