खोपले कसरी विश्वलाई परिवर्तन गर्न सघाए

खोप

तस्बिर स्रोत, Reuters

एउटा ठूलो रोगको प्रकोप कति धेरै घातक र अस्थिरताको कारक बन्न सक्छ भन्ने कोरोनाभाइरस महामारीले अनुभव गराएको छ।

आउँदै गरेका खोपका माझ यतिखेर मानिसहरूको एउटै आशा छिट्टै सामान्य जनजीवनमा फर्कने छ।

तर खोपको सहायताले सामना गरिएको यो पहिलो रोग होइन।

यहाँ हामीले मानिसहरूको जीवनलाई रूपान्तरण गरेका केही खोप कार्यक्रमहरूलाई फर्केर हेरेका छौँ।

बिफर

खोप अभियानको अहिलेसम्मकै ठूलो शत्रु बिफर हो तर यो सबैभन्दा ठूलो सफलताको कथा पनि बन्यो।

बीसौँ शताब्दीमा मात्र यस रोगले ३० करोड मानिसहरूको ज्यान लिएको थियो।

र त्यसअघि समेत दशौँ लाखमा मानिसहरूले यसका कारण ज्यान गुमाएको विश्वास गरिन्छ।

निकै सङ्क्रामक बिफरको भाइरसको हमलामा पर्ने झण्डै ३० प्रतिशतले ज्यान गुमाएका थिए।

यसले धेरैजसो शरीरभर पीडा दिने गिर्खाहरू उत्पन्न गराउँथ्यो।

बिफर

तस्बिर स्रोत, Getty Images

बाँचेकामध्ये पनि धेरै दृष्टिविहीन वा अन्य शारीरिक समस्याबाट ग्रस्त हुन पुगे।

त्यसअघि चीन, भारत, अफ्रिकादेखि टर्की हुँदै ब्रिटेनसम्म नवौँ शताब्दीदेखि चलिआएका विभिन्न परम्परागत उपायहरू यस रोगको निदानका लागि प्रयोग हुन्थे।

ब्रिटेनमा सन् १७९६ मा एडवर्ड जेनरले यसको खोप विकास गरेका थिए।

एडवर्ड जेनरले एकजना बालकलाई जबरजस्ती सङ्क्रमित पारेर आफ्नो खोपले काम गर्ने/नगर्ने जाँचेका थिए।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एडवर्ड जेनरले एकजना बालकलाई जबरजस्ती सङ्क्रमित पारेर आफ्नो खोपको परीक्षण गरेका थिए

परम्परागत उपायभन्दा उक्त खोप निकै प्रभावकारी रहे पनि त्यसको प्रगतिदर निकै सुस्त थियो।

सन् १९६७ मा व्यापक खोप कार्यक्रम सुरु गरिएपछि मात्र यो रोग नियन्त्रणमा आएको थियो।

यो रोगको भाइरस यतिखेर रुस र अमेरिकाको निकै सुरक्षित प्रयोगशालामा मात्र बाँकी छ।

पोलियो

यस रोगले ज्यान लिने मानिसहरूको सङ्ख्या केही कम भएको भए पनि बाँच्नेहरूका हकमा यो रोग बिफरको तुलनामा बढी क्रूर हो।

खासगरी कलिला बालबालिकामा प्रभाव पार्ने यसको भाइरस मुखमार्फत् शरीरमा प्रवेश गर्छ र रगतमार्फत् अन्तिममा स्नायु प्रणालीमा हमला गर्छ।

दुई सयमध्ये एक घटनाका हकमा यसले निको नहुने पक्षघात सिर्जना गर्छ।

श्वासप्रश्वासको मांसपेशीले काम नगर्दा पक्षघात सामना गर्ने १० जनामध्ये एकजनाको मृत्यु हुनेगर्छ।

फलामे फोक्सोको रूपमा विकास गरिएको उपकरण

तस्बिर स्रोत, Getty Images

सख्त प्रभावित हुने मानिसहरूका लागि धेरै गर्न सकिने भनेको उसलाई श्वासप्रश्वासमा सघाउन सन् १९२० को दशकमा विकास गरिएको शरीर ढाक्ने फलामे उपकरणमा राख्नु हुन्थ्यो।

रोग लागेका धेरैले फलामे फोक्सोको रूपमा विकास गरिएको उक्त उपकरणमा कयौँ साता बिताउँथे।

तर केहीले भने हलचल गर्न नसकीकन बाँकी जीवन नै त्यसरी काट्नुपर्थ्यो।

बिफरजस्तो शरीरबाहिर कुनै लक्षण नदेखिने भएकाले समेत यो सङ्क्रामक रोग हो भन्ने थाहा पाउने काम सन् १९०५ मा भएको थियो।

पोलियो

तस्बिर स्रोत, Getty Images

खासगरी स्वच्छ पानीको व्यवस्था नभएका गरीब देशहरूमा धेरै सङ्ख्यामा बालबालिकाहरूमा यस रोगले पक्षघात निम्त्याएको थियो।

तर सन् १९५२ मा अमेरिकी चिकित्सक जोनस सल्कले यसको पहिलो खोप विकास गरे।

त्यसलाई सन् १९६१ मा अल्बर्ट सबिनले परिस्कृत संस्करण निकालेर सुईबाट नभई मुखबाटै लिन सकिने गराए।

