बाल विवाह र कोभिड: बाल विवाह हुन नदिन विज्ञहरूको सुझाव कस्तो छ?

तस्बिर स्रोत, UNICEF
- Author, इभा ओन्टीभेरल
- Role, बीबीसी विश्व सेवा
"मलाई माग्न आएको केटा धनी परिवारको भएकोले मेरो परिवारले त्यस्तो प्रस्तावमा हुन्न भन्न नहुने बताए," १४ वर्षीया अबिबाले भनिन्।
केही महिनाअघि मात्रै विवाहका लागि माग्न आउनेको प्रस्ताव स्वीकार गर्न उनलाई आफ्नी आमा र दाजुभाइबाट ठूलो दबाव थियो।
कोभिड महामारीका बेला विवाह गरिदिएर परिवारको आर्थिक कठिनाइ सहज बनाउन उनलाई त्यस्तो दबाव दिइएको थियो।
अबिबा डाक्टर बन्न चाहन्छिन्। तर इथियोपियाको उनको गृहनगर साउथ गोन्डरमा उनको शैक्षिक भविष्य अनिश्चित देखिन्छ।
रबी, १६, नाइजेरियाको गुसाओमा माध्यमिक विद्यालयमा अध्ययनरत छिन्। महामारीकै बेला उनको विद्यालयका चारजना मिल्ने साथीको विवाह भइसक्यो र उनकी आमा पनि उनले विवाह गर्नुपर्ने ठान्छिन्।
"हाम्रा दुई छिमेकीले यही साता विवाह गर्दैछन्। मेरो पनि पालो यति छिटै आउन लागेको छ भनेर मलाई थाहै थिएन," रबीले भनिन्।
सानै उमेरमा हुने विवाहका यी सम्भावनाहरू अस्वाभाविक होइनन्।
युनिसेफको नयाँ प्रतिवेदन अनुसार कोभिडका कारण अर्को दशकसम्ममा थप एक करोड बालिकाहरू उमेर नपुग्दै विवाह हुने जोखिममा रहेका छन्।

युनिसेफको अनुमान अनुसार कोरोनाभाइरसको महामारीअघि पनि १० करोड बालबालिकाहरू आउँदो १० वर्षभित्र विवाह गर्न बाध्य हुने थिए।
तर कोरोनाभाइरसको महामारीपछि अब थप १० प्रतिशत वृद्धि हुने भएपछि त्यो तथ्याङ्क बढेको हो।
विश्वव्यापी रूपमा विद्यालयहरू बन्द हुनु, परिवारमा आर्थिक कठिनाइ हुनु र लकडाउनका बेला परिवार तथा बालबालिकाले पाउने सेवा सुविधामा बाधा आउनुजस्ता कारणले सन् २०३० भित्र थप एक करोड बालिकाहरू कानुनी उमेर नपुग्दै विवाहको बाध्यतामा पर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ।
"यी आँकडाहरूले बालिकाहरूका लागि अवस्था कठिन बन्दै गएको देखाउँछ," युनिसेफको हानिकारक अभ्यास रोकथाम कार्यक्रमकी वरिष्ठ सल्लाहकार ननकली मक्सुदले भनिन्।
पारिवारिक मामिला
"बालबालिकाको विवाहको प्रबन्ध गर्नुको सट्टा परिवारले उनीहरूलाई विद्यालय पठाउनुपर्छ," अबिबा भन्छिन्।
यी इथियोपियाली बालिका विवाहबाट जोगिन सकिन् किनभने उनले आफ्ना बुवालाई मनाउन सकिन्।
"मेरी आमा र दाइहरूले मलाई विवाहका गर्न कर गर्नुभयो। स्थानीय शिक्षकहरूले परामर्श दिएपछि उहाँहरूले विवाहको सोच बदल्नुभयो।"
तर रबी (पहिचान खोल्न नचाहेका कारण नाम परिवर्तन गरिएको छ) का लागि भने विवाहको जोखिम अझै पनि टरेको छैन।
उनी उत्तरी नाइजेरियाको एउटा पुनर्स्थापित डम्बा कृषि क्षेत्रमा बस्छिन्। उक्त क्षेत्रमा मिल्दो केटा भेटिएपछि बालिकाहरूको विवाह भइहाल्छ।
१६ वर्षीया रबीले भनिन्, "मेरो विवाहको कुरा लकडाउनका बेला उठेको हो जब मेरा भाइहरू हिज्जे मिलाउने खेल खेलिरहेका थिए। म पनि उनीहरूसँग खेल्न गएँ।"
"तर मलाई आएन," उनले स्विकारिन्। रबीकी आमा उनीसँग रिसाइन्।

