सिङ्गापुर: आफूले पढ्न बनाएका ‘नोट’ बेचेर व्यवसाय सुरु गर्ने युवा

इउजीन चेओ

तस्बिर स्रोत, Eugene Cheow

तस्बिरको क्याप्शन, इउजीन चेओ सिङ्गापुरका विद्यार्थी हुन्
    • Author, पाब्लो उचोआ
    • Role, बीबीसी विश्व सेवा

इउजीन चेओ हल्का ठट्टा गर्दै मुस्कुराउँछन्, “म सम्पूर्ण पाठ्यक्रमलाई मेरो दिमागको नक्सामा राखिदिन सक्छु।”

उनी थप्छन्, “म पौडन मन पराउँछु र मलाई वर्ल्ड ट्रेड सेन्टरमा गएर कफी पिउन पनि मन लाग्छ।”

लन्डनबाट मैले सम्पर्क गर्दा सिङ्गापुर म्यानेजमेन्ट युनिभर्सिटीका यी २४ वर्षीय वाणिज्य सङ्कायका विद्यार्थीले आफ्ना आमाबुबाको घरबाट एक घण्टा लामो कुराकानीमा सुनाएको अनुभव हो यो।

दक्षिणपूर्वी एशियाको न्यानो पानीदेखि मेक्सिको सिटीको घना मानबस्तीसँग जोडिएका सिकाइ, व्यवसाय, स्रोत सम्पन्नता र जीवनका भोगाइहरूका बारेमा हामीले कुराकानी गर्‍यौँ।

तर सबैभन्दा पहिला चेओले नाम कमाएको सन्दर्भको चर्चा गरौँ।

हालै सिङ्गापुरमा घरजग्गा कारोबारको एजेन्ट बन्न उत्तीर्ण हुन पास गर्नुपर्ने दुईवटा परीक्षा पास गरेपछि उनले ‘दिमागी नक्सा’ भन्ने आफ्ना नोटहरूलाई अनलाइन बिक्रीमा राखे।

आफ्नो सफलतापछि यस्तो प्रयास गर्ने चेओ एक्ला थिएनन् तर उनको शिक्षण सामग्रीले अप्रत्याशित रूपमा बजार पिट्यो।

हालसम्म उनले १५०० वटा नोटहरू बिक्री गरेका छन् र कतिपय अवस्थामा एक हप्तामा नै एक हजार डलरभन्दा बढ्ता आम्दानी गरेका छन्।

उनले आफ्ना अध्ययन सामग्रीलाई व्यवसायमा रूपान्तरण गरेका छन्।

सिङ्गापुर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, घरजग्गासम्बन्धी एजेन्ट बन्न सिङ्गापुरमा कडा मेहनत गर्नुपर्छ

उच्च मापदण्ड

घरजग्गा कारोबारसम्बन्धी एजेण्ट बन्नका लागि सिङ्गगापुरमा ६० घण्टा लामो कोर्स गर्नुपर्छ र आरईएस भनिने दुई वटा खण्ड भएको परीक्षा दिनुपर्छ।

चेओले भन्छन्, “यो एउटा सरल प्रकिया होइन। तपाईँलाई थाहा नै छ सिङ्गापुरमा नियमहरू कडा छन्। मलाई लाग्यो द्रुत र तत्काल अध्ययन गर्न सकिने विधिको माग उच्च रहेको छ।“

शुल्क तिरेर प्रयोगकर्ताहरूले चेओले अध्ययन उत्तीर्ण गर्न प्रयोग गरेका १६ वटा नोटहरू डाउनलोड गर्न सक्नेछन्।

माइन्ड म्याप्स भनिएका ती अध्ययन सामग्रीहरूले विभिन्न अवधारणा र विचारलाई दिमागमा चित्र जसरी उतार्ने र उनीहरू कसरी एकअर्कासँग अन्तरसम्बन्धित छन् भन्ने बुझ्न मद्दत गर्ने भनिएको छ।

सिङ्गापुर

तस्बिर स्रोत, Eugene Cheow

तस्बिरको क्याप्शन, माइन्ड म्याप्स भनिएका ती अध्ययन सामाग्रीहरू उनले बेच्ने गरेका छन्

ती नोटहरूमा कानूनी, व्यापारिक अवधारणा र गणितका सूत्रहरू, टेबल र पाठ्यक्रमका अन्य विषयहरू सामेल छन्।

चेओ आफ्ना नोटहरूले अध्ययनलाई आफूसँग जोड्ने बताउँछन्।

उनले अध्यापन र मैखिक बाहेकको आफ्नो सञ्चारको क्षमता लामो समयदेखिको आफ्नो पानीमुनि पौडने स्कूबा डाइभिङबाट सिकेको बताए।

उनले १४ वर्षको उमेरदेखि स्कूबा डाइभ गरिरहेको भन्दै तीन वर्षअघि आफू स्कूबाको प्रशिक्षक पनि बनेको उल्लेख गरे।

चेओले टोलीहरूलाई समुद्रको सुन्दरता देखाउने क्रममा स्कूबा डाइभिङका लागि फिलिपिन्स, इन्डोनेसिया र मलेसिया लैजाने गरेका छन्।