तर अमेरिकाको औषधि इतिहासकै एउटा खराब गल्तीका कारण एक लाखभन्दा धेरै मात्रामा जीवित पोलियो भाइरस रहँदा १६० जना बालबालिकाहरूमा पूर्णरूपमा पक्षघात देखियो भने १० जनाले ज्यान गुमाए।

तर यस रोगविरुद्ध अभियान रोकिएन। र पछि विश्व स्वास्थ्य सङ्गठनले यसलाई आफ्ना ठूला खोप कार्यक्रममार्फत् संसारभर वितरण गर्यो।

अहिले वार्षिक केही दर्जन घटना देखिने पोलियो प्राकृतिक रूपमा अफगानिस्तान र पाकिस्तानमा मात्र छ।

पोलियो

तस्बिर स्रोत, Reuters

दादुरा

दादुरा एउटा सफलताको कथा भए पनि खोप अभियानको एउटा असफलताको कथा हो।

पछिल्ला वर्षमा अफ्रिकामा फैलिएको इबोला प्रकोपले विश्वव्यापी चासो सिर्जना गर्दा त्यसबाट ज्यान गुमाउनेहरू २० हजारभन्दा कमको सङ्ख्यामा थिए।

तर दादुराले बर्सेनि झण्डै १ लाख ४० हजारको ज्यान लिइरहेको छ।

त्यस्तो मृत्युको सङ्ख्या सन् १९६३ यता खोप उपलब्ध हुँदाहुँदै पनि देखिएको हो।

दादुरा

तस्बिर स्रोत, Getty Images

यो निकै सङ्क्रामक भाइरस खोकी वा प्रत्यक्ष संशर्गका बेला फैलने गर्छ र त्यसले ज्वरोका साथै शरीरमा डाम उत्पन्न गराउँछ।

त्यसको जटिलताले झाडापखला, निमोनिया र मस्तिष्क सुन्निने अवस्थाको सिर्जना गराइ मृत्युसम्म गराउँछ।

खोपको विकासले बर्सेनि हुने २६ लाख सङ्ख्याको मृत्युदरलाई निकै घटाएको थियो।

तर यो यति धेरै सङ्क्रामक थियो कि ९५ प्रतिसतभन्दा थोरै मानिसहरूलाई खोप लगाइएको ठाउँमा यो फैलिइहाल्थ्यो।

त्यसैले खोप हुँदाहुँदै पनि धेरै ठाउँमा यस रोगको सङ्कट उच्च थियो। विकसित देशमा मृत्युदर कम भए पनि बाँकी भागमा भने त्यसको खराब अवस्था पाइएको थियो।

खोपको विकासले दादुराबाट वर्षेनी हुने २६ लाख सङ्ख्याको मृत्युदरलाई निकै घटाएको थियो।

तस्बिर स्रोत, Reuters

सन् २०१९ को सुरुदेखि यो वर्षको गर्मीयामसम्म प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा दादुराको विश्वकै खराब सङ्कट देखिँदा त्यहाँ ७ हजारभन्दा बढी बालबालिकाले ज्यान गुमाएका थिए।

मलेरिया

आजका दिनमा विश्वको झण्डै आधा जनसङ्ख्या मलेरिया परजीवीको जोखिममा छ।

लामखुट्टेबाट फैलने यस रोगले बर्सेनि झण्डै चार लाख मानिसहरूको ज्यान लिने गर्छ।

अहिलेसम्म मलेरियाको कुनै खोप नभएपनि ३२ वर्षको अध्ययन र ७० करोड डलर खर्चिएपछि एउटा खोप आउने क्रममा छ।

तस्बिर स्रोत, Getty Images

ऐतिहासिक समयदेखि नै यस रोगले मानिसहरूलाई असर गर्ने गरेको छ र यसको योगदान मानवजातिको विकासक्रमसँग समेत जोडिने गर्छ।

अहिले यस रोगबाट हुने ९५ प्रतिशत मृत्यु अफ्रिकामा हुन्छ।

झुल लगाउने वा सङ्क्रमणबाट बच्न औषधि सेवन गर्नेजस्ता अन्य थुप्रै उपाय भए पनि यसबीच लामखुट्टे र परजीवी दुवै ती उपायसँग जुध्न सक्ने भइदिएका छन्।

अहिलेसम्म त्यसको कुनै खोप नभएपनि ३२ वर्षको अध्ययन र ७० करोड डलर खर्चिएपछि एउटा खोप आउने क्रममा छ।

मलेरिया

तस्बिर स्रोत, Getty Images

परीक्षणका क्रममा त्यो ४० प्रतिशत प्रभावकारी देखिएको छ र त्यसले चार वर्षसम्म रोगबाट बचाउनेछ।

त्यस्तो विवरण अन्य मुख्य खोपका तुलनामा निकै कमजोर दरको हो।

त्यसमाथि यो निदान पूरा हुन चार मात्रा लगाउनु पर्नेछ।

यस्तो भए पनि चिकित्सकहरू खोप कार्यक्रमबाट आशावादी छन् जुन मलावी, घाना र केन्यामा सन् २०२३ सम्मका लागि जारी छ।