तस्बिर स्रोत, Getty Images
"उहाँले भन्नुभयो 'तैँले विद्यालय गएर हाम्रो धेरै पैसा सकिस्! हेर त, तँलाई भाइहरूले पढाउनुपर्ने!'"
उनकी आमाले उनलाई गाली गर्न छोडिनन्: "अहिलेसम्म त विद्यालयका तेरा सबै केटी साथीहरूको विवाह भइसक्यो। म पनि शफी [रबीसँग विवाह गर्न चाहने केटा]लाई तेरो हात माग्न आमाबुवालाई पठाउन भन्छु।"
उनका साथीहरू हबिबा, मन्सुरा, असमाउ र रलियाले परिवारमा आर्थिक कठिनाइ भएपछि गत वर्ष विवाह गरेका थिए।
रबीकी आमाकी एकजना साथीले बालिका/किशोरीहरूले विवाह गर्न किन चाहँदैनन् भनेर बुझेकी छैनन्: "अभिभावकले केका लागि कुर्ने? म मेरो छोरीको पढाइका लागि पैसा खर्च गर्न सक्दिनँ।"
"विवाह भनेको छोरीलाई व्यवस्थित भएर बस्ने एउटा मौका हो र घरमा पनि खाने मान्छेको सङ्ख्या घट्छ।"

उल्टो बाटोमा
सन् २०११ यता, कानुनी उमेर नपुग्दै विवाह गर्ने बालिकाको सङ्ख्या १५ प्रतिशतले घटेको थियो तर विश्वव्यापी महामारीका कारण यो प्रगति गुम्ने खतरा रहेको युनिसेफले जनाएको छ।
"बालविवाह कम गर्न विश्वव्यापी रूपमा हामीले प्रगति गरिरहेका थियौँ। तर त्यसलाई निर्मूल पार्ने उद्देश्यका लागि त्यो पर्याप्त थिएन। र अब झन् हामी उल्टो दिशामा फर्कँदैछौँ," मक्सुदले भनिन्।
तर प्रतिवेदनमा हस्तक्षेप गर्न सम्भव भएका ठाउँमा बालविवाह रोकिन सकिने केही सकारात्मक प्रवृत्तिहरू पनि देखाइएको छ।
विश्वका केही भागमा बालविवाह अझै सामान्य अभ्यास भए पनि सही कार्यक्रमहरू पुर्याउन सकिएका ठाउँमा भने यो कम सामान्य बन्दै गएको छ।
विश्लेषकहरू भन्छन् कोभिडका कारण बालविवाहको सङ्ख्या बढ्ने अनुमान गरिएका आँकडालाई पनि पुरानै अवस्थामा फर्काउन सकिने सम्भावना छ।

तस्बिर स्रोत, Getty Images

'मलाई विवाहका लागि नौ प्रस्ताव आए'

तस्बिर स्रोत, UNICEF
"चौध वर्ष हुँदादेखि अहिलेसम्म मलाई नौ वटा विवाह प्रस्ताव आए," जोर्डनमा बस्ने सिरियाली शरणार्थी मारमले भनिन्। उनी सीमा नजिकैको एउटा शरणार्थी शिविरमा बस्छिन्।
"हामीलाई विवाहका लागि थुप्रै दबाव आएको थियो, तर मलाई मेरो बुवा र आमाको साथ थियो," उनले भनिन्।
"मेरी आमालाई विवाहका लागि म एकदमै कलिलै भएको र विवाह भनेको के हो भन्ने बुझ्न गाह्रो हुने बताउनु हुन्छ।"
मारमले पढ्न र उनको रुचि अनुसार फुटबल खेल्न पाएकी छन्।
"मलाई धेरै त्यस्ता केटीहरू थाहा छ जो विद्यालय छोड्न र विवाह गर्न बाध्य भए। आफ्नो परिवार छोडेर अर्काको घरमा गएर बस्ने जस्तो कामका लागि उनीहरू तयार थिएनन्," उनले भनिन्।
"विवाह गरेका मेरा दुईजना साथीहरू अहिले पछुताउँछन्। विवाहपछि कतिपय अधिकारबाट वञ्चित भएको महसुस गर्छन्।"

