मङ्गल ग्रहः यूएईको अन्तरिक्षयान होपले पठायो पहिलो तस्बिर

यूएईको अन्तरिक्ष यानले पठाएको मङ्गल ग्रहको पहिलो तस्बिरमा ज्वालामुखीहरू देखिन्छ

तस्बिर स्रोत, UAESA/MBRSC/LASP/EMM-EXI

तस्बिरको क्याप्शन, यूएईको अन्तरिक्षयानले पठाएको मङ्गल ग्रहको पहिलो तस्बिरमा ज्वालामुखीहरू देखिन्छ

यूएईले होप मिशनले मङ्गल ग्रहबाट पहिलो तस्बिर पठाएको छ।

यूएईलाई पृथ्वीको सबैभन्दा नजिक रहेको ग्रहमा कुनै पनि प्रकारको वैज्ञानिक उपस्थिति रहेको पहिलो खाडी मुलुक बनाउँदै सो अन्तरिक्षयान मङ्गलवार सो ग्रहको कक्षमा प्रवेश गरेको थियो।

सो यानले मङ्गल ग्रहका अन्य थुप्रै यस्ता तस्बिरहरू पृथ्वीमा पठाउने बताइएको छ।

होप यानलाई मङ्गल ग्रहको मौसम अध्ययन गर्न बाहिरी कक्षमा राखिएको छ जसले गर्दा त्यहाँबाट खिचिएका तस्बिरहरू पूरै ग्रहका हुनेछन्।

यस्तै तस्बिरहरू पृथ्वीका दूरबिनहरूले पनि खिच्न सक्छन् तर मङ्गल ग्रहको कक्षमा राखिएका अन्य भूउपग्रहहरू नजिकै राखिने भएकाले त्यहाँबाट यस्तो तस्बिर आएका थिएनन्।

यो तस्बिर सो यानको ईएक्सआई उपकरणले गत साता मङ्गलको सतहभन्दा २४,७०० किलोमिटर टाढाबाट लिएको हो।

तस्बिरको माथिल्लो भागको देब्रेतिर मङ्गलको उत्तरी ध्रुव देखिन्छ भने केन्द्रमा बिहानीको किरणबाट निस्कँदै गरेको सौर्य प्रणालीको सबैभन्दा ठूलो ज्वालामुखी ओलम्पस मोन्स देखिन्छ।

ओलम्पस मोन्सको नजिकै अन्य तीन ज्वालामुखीहरू देखिन्छन् ।

यूएईको यानको चित्र

तस्बिर स्रोत, MBRSC

"होपले पठाएको पहिलो तस्बिर हाम्रो इतिहासको महत्त्वपूर्ण घडी हो र यसले यूएईलाई अन्तरिक्ष अन्वेषणमा अन्य विकसित मुलुकहरूसँगै उभ्याएको छ," यो परियोजनाको ट्विटरमा लेखिएको छ।

"हामी यो मिशनले मानवजातिको लागि लाभदायक मङ्गल ग्रहका बारेमा नयाँ कुरा पत्ता लगाउने आशा गर्छौँ।"

यूएईको यानले मङ्गल ग्रहलाई परिक्रमा गर्दा सबैभन्दा नजिक १,००० किलोमिटरको दूरीमा र सबैभन्दा टाढा ५०,००० किलोमिटरको दूरीमा पुग्ने बताइएको छ।

चिनियाँ यान पनि मङ्गलको कक्षमा

यूएईको होप यानले पहिलो तस्बिर खिचेको दिन चिनियाँ यान पनि मङ्गल ग्रहको कक्षमा पुगेको छ।

होपले जस्तै यसले पनि मङ्गलको गुरुत्वाकर्षणबाट बच्ने प्रक्रिया पूरा गर्नुपर्नेछ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, चिनियाँ क्यामाराले पठाएको दृश्यः मङ्गल ग्रह यस्तो देखिन्छ

चिनियाँ यानमा मङ्गलको सतहमा अवतरण गर्ने एउटा रोभर पनि छ।

त्यो यान मे या जुन महिनामा ओराल्ने प्रयास गरिनेछ।

चीनले पनि कक्षमा प्रवेश गर्दा आफ्नो यानले खिचेको तस्बिर सार्वजनिक गरेको छ।

तर त्यो तस्बिर होपको जस्तो राम्रो क्यामराबाट नभई वैज्ञानिकहरूले यानको अध्ययन गर्न राखेको सानो क्यामराबाट खिचिएको हो।

माथिको भिडिओमा यानको भाग धेरै देखिएपनि मङ्गल ग्रह पनि देखिन्छ।