सिङ्गापुर

तस्बिर स्रोत, Eugene Cheow

तस्बिरको क्याप्शन, उनी स्कूबा डाइभिङ पनि गर्छन्

“डाइभिङ प्रशिक्षकका हिसाबले तपाईँले महसुस गर्नुहुन्छ कि भाषा महत्वपूर्ण छ तर सञ्चारका लागि अनिवार्य छैन,“ उनले भने।

“पानीमुनि तपाईँ बोल्नसक्नु हुन्न। तपाईँ हेल्लो वा मेरो मास्क चुहिरहेको छ भन्न सक्नुहुन्न। सबैकुरा अनुहारको अभिव्यक्ति र हातको सङ्केतहरूमा निर्भर हुन्छ।”

चेओले स्कूबाले विश्वभरबाट आएका फरक संस्कृति भएका मानिसहरूसँग जोडिने विशिष्ट क्षमता आफूमा विकास गरिदिएको बताए।

त्यसबाहेक घरभित्रै र शिक्षा दिक्षामा मात्रै सीमित आफूलाई त्यसले साहसिक कार्यको स्वाद चखाएको पनि उनले बताए।

सिङ्गापुर

तस्बिर स्रोत, Eugene Cheow

मानवीय सम्बन्ध

चेओले मेक्सिको सिटीमा अवस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको सिङ्गापुरको एउटा बुहुराष्ट्रिय मानवस्रोत कम्पनीको कफी घरसँग जोडिएको कथाको पनि सम्झना गरे।

व्यवसाय सङ्काय अध्ययन गर्ने जो कोहीको पनि अध्ययनका क्रममा गरिने बाह्य भ्रमणका क्रममा वर्ल्ड ट्रेड सेन्टरको टावर पुग्ने धोको हुने उल्लेख गर्दै उनले आफूलाई पनि उत्कट चाहना रहेको उल्लेख गरे।

अघिल्लो वर्ष उनी मेक्सिकोको राजधानीबाट दक्षिणपूर्वमा रहेको पूएब्ला शहरमा व्यापारिक भ्रमणमा गरेका थिए। उनले उक्त शहरलाई सुन्दर र आकर्षक भन्दै मेक्सिकोका मानिसहरू एकदमै मिलनसार भएको बताए।

तर जब उनी भेटघाटको लागि समय नै नलिइ वर्ल्ड ट्रेड सेन्टर पुगे, भवनको २७ औँ तलासम्म गफ गर्दै उनी पुग्न सके। त्यसबेला उनलाई उक्त सेन्टरको भ्रमण गर्ने आफ्नो सपना पुन: सम्झना भयो।

त्यहाँका क्युबेली व्यवस्थापक सुरुमा आश्चर्यमा परे पनि उनले सिङ्गापुरको शिक्षा प्रणालीबारे सुन्ने इच्छा राखे।

मेक्सिको छोड्नुअघि चेओ पुन: धन्यवाद दिन वर्ल्ड ट्रेड सेन्टर गए जहाँ उनलाई क्युबाली व्यवस्थापन र उनको टोलीले एउटा रमको बोटलले स्वागत गरे।

मानवस्रोतसम्बन्धी विज्ञहरूले उनको व्यक्तित्वको परीक्षण गरे जसमा चेओले सञ्चारमा उच्च नतिजा ल्याए।

सिङ्गापुर

तस्बिर स्रोत, Eugene Cheow

सफलता

चेओको कम्पनी आरईएस ट्युटरले सिङ्गापुरमा विद्यार्थीहरूलाई आरईएसको परीक्षा उत्तीर्ण गर्न र घर जग्गा बिक्री गर्ने एजेन्ट बन्न योग्य बन्न मद्दत गरिरहेको छ।

उनी आफ्नो व्यवसायलाई सूचना प्रविधिद्वारा प्रमाणिकृत हुने दिशामा लैजान पनि चाहन्छन् तर आफ्नो व्यवसायको ढाँचा सफल होस भन्नका लागि नापीतौली निर्णय लिन इच्छुक छन्।

उपभोक्ताहरूले सीमित जानकारीको लागि ८० सिङ्गापुर डलर तिरिरहेका भन्दै उनले उपभोक्तालाई आफूले दिइरहेको वस्तु मुल्यवान् हुने सुनिश्चित गर्नुपर्ने बताए।

चेओलाई अब घरजग्गा बिक्री एजेन्ट बन्ने इच्छा पनि छैन।

उनी आवश्यक पर्दा कामको केही भार आफूले लिइदिएर ३० वर्षभन्दा बढी समयदेखि उक्त व्यवसायमा रहेकी आफ्नी आमालाई भने मद्दत गर्न चाहन्छन्।

कोभिड महामारी सुरु हुनुअघि एउटा महङ्गो रिजोर्टमा इन्टर्नशीप गर्ने तय भए पनि अब आफू केही समयलाई आरईएस ट्यूटरमै केन्द्रित हुन चाहेको उनी बताउँछन्।

“मेरा ग्राहकहरू छैनन्। यो कारोबार होइन। म सम्बन्धहरू बनाउन चाहन्छु,” उनले भने।

“जब उनीहरूले परीक्षा लिन्छन् र त्यसको नतिजा मलाई सुनाउँछन् म ज्यादै खुसी हुन्छु किनभने वास्तवमा मेरा नोटहरूले उनीहरूलाई मद्दत गरेको भनिरहेका हुन्छन्।”