कोरोना भाइरस नेपाल: अहिले कोभिड खोप नपाएका ६० देखि ६५ वर्ष उमेरका मानिस 'सङ्क्रमणको उच्च जोखिममा'

तस्बिर स्रोत, RSS
- Author, विनिता दाहाल
- Role, बीबीसी न्यूज नेपाली
सरकारले अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सञ्चारकर्मी र अन्यलाई कोरोनाभाइरसविरुद्धको दोस्रो खोप उपलब्ध गराउन थालेको छ। तर तर स्वास्थ्यकर्मीहरूले जोखिममा रहेको भनिएका ६० देखि ६५ वर्ष उमेर समूहका मानिसहरूले पहिलो चरणको खोप नै लगाउन पाएका छैनन्।
त्यही उमेर समूहमा पर्ने अरुणध्वज अधिकारीले खोप लगाउन नपाएको विषय उठाउँदै मङ्गलवार साँझ ट्विटरमा प्रश्न गरे, "मेरो पालो कहिले आउँछ?"
उनले सन्दर्भ जोड्दै ट्वीट गरेका छन्ः "मैले पहिलो मात्रा खोप पाउन बाँकी नै छ। मानिसहरूले दोस्रो लगाउँदैछन्। ६० देखि ६५ उमेर समूहका मानिसको जीवनले पनि अर्थ राख्छ।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
बीबीसीसँग कुरा गर्दै उनले भने, "६५ वर्षमाथिका मानिसलाई लगाइँदा बुवाले भारतबाट आएको खोप लगाउनुभयो, भाइबुहारीहरूले चीनबाट आएको खोप लगाए। म चाहिँ सरकारले ल्याउँछ अनि लगाउँला भनेर पर्खिएर बसेको छु। मेरो घरमा १२/१५ जनामध्ये म मात्रै खोप लगाउन बाँकी छु। मेरो पालो कहिले आउँछ खोइ?"
अधिकारीले ट्वीट गरेपछि जलस्रोतविद् दीपक ज्ञवालीले पनि आफ्नी श्रीमतीले ६० देखि ६५ वर्ष उमेर समूहमा परेका कारण खोप लगाउन नपाएको भन्दै ट्वीट गरेका थिए।
उनले ट्वीटरमा लेखेका छन्, "मेरी श्रीमती भारतीय खोपका लागि कम उमेरकी भइन् र चिनियाँ खोपका लागि बढी उमेरकी भइन्। उनी पनि खोपको प्रतीक्षामा छिन्।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
उनीहरू जस्तै ६० देखि ६५ उमेर समूहका अधिकांश मानिसले खोप लगाउन पाएका छैनन्।

तस्बिर स्रोत, RSS
सरकारले भारतबाट सुरुमा ल्याएको कोभिशील्ड खोप अग्रपङ्क्तिमा रहेर काम गर्ने वर्ग तथा ६५ वर्ष माथिका नागरिकलाई दिएको थियो।
तर झन्डै एक महिनाअघि भारतले आफ्नै देशमा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको र खोपको माग धान्न गाह्रो भएको भन्दै खोप निर्यातमाथि अस्थायी रोक लगायो।
त्यसपछि चीनबाट नेपालमा भेरो सेल खोप त भित्रियो तर त्यसको तेस्रो चरणको परीक्षणका बेला ६० वर्ष माथिकालाई नसमेटिएको भन्दै खोप नलगाउन सुझाइयो।
खोप लगाउन गएका ठाउँमा ६० वर्षभन्दा माथिकालागि भेरो सेल खोप दिन मिल्दैन भनेर फर्काइएको गुनासो मानिसहरूको रहेको छ।
तर कतिपयले भने अन्य खोप आउने अन्योलमाझ ६० देखि ६५ वर्षकै उमेर समूहमा रहँदा पनि चीनको भेरो सेल खोप लगाएको बताएका छन्।
अरुणध्वज अधिकारीले ६० देखि ६५ उमेर समूहमै पर्ने आफ्ना भाइबुहारीले पनि भेरो सेल खोप लगाएको बताए।
तर सरकारले भने त्यसलाई सुझाएको छैन। नेपालमा अहिलेसम्म सबै गरी १९ लाखलाई खोप दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तस्बिर स्रोत, RSS
कहिले पाउलान् खोप?
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने, "भारतबाट आउने खोपको निर्यात रोकिएको र चीनबाट आउने खोप ६० वर्षमाथिका मानिसमा परीक्षण नभएकोले ६० देखि ६५ वर्ष उमेरका मानिसहरूले खोपको पहिलो मात्रा लगाउन पाउनुभएको छैन।"
भारतबाट खरिदका लागि भुक्तानी भइसके पनि कोभिशील्डको थप मात्रा नेपाल भित्रिन अझै कति समय लाग्ने निश्चित नभएको उनी बताउँछन्।
"उक्त खोप कहिलेबाट आउँछ भन्ने निश्चित छैन तर अब ६० देखि ६५ वर्ष उमेर समूहकाले यही खोप पाउने सम्भावना धेरै देखिन्छ," उनले भने।
भारतले झन्डै एक महिनाअघि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेको र आउँदा साताहरूमा घरेलु माग बढ्ने भन्दै खोप निर्यातमा अस्थायी रोक लगाएको थियो।
भारतको उक्त कदमले एप्रिलको अन्त्यसम्म आपूर्तिमा असर गर्ने ठानिएको थियो।
यो उमेर समूहमा कति मानिस र कस्ता जोखिम छन्?
सङ्क्रमणको उच्च जोखिममा रहने यो उमेर समूहमा पर्ने मानिसको सङ्ख्या करिब ९ लाख रहेको केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कले देखाउँछ।
उक्त उमेर समूहमा पर्ने जनसङ्ख्या रोग सङ्क्रमणका हिसाबले जोखिममा रहेको मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराई बताउँछिन्।
पल्मनरी एन्ड क्रिटिकल केअर विशेषज्ञ डा. रक्षा पाण्डे पनि मधुमेह, उच्च रक्तचापजस्ता समस्या यो उमेर समूहका मानिसमा धेरै हुने भएकोले खोपको प्राथमिकतामा उनीहरूलाई राखिनुपर्ने बताउँछिन्।
"उमेर बढेसँगै कोरोनाभाइरसले हुने जटिलता र कडा कोरोनाभाइरस हुने सम्भावना बढ्दै जान्छ। ५५ वर्ष माथिका मानिसमा रोगसँग लड्ने क्षमता कम हुन्छ त्यसैले कोरोनाभाइरस भइहाल्यो भने सिकिस्त हुने सम्भावना बढी हुन्छ," डा .पाण्डेले बीबीसीसँग भनिन्।
सरकारले पनि ६० वर्षमाथिका मानिसमा सङ्क्रमणको जोखिम रहने र रोग लागे निको हुन गाह्रो हुने भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गर्दै आएको छ।










