के पी ओली: '२०७७ साल राजनीतिक अस्वस्थाबीच निरर्थक वर्ष' नरहेको प्रधानमन्त्रीको दाबी

‌‌‌‌ओली

तस्बिर स्रोत, RSS

नयाँ वर्षको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल कोभिड महामारीको असरसँगै 'राजनीतिक अस्वस्थताको वर्ष भए पनि त्यो निरर्थक नभएको र पनि केही उपलब्धि भएको' बताएका छन्।

उनले कोभिड महामारीबारे २०७७ सालको पीडा त्यही रूपमा दोहोरिन नपाओस् भनेर यो वर्ष समेत नागरिकहरू सजग हुनुपर्ने आवश्यकता रहेको बताए।

ओलीले महामारीबीच सरकारको 'सही नीतिकै कारण देश असफल नभएको' दाबी गरे।

"समग्र आर्थिक वृद्धिदरमा केही असरहरू परे पनि देश ऋणात्मक दिशामा जान परेन, कृषि उपजहरूमा वृद्धिदर राम्रै रह्यो।"

लकडाउनमा 'सकेसम्म जान नचाहेको'

पर्यटन क्षेत्र समस्याग्रस्त भएको बताएका ओलीले त्यसको 'पुर्नउत्थानका लागि पहिले कोभिडबाट सुरक्षित रहनुपर्ने' बताए।

उनले 'सरकार सकेसम्म लकडाउनमा जान नचाहेको' समेत बताए।

तर 'अर्थतन्त्रभन्दा पनि नागरिक जीवन पहिलो' नीति राखेर काम गरिरहेको सरकारले युरोपेली देशहरूमा समेत बाध्यात्मक अवस्था आएको लकडाउनलाई हेरिरहेको उनले बताए।

प्रगतिका सूची

सम्बोधनमा ओलीले गत वर्षका आफ्ना मुख्य उपलब्धिका रूपमा मेलम्चीको पानी काठमाण्डूमा ल्याइएको, पुनर्निर्माण पूरा गरिएको, नयाँ परियोजनाहरू सुरु गरिएको बताएका थिए।

हिंसाको बाटो लिएको समूहलाई मूलधारमा ल्याइएको विषयलाई समेत उनले आफ्नो उपलब्धिको सूचीमा राखेका थिए।

"जनतामा आशा जगाउने काम यो सरकारले लगातार गरेको छ," उनले भने।

उनले जमिनको भूनक्साङ्कन र मालपोत सहितका कार्यालयलाई डिजिटलमा लगिएको, सडक-पुलजस्ता भौतिक पूर्वाधारमा प्रगति भएको दाबी गरे।

एमसीसीबारे ओलीले के भने?

एसिड आक्रमण विरुद्धको कडा कानुन अद्यादेशमार्फत् ल्याउँदा समेत संसद्‌मा प्रस्तुत गर्न नदिएर 'अप्रिय र अशोभनीय' स्थितिको सिर्जना गरेको बताए।

अमेरिकी सहयोगको एमसीसी सम्झौता संसद्‌मा टेबल गरिए पनि त्यो निर्णयार्थ प्रस्तुत नभएको उनले बताए।

"त्यस्तो कुनै संवैधानिक अधिकार कसैसँग हुँदैन। त्यो गर्नै पर्ने हुन्छ तर संविधान नै नमान्ने जिद्दी गर्ने प्रवृत्ति झेलिरहेका छौँ।"