नेपाल संसद् विघटनः संसद् सचिवालय भन्छ, 'अविश्वास प्रस्ताव बिहान होइन, दिउँसो दर्ता'

तस्बिर स्रोत, parliment of nepal
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सत्ताधारी नेकपाका ८९ जना सांसदहरूले आइतवार संसद् सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका छन्।
संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार ती सांसदहरूले आइतवार दिउँसो साढे तीनबजे सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए।
बीबीसीसँग उनले भने, "आज दिउँसो साढे तीन बजे सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको छ।"
यद्यपि संसद्मा दर्ता भएको भनी सार्वजनिक गरिएको अविश्वास प्रस्तावको पत्रमा भने समय आइतवार बिहान १०:५० बजे लेखिएको छ।
उक्त प्रस्ताव दर्ता गराउने मध्येकी एक सांसद पम्फा भुसालले चाहिँ आफूहरूले आइतवार बिहानै उक्त प्रस्ताव दर्ता गराएको बीबीसीलाई बताइन्।
उनले भनिन्, "त्यो निवेदनमा नै हेर्नुभए हुन्छ हामीले बिहानै दर्ता गराएका हौँ।"
आइतवार नै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन्।
संसद्को हिउँदे अधिवेशन बस्न बाँकी नै थियो।

तस्बिर स्रोत, RSS
राष्ट्रपति कार्यालयले आइतवार दिउँसो २:२१ बजे विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको थियो।
प्रतिनिधिसभा विघटन भएपछि त्यसप्रति असन्तुष्टि व्यक्त गर्दै केपी ओली नेतृत्वको सरकारका सातजना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्।
हरूले सिंहदरबारमा सामूहिक पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन्।
राजीनामा घोषणा गर्नेक्रममा मन्त्रीहरूले केपी ओलीको कदम जनभावनाविपरीत भएको आरोप लगाए।








