म्यान्मार आन्दोलनः प्रदर्शनकारीहरूलाई जोगाउन खोज्दा इसाई भिक्षुणीले भनिन्, ‘कसैलाई मार्नैपर्छ भने मलाई गोली ठोक’

म्यान्मार

तस्बिर स्रोत, MYITKYINA NEWS JOURNAL/Reuters

तस्बिरको क्याप्शन, क्याथोलिक सिस्टर एन रोज नु टङले प्रदर्शनकारीमाथी गोली नहान्न सुरक्षाकर्मीलाई अनुरोध गरेको तस्बिर भाइरल भएको छ

क्याथोलिक सिस्टर एन रोज नु टङ सैनिक कूपछि अस्तव्यस्त भएको म्यान्मारमा एकताको प्रतीक बनेकी छन्।

बौद्ध धर्मावलम्बीहरूको बाहुल्य रहेको देशमा यी इसाई भिक्षुणीले सशस्त्र सैनिकहरूको सामना गर्दै देशको उत्तरी सहर मियीचिन्हामा प्रदर्शनकारीहरूको ज्यान जोगाएकी थिइन्।

साहसपूर्वक उनले अरूको प्राणरक्षा गरेको तस्बिरहरू भाइरल भए भने विश्वभरि उनीबारे समाचार प्रकाशित भएको छ।

भुइँमा टेकेर आफ्ना हातका पाखुरा फिजाउँदै सिस्टर एन रोजले बर्मेली सैन्य अधिकारीहरूलाई गिर्जाघरको हाताबाट बाहिर जान अनुरोध गरेकी थिइन्।

"तपाईँहरू नगएसम्म म उठ्नेछैन," उनको भनाइ थियो।

दुई अधिकारीहरू पनि भुइँमा बसेर प्रार्थना गरे जस्तै गरी हात जोडेर आफूले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने बताएका थिए।

"साँच्चिकै तपाईँहरूले ज्यान लिनुपर्छ भने कृपया मलाई गोली ठोकिदिनुहोस्, म मेरो ज्यान दिनेछु," उनले अधिकारीहरूलाई भनिन्।

म्यानमार

दक्षिणपूर्वी एशियामा पर्ने म्यान्मारमा भएको निर्वाचनमा अनियमितता भएको भन्दै गएको गत माघ १९ गते सेनाले सत्ता हातमा लिएयता प्रदर्शनहरू भइरहेका छन्।

सैनिक शासनको अन्त्य र गिरफ्तार गरिएका आङ साङ सू चीसहितका निर्वाचित नेताहरूको रिहाइको माग गर्दै भइरहेका प्रदर्शनहरूमा दर्जनौँ मानिसले ज्यान गुमाएका छन्।

सेनाले निर्वाचित नेताहरूलाई आफ्नो नियन्त्रणमा राखेको छ।

बालबालिकाको सुरक्षा

बीबीसी बर्मिजसँग मियीचिन्हामा भएको घटनापछि सिस्टर एन रोजले त्यो बेला आफ्नो मनमा उठेको कुराबारे बताएकी छन्।

उनले भनिन्, "मैले उनीहरूलाई 'यदि तिमीहरूले मार्नु नै छ भने म ज्यान दिन तयार छु; भनेँ। त्यसपछि उनीहरू गए।"

"त्यहाँ घेराबन्दीमा परेका बच्चाहरू थिए र उनीहरूलाई कता भाग्ने थाहा थिएन। उनीहरू एकदमै डराइरहेका थिए। मलाई लाग्यो मैलै त्याग गर्नै‍पर्छ।"

म्यानमार

तस्बिर स्रोत, EPA

"त्यसपछि ती केटाकेटीहरू मेरो वरिपरि जम्मा भए। उनीहरू भोकाएका, तिर्खाएका र डराएका थिए र उनीहरू घर गएर जोखिम मोल्न चाहँदैन थिए।"

तर सैनिक अधिकारीहरूले त्यस क्षेत्रमा रहेका कूविरोधी प्रदर्शनकारीहरूमाथि निरन्तर गोली प्रहार गरिरहे।

उनले भनिन्, "मलाई लाग्यो संसार नै ढलिरहेको थियो। त्यहाँ गोली चलेको एकदमै आवाज आइरहेको थियो र म चर्चतिर दगुरेँ।"

"मैले मानिसहरूलाई 'तल बस' भनेर चिच्याइरहेकी थिएँ, तर त्यो बेला कसैले पनि मलाई सुनिरहेका थिएनन्।"

अश्रु ग्यास

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, म्यान्मारमा सेनाले सत्ता हातमा लिएयता आन्दोलन चर्किएको छ

सिस्टर एनले प्रयास गरेको भए पनि उनले जे नचिताएको थियो त्यही भयो।

उनी लुकेको ठाउँबाट नजिकै कम्तीमा एक जनाले ज्यान गुमाए।

ती युवक भएको ठाउँमा उनी पुग्दा उनको टाउकोमा चोट लागेको थियो र उनी रगतको आहालमा लडिरहेका थिए।

"म ती घाइते व्यक्तिलाई उठाउन चाहन्थेँ," उनले भनिन्।

"तर म एक्लै त्यस्तो गर्न सक्दिनथेँ। त्यही भएर मैले चिच्याएर अरूलाई 'मलाई मद्दत गर्न आओ' भनेर बोलाएँ।"

त्यही बेला सिस्टर र उनका सहयोगीहरूमाथि अश्रुग्यास प्रहार गरियो।

"मेरा आँखा पोलिरहेको थियो र हामी सबैले गर्मी र रिँगटा लागेको अनुभव गरिरहेको थियो। हामीले शव बोक्न त सक्यौँ तर हामी वरपरका सबैजना केटाकेटी रोइरहेका थिए, " उनी सम्झन्छिन्।

"हामी सबैले धेरै दुःख खेपिसकेका छौँ।"

संयुक्त राष्ट्रसङ्घले प्रहरी अधिकारी र सर्वसाधारणबीच म्यान्मारमा बढेको हिंसाप्रति गहिरो चिन्ता प्रकट गरेको छ।

शनिवार भएका प्रदर्शनका क्रममा १२ जनाको मृत्यु भएको छ।