बालविवाह रोक्न सकिन्छ?

तस्बिर स्रोत, UNICEF
उपयुक्त समयमा सामाजिक हस्तक्षेप गरे बालविवाह रोक्न सकिने विज्ञहरू ठान्छन्।
"त्यसको एकदमै राम्रो उदाहरण भारत हो। विगत ३० वर्षमा भारतमा परिवारलाई पैसा पठाउने एउटा ठूलो राष्ट्रिय कार्यक्रम छ," मक्सुद भन्छिन्।
परिणाम स्वरूप उमेर नपुगेका छोरीको विवाह नगरिदिने परिवारले आर्थिक क्षतिपूर्ति पाउँछन्।
विवाह रोक्न नसके पनि ढिला हुँदा समुदायका लागि फाइदाजनक हुन्छ।
"त्यो एकदमै महत्त्वपूर्ण हो किनभने बालिकाहरूले पढाइ पूरा गर्न पाउँछन्। उनीहरूको जीवनमा पनि विकल्प हुन्छ र दक्षता विकास गर्न सक्छन् र त्यसले गरिबी रोक्न पनि मद्दत गर्ने देखिन्छ," मक्सुद भन्छिन्।

'विवाह गर्न कुरेँ भने उनीहरूले मलाई पैसा दिन्छन्'

तस्बिर स्रोत, UNICEF
सवितालाई आफू १६ वा १७ वर्षको हुँ भन्ने लाग्छ। तर राज्यले दिएको उनको परिचयपत्रमा भने उनको उमेर १४ छ।
उनी भारतको उत्तर प्रदेश राज्यमा आफ्ना आमाबुवा अनि चार दिदीबहिनी र दुई दाजुभाइसँग बस्छिन्।
उनी कहिल्यै पनि विद्यालय नगएकीले उनलाई लेख्न वा पढ्न आउँदैन।
लकडाउनका बेला उनको परिवारलाई थप सहायता आए पनि उनलाई विवाह गर्नका लागि दबाव भने कायमै थियो।
आफ्नो दिदीको सानैमा विवाह भएकाले त्यसैगरी चाँडै विवाह गर्न उनलाई मन थिएन।
हालसालै स्थानीय अधिकारीहरूले उनको विवाह रोकेपछि उनले राहत महसुस गरिन्।
अठार वर्षसम्म विवाह नगरे पैसा पाउने कार्यक्रममा सहभागी हुन पाउने प्रस्ताव उनलाई आयो। त्यति बेलासम्म उनले आर्थिक सहायता पाउने भइन्।

महामारीपछिको अवस्था
युनिसेफकी ननकली मक्सुद कोभिडले बालविवाह बढ्ने सम्भावना देखाएपछि त्यसलाई विगतकै अवस्थामा फर्काउन सकिने तीनवटा प्रमुख कारणहरू रहेको बताउँछिन्।
"सबैभन्दा सुरुमा बालिकाहरूलाई सुरक्षित रूपमा विद्यालय पठाउनुपर्छ," मक्सुद भन्छिन्। अथवा बालिकाहरूलाई व्यापार वा हस्तकला सिक्ने मौका दिनुपर्छ।

