बालविवाह: अभिभावकको मागको विपक्षमा बाँकेका किशोरी

बालविवाह बाँके

सोर्‍ह वर्षको उमेरमा छोरीको विवाह गरिदिन पाउनुपर्ने अभिभावकको मागप्रति बाँकेका किशोरीहरूले दुःख व्यक्त गरेका छन्।

मधेसी मूलका केही अभिभावकहरूले २० वर्ष पुगेपछि मात्रै विवाह गर्न पाइने कानुन आफ्नो संस्कारसँग मेल नखाने भन्दै १६ वर्षमै छोरीको विवाह गर्न पाउनुपर्ने माग गर्दै साउनमा प्रदर्शन गरेका थिए।

बालविवाह न्यूनीकरण गर्नका लागि आफूहरूले अभियान नै चलाइरहेका बेला केही अभिभावकको अभिव्यक्तिले चुनौती थपिदिएको उनीहरू बताउँछन्।

अभिभावकहरूको मागप्रति विमति जनाउँदै उनीहरूले बाँकेलाई बालविवाहमुक्त जिल्ला बनाउन माग गर्दै आठै स्थानीय तहमा ज्ञापनपत्र बुझाएका छन्।

बालविवाहको विरोध गर्दै आएका किशोरीहरू किन अभिभावकहरूको मागको विरोध गर्दैछन् त?

भावना भुसाल

बालविवाह बाँके

सोर्‍ह वर्षमै विवाह गर्न पाउनुपर्ने अभिभावकहरूको माग एकदमै गलत छ।

सानै उमेरमा विवाह गर्दा शिक्षा पूरा भएको हुँदैन। त्यसले भविष्यमा असर पार्छ।

कुनै कुराको आवश्यकता पर्दा आफ्नो खुट्टामा उभिन नसकेका कारण अरूसँग हात थाप्नुपर्ने हुन्छ।

कलिलो उमेरमा विवाह गर्दा किशोरीहरूको स्वास्थ्यमा समेत नकारात्मक असर पर्छ।

सृजना बुढामगर

बालविवाह बाँके
तस्बिरको क्याप्शन, सृजना बुढामगर

बीस वर्षको उमेरसम्म हामीले आफ्नो पढाइ पूरा गर्न सकेका हुँदैनौँ।

अहिले म १७ वर्षकी छु। कम्तीमा १२ कक्षा उत्तीर्ण गर्नुपर्‍यो। स्नातक तह उत्तीर्ण गर्नुपर्‍यो। नोकरी गर्नुपर्‍यो।

र, आफ्नो पहिचान बनाएर आफूले चाहे अनुसार जीवनसाथी छान्न पाउनु पर्‍यो।

विवाह भनेको अप्ठेरो बन्धन हो किनकि त्यसलाई जिन्दगीभर निभाउनुपर्ने हुन्छ।

चेतना क्षेत्री

बालविवाह बाँके
तस्बिरको क्याप्शन, चेतना क्षेत्री

हाम्रै ठाउँबाट जुन समुदायका मानिसहरूले १६ वर्षमै विवाहको माग राख्नुभयो उहाँहरूले कुरा बुझ्नुभएको छैन।

आफूहरू पुरुषप्रधान समाजमा हुर्कनु भएका कारण आफ्ना बालबालिकालाई पनि त्यही संस्कार दिन चाहनु भएको हुनसक्छ।

छोरीहरूलाई पनि अघि बढाउनुपर्छ भन्ने कुरा हामीले उहाँहरूलाई बुझाउन जरुरी छ।

नेपालमा महिलाहरूको जनसङ्ख्या ५१.४८ प्रतिशत छ। त्यसमध्य करिब ३७ प्रतिशतले १८ वर्ष अघि नै विवाह गर्ने गरेको विवरणहरू सार्वजनिक भएको छ।

त्यसो गर्नु भनेको समाज र महिलाहरूलाई पछि पार्नु हो। उनीहरू पछि पर्नु भनेको सिङ्गो नेपालको आधा भाग नै पछि पर्नु हो।

प्रमिलाकुमारी हरिजन

बालविवाह बाँके
तस्बिरको क्याप्शन, प्रमिलाकुमारी हरिजन

मेरो गाउँमा बालविवाह धेरै हुन्छ। छोरीहरूको विवाह छिटो गरिदिएर घर पठाउनुपर्छ भन्ने मान्यता छ।

र, यो सब शिक्षाकै कारण हो । त्यसकारण १२ कक्षा उत्तीर्ण गरेपछि पनि पढ्न पाउनुपर्छ भन्ने मेरो माग छ।

छोरालाई डाक्टर र इन्जिनियर पढ्न पठाउने र छोरीलाई घरमा खाना पकाउन सिकाउने?

ज्योति विक

बालविवाह बाँके
तस्बिरको क्याप्शन, ज्योति विक

कलिलो उमेरमै विवाह गर्दा धेरैथरी समस्या आउन सक्छ। बालविवाह भनेको उनीहरूलाई थाहा नहुन सक्छ।

जिन्दगीमा के कस्ता समस्या आइपर्छ भन्ने कुराको ज्ञान उनीहरूसँग हुँदैन।

सानै उमेरमा विवाह गरेर बच्चा जन्माउँदा आमा र बच्चा दुवैको ज्यान खतरामा पर्नसक्छ।

घरव्यवहार बारे थाहा नहुँदा मानसिक तनाव उत्पन्न हुनसक्छ। उनीहरूले पढाइ पनि पूरा गर्न सक्दैनन्।

अनु रावत

बालविवाह बाँके
तस्बिरको क्याप्शन, अनु रावत

सोर्‍ह वर्षको उमेरमा कोही पनि परिपक्व भएको हुँदैन। शिक्षाको दृष्टिले हेर्ने हो भने उसले पढाइ पूरा गरेको हुँदैन।

मानसिकरुपले पनि उसले सही निर्णय लिन सक्दैन।

त्यस्तै उसँग रोजगारी पनि हुँदैन। त्यस्तो अवस्थामा उसले कसरी आफ्नो जिन्दगी निर्वाह गर्ने भन्नेबारे कुनै पनि योजना हुँदैन।

र यस्तो अवस्थामा उसको विवाह भयो भने त जिन्दगी डामाडोल नै हुनसक्छ।

त्यस कारण १६ वर्षमै विवाह गर्न पाउनुपर्छ भन्ने मागलाई हामी अस्वीकार गर्छौँ।

लोकमाया परियार

बालविवाह बाँके
तस्बिरको क्याप्शन, लोकमाया परियार

सोर्‍ह वर्षको उमेर भनेको पढ्ने र लेख्ने उमेर हो पढ्ने उमेरमा घरायसी समस्यामा बाँधिनुपर्दा एकदमै अप्ठेरो हुन्छ।

त्यसैले १६ वर्षमै विवाह गर्न पाउनुपर्छ भन्ने अभिभावकको माग नकारात्मक सन्देश दिने अभियान हो।