केन्यामा १२ वर्षे बालिकाको एक महिनामै दुई जनासँग बिहे

बालिका

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, केन्यामा १८ वर्ष नपुगेका व्यक्तिसँग विवाह गर्नु अपराध मानिन्छ

केन्यामा एक महिनाभित्र दुई वयस्क पुरुषसँग छुट्टाछुट्टै विवाह गर्न बाध्य पारिएकी एउटी १२ वर्षीया बालिकाको अधिकारीहरूले उद्धार गरेका छन्।

राजधानी नाइरोबीबाट पश्चिममा अवस्थित नारोक काउन्टीमा बसोबास गर्ने ती बालिकाको आफ्नै पिताले पहिलो पटक ५१ वर्षीय व्यक्तिसँग बलपूर्वक विवाह गराइदिएका थिए।

उनी त्यहाँबाट भागिन्। तर उनको अर्का ३५ वर्षीय पुरुषसँग विवाह भयो।

त्यसपछि बल्ल बालअधिकारकर्मी र सरकारी अधिकारीहरूले उनको उद्धार गरे। केन्यामा १८ वर्ष नपुगेका व्यक्तिसँग विवाह गर्नु अपराध मानिन्छ।

कसरी भयो उद्धार?

अर्की बालिकालाई उद्धार गर्ने प्रक्रिया चलिरहँदा आफूले ती बालवधूबारे सूचना पाएको उद्धारमा संलग्न अभियानकर्मीले बताएका छन्।

“उनका बुबाले अधबैँसे मानिसलाई बिहे गर्न ती बालिका दिए। उनीसँग अर्का तन्नेरीसँग बिहे गर्नुबाहेक अरू विकल्प थिएन,” नारोक काउन्टी पीस असोसीएशनका जोशुआ कापुटाहले बीबीसीलाई भने।

उद्धार गरिएकी बालिका

कापुटाहका अनुसार गरिबी तथा कोरोनाभाइरस महामारीका कारण विद्यालयहरू बन्द भएकाले बालविवाह बढेको छ।

“केही परिवार भोका छन् र बेहुला पक्षबाट उपहारमा पाइने दुई वा तीनवटा गाईको सम्भावना निकै आकर्षक भएको हुनसक्छ,” उनले भने।

बालविवाह कति सामान्य?

नाइरोबीस्थति बीबीसी संवाददाता पिटर म्वाईका अनुसार नारोक काउन्टमा बस्ने मासाई समुदायमा उमेर नपुगेका केटीको बिहे गरिदिने प्रचलन रहेको छ।

तर देशको कानुनले १८ वर्ष नपुगी गरिने विवाहलाई अपराध मान्छ।

म्वाईका अनुसार मासाई केटीहरूलाई घरबारमा ऐश्वर्यका रूपमा हेरिन्छ र प्रायः तिनको विवाह पिताले रोजेको पुरुषसँग हुन्छ।

उक्त समुदायमा छोरी दिएर उपहारस्वरूप बस्तुभाउ लिने चलन छ।

Presentational grey line

यो पनि पढ्नुहोस्:

Presentational grey line

को पक्राउ परे?

केन्याबाट प्रकाशित हुने स्ट्यान्डर्स समाचारपत्रका अनुसार पहिलो बेहुलाले ती बालिकाका पितालाई चारवटा गाई दिएका थिए।

ती बालिकाले विवाह नगर्ने भनेर विरोध गरिन्। तर आफन्तहरूले उनलाई कुटपिट गरे।

“म भागेँ अनि गाली खाने डरले पछि बुवाको घर जान सकिनँ। त्यसैले ३५ वर्षका विवाहित व्यक्तिसँग बिहे गरेँ,” उनलाई उक्त पत्रिकाले उद्धृत गरेको छ।

कापुटाहका अनुसार ती बालिकाले पिताले उनलाई फेला पारे र पहिलो दुलाहाका पुर्‍याइदिए।

सरकारी अधिकारीहरूसहित उद्धार गर्न पुग्दा ती व्यक्ति भागिसकेका थिए।

प्रहरीले ती बालिकाका पिता र उनीसँग विवाह गर्ने दुई पुरुषको खोजी गरिरहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

दोषी प्रमाणित भए उनीहरू प्रत्येकलाई १० लाख शिलिङ (झन्डै ११.२२ लाख नेपाली रुपैयाँ) दण्ड वा पाँच वर्षसम्मको कारावास वा दुवै सजाय हुनसक्छ।