"कोभिडको असर परेका गरिब परिवारमा आर्थिक असरको समस्या सम्बोधन गर्न पनि आवश्यक छ ताकि उनीहरूले छोरी बेच्ने वा विवाह गरिदिने नगरून्।"
युनिसेफकी सल्लाहकारले किशोरावस्थामै हुने गर्भधारण पनि उमेर नपुग्दै हुने विवाहको एउटा कारण भएको औँल्याइन्।
"त्यसैले यौन तथा प्रजनन स्वास्थ्य सेवाहरू पुनः सुरु गर्नुपर्छ ताकि किशोरीहरूले त्यसको सुविधा पाउन् र सही निर्णयका लागि आवश्यक सहायता र सूचना पाउन्।"

'मैले मेरो बहिनीलाई विवाहबाट जोगाउन सकेँ'

बालविवाह रोक्नका लागि मिनारा अभियानकर्मी बनिन्। उत्तरी बाङ्लादेशको कल्माकान्डस्थित स्थानीय किशोरी शिक्षा क्लबमा सामेल भएपछि उनी अभियानकर्मी बनेकी हुन्।
यी १८ वर्षीय बङ्गलादेशी किशोरीलाई त्यति बेला के थाहा थिएन भने उनले लिएको तालिमले उनकै बहिनी रिताको जीवन जोगाउन मद्दत गर्छ।
"महामारीले मेरो परिवारलाई निकै गाह्रो भयो," आमाबुवा र दुई भाइबहिनीसँग खरको छाना भएको घरमा बस्ने मिनाराले भनिन्।
लकडाउनका बेला उनका बुवाले जागिर गुमाए र पैसाको अभावका कारण निकै चिन्तित बने। त्यति बेला एकजना छिमेकीले उनकी बहिनीसँग विवाह गर्न पाए आर्थिक भार कम गर्न मद्दत गर्न चाहेको भन्ने कुरा मिनाराले थाहा पाइन्।
महामारीभन्दा अगाडि त्यही केटाले आफ्नी बहिनी रितालाई पटकपटक दुर्व्यवहार गरेको मिनारालाई थाहा थियो।
आफ्नो क्लबका साथीहरूको मद्दतले मिनाराले बालबालिका सहायतामा फोन गरेर विवाह रोक्न सकिन्। तर त्यो कहिलेसम्म भन्ने उनलाई थाहा छैन।
"यदि यो महामारी रहिरह्यो भने अभिभावकहरूले आफ्ना छोरीहरूलाई १८ वर्ष नपुग्दै विवाह गर्न बाध्य पार्छन्।"

'परामर्श सहायक हुन्छ'

तस्बिर स्रोत, UNICEF
इथियोपियामा अबिदा आशा गर्छिन् कि उनका साथीहरू विद्यालय निरन्तर आउँछन् र पढाइ पूरा नगर्दासम्म विवाह गर्न बाध्य हुँदैनन्।
१४ वर्षीय मेक्देसको इञ्जिनियर बन्ने सपना छ।
"लकडाउनका बेला घर बस्दा मेरा आमाबुवाले मैले चिन्दै नचिनेको केटासँग विवाह गर्नेबारे कुरा गरिरहेको सुनेकी थिएँ," उनले बीबीसीलाई भनिन्।
"मैले मलाई विवाह गर्न मन छैन र पढ्न चाहन्छु भनेँ। तर उहाँहरूले सुन्नुभएन।"
"विद्यालय कहिले खुल्छ भनेर कुरेँ अनि विद्यालयका निर्देशकलाई त्यसबारे भनेँ," उनले भनिन्।
"उहाँले स्थानीय अधिकारीहरूलाई खबर गरिदिनुभयो र तिनीहरूले मेरा आमाबुवालाई परामर्श दिए।"
त्यसपछि अहिले उनका आमाबुवाले उनी १८ वर्ष नपुग्दासम्म विवाह नगरिदिने भनेका छन्।
"हाम्रो समुदायमा परामर्श सेवाले धेरै मद्दत गरिरहेको छ। नगर्न भन्दाभन्दै पनि अभिभावकले विवाह गरिदिन खोजे भने अहिले त उनीहरूविरुद्ध प्रहरीले मुद्दा चलाउनसक्ने व्यवस्था पनि छ।"

भलेरिया पेरास्सोद्वारा सम्पादित








