ज्ञानेन्द्र शाहः भारतबाट नेपाल फर्किएका पूर्वराजदम्पतीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि

पूर्वराजा ज्ञानेन्द्र
तस्बिरको क्याप्शन, फाइल तस्बिर

भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलमा कोरोनाभाइरस सङ्क्रमण देखिएको उनीहरूका एक सहयोगीले पुष्टि गरेका छन्।

ज्ञानेन्द्र शाह गत साता हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएका थिए।

पूर्वराजदम्पती नयाँ‍दिल्लीबाट आइतवार नेपाल फर्किएका हुन्।

काठमाण्डूमा गरिएको पीसीआर परीक्षणमा उनीहरूमा सङ्क्रमण देखिएको पूर्वराजा ज्ञानेन्द्र शाहका सचिव फणिराज पाठकले बीबीसीलाई बताएका छन्।

उनका अनुसार अहिले उनीहरू दुवै जना निर्मल निवासमा आइसोलेसनमा बसिरहेका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहले गत साता मङ्गलवार कुम्भमेलामा गङ्गास्नान गरेका थिए। त्यहाँ उनले केही साधुसन्तसँग पनि भेटघाट गरेका थिए।

भारतमा कुम्भमेलामा सहभागी सयौँ मानिसलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

पूर्वराजाले नेपाल फर्किनुअघि नयाँदिल्लीमा परीक्षण गराएको तर त्यतिबेला सङ्क्रमण नदेखिएको उनीसँगै यात्रा गरेका उनका सचिव पाठकले यसअघि बीबीसीलाई बताएका थिए।

हवाईयात्राका लागि ७२ घण्टाभित्रको परीक्षण प्रतिवेदन आवश्यक पर्ने भएकाले उनको त्यहाँ परीक्षण भएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, विमानस्थलमा पूर्वराजदम्पतीको परीक्षण

नेपाल फर्किएपछि के भने?

नेपाल फर्किएपछि पूर्वराजा ज्ञानेन्द्र एउटा विज्ञप्ति जारी गरी हरिद्वारमा आफूले पाएको "विशेष सम्मान, सत्कार र संस्कारयुक्त आदरभावप्रति" निरञ्जन पीठका पीठाधीश्वर कैलाशानन्द गिरी तथा समस्त सन्तमहात्माप्रति कृतज्ञता व्यक्त गरेका थिए।

साथै उनले आफ्नो "भारत बसाइलाई सरल र सहज बनाउने व्यवस्थाका लागि भारतीय जनता र भारत सरकारप्रति" पनि आभार व्यक्त गरेका थिए।

उनी निरञ्जन पीठका पीठाधीश्वरको निम्तोमा कुम्भमेलामा सहभागी हुन हरिद्वार गएका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड-१९ भारतः 'हामीले पहिला नदेखेको कोरोना भाइरस सुनामी'

नेपालको अवस्था

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलवार नेपालमा थप १६ सय ६७ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको छ।

सो अवधिमा ११ सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

नेपालमा अहिलेसम्म २ लाख ८७ हजारभन्दा बढीलाई कोरोनाभाइरस सङ्क्रमण भइसकेको छ भने ३,१०२ जनाको कोभिडका कारणले मृत्यु भएको औपचारिक तथ्याङ्क छ।

मन्त्रालयका अनुसार यदि स्वास्थ्य मापदण्ड पूरा नभएमा कुनै दिन एकै दिन ११ हजार सक्रिय सङ्क्रमित पुग्ने मन्त्रालयको प्रक्षेपण रहेको छ।

भारतको अवस्था

बीबीसी हिन्दीले भारतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै मङ्गलवार बिहान जनाएअनुसार त्यहाँ विगत २४ घण्टामा करिब दुई लाख ६० हजार जनामा कोभिड पुष्टि भएको छ।

त्यस अवधिमा १,७६१ जनाको कोभिड-१९ का कारण निधन भएको छ।

भारतमा हालसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख जनाभन्दा बढी पुगिसकेको छ भने हाल त्यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या २० लाखभन्दा बढी छ।

भारतमा कोभिड

भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण एक लाख ८० हजारभन्दा बढीको ज्यान गइसकेको छ।

भारतले कोरोनाभाइरसविरुद्ध खोप अभियानलाई तीव्र बनाएको छ। त्यहाँ हालसम्म १२ करोड ७१ लाखभन्दा बढीले खोप लगाइसकेका छन्।

भारतले अब १८ वर्ष माथिका सबैलाई खोप दिन सुरु गरेको छ।

सङ्क्रमितहरूको सङ्ख्या स्वास्थ्य प्रणालीले थेग्नै नसक्नेगरी बढ्न थालेपछि भारतको राजधानी दिल्लीमा सोमवार रातिदेखि एक साताका लागि लकडाउन घोषणा गरिएको छ।