इराक-अफगानिस्तानबाट सेना फिर्ता गर्ने निर्णयमा रिपब्लिकनहरूकै चेतावनी

तस्बिर स्रोत, GETTY IMAGES
वरिष्ठ रिपब्लिकनहरूले अफगानिस्तान र इराकबाट सेना फिर्ता गर्ने अमेरिकी योजनाप्रति सचेत गराएका छन्।
अमेरिकाले ती दुई देशमा रहेका आफ्ना सेनाको सङ्ख्या घटाएर दुई हजार पाँच सयमा सीमित गर्न गइरहेको रक्षा मन्त्रालयले पुष्टि गरेको छ।
राष्ट्रपति ट्रम्पले लामो समयदेखि सेनालाई फिर्ता ल्याउनुपर्ने आह्वान गर्दै आएका छन्।
उनले अमेरिकी सैन्य हस्तक्षेप खर्चिलो र प्रभावहीन भएको बताउने गरेका छन्।
चेतावनी
तर आमरूपमा ट्रम्पका कट्टर रक्षकका रूपमा प्रस्तुत हुने सिनेटका प्रमुख नेता मिच मक्नेलले उक्त योजनालाई "एउटा गल्ती" भनेका छन्।
उनले राष्ट्रपतिलाई पद छाड्नुअघि रक्षा र विदेश नीतिका सम्बन्धमा "भूकम्प निम्त्याउने खालका परिवर्तन" नगर्न चेतावनी दिएका छन्।
राष्ट्रपति ट्रम्पले अझै पनि डेमोक्र्याटिक जो बाइडनको जितलाई स्वीकार्न बाँकी छ।
उक्त कटौती जो बाइडन ह्वाइट हाउस प्रवेश गर्नु पाँच दिनअघि आगामी ज्यानुअरीमा हुने तय भएको छ।
मक्नेलसहित अन्य कैयौँ वरिष्ठ रिपब्लिकनले पनि सेना फिर्तीबारे चासो व्यक्त गरेका छन्। उनीहरूमध्ये केहीले त्यसो गर्नु गल्ती हुने बताएका छन्।
अमेरिकी नेतृत्वको फौजले सन् २००३ मा इराक कब्जा गरेको थियो र राष्ट्रपति सद्दाम हुसैनलाई हटाएको थियो।
उक्त सेनाले नरसंहार गर्ने अस्त्र नष्ट गरेको बताइएको थियो तर पछि त्यस्तो हतियार अस्तित्वमा नरहेको खुलासा भएको थियो।
अफगानिस्तानमा भने सन् २००१ देखि अमेरिकी फौज तैनाथ छ।
सन् २००१ सेप्टेम्बर ११ मा अल-कायदाद्वारा अमेरिकामा गरिएको हमलाको केही सातापश्चात् अमेरिकी नेतृत्वको संयुक्त सेनाले अफगानिस्तानबाट तालिबान सत्ता अन्त्य गरिदिएको थियो।
त्यसबेला अफगानिस्तान अल-कायदाको आधार क्षेत्रको रूपमा रहेको थियो।
तालिबान पुन: सङ्गठित भयो र सन् २०१८ देखि देशको दुई तिहाइ भागमा सक्रिय रहेको छ।
अमेरिकाले यसै वर्षको सुरुदेखि तालिबानसँगको शान्ति सम्झौता अनुसार आफ्ना सेना फिर्ता गर्न थालेको थियो।









