नेकपा विवाद: ओलीपक्षका पूर्वमाओवादीले के ‘जबज’ स्वीकारेका हुन्

नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजनको डिलमा थियो। प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्ष दुवै नेता-कार्यकर्ता तान्ने प्रयासमा देखिन्थे।

पूर्वएमालेका उच्च नेताहरू प्रचण्डपक्षमा लागेका बेला ओलीपक्ष पूर्वमाओवादीको साथ खोजिरहेको बताइँदै गर्दा प्रधानमन्त्रीनिकट नेता महेश बस्नेत जनकपुरमा थिए।

त्यहाँ उनी सहभागी ओलीपक्षीय कार्यक्रममा पूर्वमाओवादीले स्वीकार नगरेको देखिएको 'जनताको बहुदलीय जनवाद' जबज लेखेको ब्यानर थियो।

उनी पोखरा गए, त्यहाँको कार्यक्रममा पनि उस्तै ब्यानर थियो। त्यसैले कतिपय पूर्व माओवादीले उक्त ब्यानर परिवर्तन गर्नुपर्ने माग समेत गरे।

जबज नमानेर सूर्य खोज्ने?

बस्नेतले उनीहरूलाई दिएको जवाफ सम्झिँदै बीबीसीसँग भने, "हत्याहिंसा अथवा सशस्त्र युद्धबाट क्रान्ति गर्ने र सत्ता परिवर्तन गर्ने वैचारिक मान्यतामा अगाडि बढेको प्रचण्डलगायत पूर्वमाओवादीको धार नेपालको लोकतान्त्रिक धारमा परिणत भएको र जबज नभने पनि जनताको जनवाद भन्दै मूलभूत रूपमा त्यही सारतत्वलाई स्वीकार गरेर वैचारिक रूपान्तरण भएको ढङ्गले मैले व्याख्या गरेको थिएँ।"

दुई पार्टी एक भएपछि बीचको बाटो रोज्दै 'जनताको जनवाद' स्वीकार गरिएको थियो।

नेकपामा विवाद चर्किएका बेला प्रचण्डको माग सम्बोधन गर्न प्रधानमन्त्री पक्षबाट जबज स्वीकार गर्नुपर्ने सर्त राखिएको तर प्रचण्डले नमानेका खबर आएका थिए।

त्यसले पूर्वमाओवादी जबजलाई सम्पूर्ण रूपमा स्वीकार गर्न नचाहेको देखिन्छ।

तर बस्नेत भन्छन्, "पूर्वमाओवादीको एमालेकरण, लोकतान्त्रीकरण वा जनताको बहुदलीय जनवादीकरण भइसक्यो। त्यसो नभएको भए प्रचण्डले सूर्य चिन्ह दाबी गर्नुहुने थिएन।"

"उहाँहरू कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिक रूपान्तरणको प्रक्रियामा सहभागी भइसक्नु भयो र प्रचण्डपथ छोडेर जबजको सारतत्वमा प्रवेश हुनुभयो, जनताको जनवाद त्यही हो।"

'विरासतप्रतिको आकर्षण स्वाभाविक'

प्रधानमन्त्रीलाई साथ दिने पूर्वमाओवादी नेताहरूमा मणि थापा एक हुन्।

मन्त्री समेत बनाइएका थापा पनि 'जनताको जनवादको अन्तर्वस्तुमा जबजका प्रमुख विशेषताहरू समेटिएको' बताउँछन्।

उनका अनुसार केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री ओली र नेता रामबहादुर थापाले जनताको जनवाद नै पार्टीको कार्यक्रम भएको बताएका थिए।

पूर्वएमालेका नेताहरूले जबजमा जोड दिइरहनुलाई उनले आ-आफ्नो पार्टीको पुरानो विरासतप्रति आकर्षणको रूपमा अर्थ्याए।

जबजलाई थप उन्नत गरेर जाने भनेर जनताको जनवाद अङ्गीकार गरिएको उनको बुझाइ छ।

मन्त्री थापा भन्छन्, "महाधिवेशनसम्म यस्तो कुराहरू उठ्नु अनौठो होइन।"

दुवै पक्षले महाधिवेशनबाट छिनोफानो गर्ने बताउँदै आएका छन्।

प्रधानमन्त्रीनिकट केन्द्रीय सदस्य बस्नेतका भनाइमा जनताको बहुदलीय जनवाद लेख्नुपर्ने ठूलो दबाव छ।

उनी भन्छन्, "त्यसैले महाधिवेशनमा जबज आत्मसात् गरेर जान्छ जस्तो लाग्छ।"

पार्टीको नेतृत्व एक ठाउँमा हुँदा पनि ओलीपक्षले देशव्यापी रूपमा जबजलाई ब्युँताउन कार्यक्रम गरेको भनेर खासगरी प्रचण्डपक्षबाट विरोध हुँदै आएको थियो।

पूर्वएमाले पक्षले जबजले नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिक र स्वीकार्य बनाएको ठान्छन् भने कतिपय पूर्व माओवादीले त्यसका कतिपय विषयले कम्युनिस्टलाई पुँजीवादी दल बनाएको विश्वास गर्छन्।