कोरोना भाइरस आर्जेन्टिनाः विश्वै सबैभन्दा लामो लकडाउनमा जनजीवन कसरी चलिरहेको छ?

तस्बिर स्रोत, Getty Images
आर्जेन्टिनामाकोभिड-१९ नियन्त्रणका लागि सुरु भएको अन्तहीन क्वारन्टीनलाई केही व्यक्तिहरूले “क्वारेन्टर्नल” को सङ्ज्ञा दिएका छन्।
देशमा पाँच महिनादेखि निरन्तर जारी कडा लकडाउनबारे मानिसहरूले के सोच्छन् भन्ने कुराको यो एउटा मापन हो। त्यहाँ विश्वकै सबैभन्दा लामो लकडाउन भएको मानिएको छ।
तर गत मार्च २० तारिखदेखि चालिएका कदमहरूले पारेका आर्थिक, सामाजिक र मनोवैज्ञानिक प्रभावलाई कसैले पनि हलुका रूपमा लिएको छैन।
लकडाउनले मुख्यतः आर्जेन्टिनाको आर्थिक केन्द्र ब्वेनस आईरीज महानगर क्षेत्र (एएमबीए) मा असर पारेको छ। त्यहाँ देशको करिब ४० प्रतिशत जनसङ्ख्या छ र कोरोनाभाइरसको एकदमै नराम्रो असर परेको छ।
अगस्ट २७ तारिखसम्मको तथ्याङ्कलाई हेर्दा ३,८०,००० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

तस्बिर स्रोत, Getty Images
त्यो भनेको धेरै सङ्क्रमण भएका विश्वका १५ मुलुकको सूचीमा यो देश पनि पर्छ।
कोरोनाभाइरसबाट झन्डै ८,००० जनाको ज्यान गइसकेको छ जुन सङ्ख्या छिमेकी देशहरू ब्रजिल र चिले, कोलम्बिया तथा अन्य युरोपेली मुलुकमा भन्दा एकदमै कम हो।
उदाहरणका लागि इटलीले तीन महिना लकडाउन गर्दा आर्जेन्टिनाको तुलनामा त्यस अवधिमा त्यहाँ कम सङ्क्रमित देखिए तर मृत्यु चाहिँ धेरै भयो।
आर्जेन्टिनाले आफूलाई एशियाली मुलुक फिलिपिन्ससँग मात्र तुलना गर्ने गरेको छ।
फिलिपिन्सले चार महिनासम्म लकडाउन गर्यो जहाँ दुई लाख जनामा सङ्क्रमण देखिएको छ भने ३,२०० जनाको ज्यान गएको छ।
लकडाउनसम्बन्धी आर्जेन्टिनाका नियमहरू कडा छन्।
एएमबीए क्षेत्रका बासिन्दाहरूलाई खानेकुरा र अन्य अत्यावश्यक सामान किन्न जान तथा नजिकका सेवा लिनलाई मात्र निस्किन पाउने अनुमति छ।
फुर्सदको समय बिताउन बाहिर निस्किन वयस्कहरूलाई रोक छ।

तस्बिर स्रोत, Getty Images
अत्यावश्यक सेवाका कर्मचारी अथवा विशेष अनुमति लिएकाबाहेक अरूले सार्वजनिक यातायात प्रयोग गर्न पाएका छैनन्।
अनुमनिविना कसैले कार चलाएको पाइयो भने तिनीहरूको चालक अनुमतिपत्र निलम्बनमा पर्ने जोखिम हुन्छ।
गत जुन महिनादेखि मात्रै दौडिन पाउने अनुमति दिइएको छ त्यो पनि निश्चित समयमा राजधानीका बासिन्दालाई मात्रै।
अतिप्रभावित समूहमा बालबालिका पनि पर्छन्: मार्च महिनादेखि सरकारले एएमबीए क्षेत्रमा बस्ने बालबालिकालाई उनीहरूका आमाबुवा किनमेल गर्न जाँदा मात्रै सँगै जान पाउने अनुमति छ।
राजनीतिक विभाजन
आर्जेन्टिनाका अधिकारीहरूका अनुसार प्रतिबन्धात्मक कदमहरूले कोभिड-१९ बाट हुन सक्ने हजारौँ मृत्युलाई पन्छाएका छन्।
अहिले पुष्टि भएका सङ्क्रमणमध्ये झन्डै ९० प्रतिशत त एएमबीए क्षेत्रमै रहेको अधिकारीहरू बताउँछन्।
आर्जेन्टिनामा मृत्युदर प्रत्येक एक लाखमा १३.६ प्रतिशत छ। यो दर ल्याटिन अमेरिकाका अन्य मुलुक र बाँकी विश्वभन्दा कम हो।

तस्बिर स्रोत, Getty Images
त्यसबाहेक कतिपय क्षेत्रमा वर्तमान अवस्थामा स्रोतसाधन एकदम सीमित भए पनि यो देशले स्वास्थ्य प्रणालीलाई भताभुङ्ग हुनबाट जोगाएको छ।
यद्यपि कतिपय मानिसहरूलाई के लाग्छ भने कडा लकडाउन गरिनुको उद्देश्य हासिल भइसकेकोले अब त्यसलाई हटाउनुपर्छ।
कतिपय मानिसहरूले सरकारी आदेश मान्न छाडेको देखिन्छ र ठूला सहरका सडकहरूमा मानिसहरू देखिन थालेका छन्।
पागिना १२ नामक पत्रिकामा अगस्ट ३ मा प्रकाशित एउटा मतसर्वेक्षणका अनुसार प्रत्येक १० मध्ये आठ जनाले भाइरस फैलिनबाट रोक्न लकडाउन सफल भएको बताएका थिए।
करिब ७० प्रतिशत मानिसहरूले लकडाउनका नियमहरूलाई खुकुलो बनाउनुपर्ने पक्षमा मत व्यक्त गरेको पाइयो।
अहिलेको लकडाउन अगस्ट ३० सम्मका लागि कायम छ। यद्यपि लकडाउनको पालना नगरिँदा सङ्क्रमणमा वृद्धि भएको छ।
आरोप-प्रत्यारोप
सरकार र उसका आलोचकहरूले सङ्क्रमितको सङ्ख्या बढ्न थाल्नुमा एकअर्कामाथि आरोप लगाउने गरेका छन्।
लकडाउनको उल्लङ्घन गर्नेहरू त्यसका लागि जिम्मेवार भएको अधिकारीहरूको दाबी छ।

तस्बिर स्रोत, Getty Images
अर्कोतर्फ लगातार महिनौँसम्म लकडाउनका नियम पालना गर्न असम्भव भएकोले सरकारी रणनीति विफल भएको आलोचकहरूको ठम्याइ छ।
आर्थिक क्षति
हुन त लकडाउनका कारण देशको अर्थतन्त्रमा कति क्षति पुगेको छ भन्ने निर्क्योल गर्न कठिन छ। तर सत्य के हो भने आर्जेन्टिनाले सन् २००१-२००२ को चरम आर्थिक सङ्कटयताकै सबैभन्दा ठूलो गिरावट झेलिरहेको छ।
कोरोनाभाइरस महामारीअघि दोस्रो वर्ष आर्थिक मन्दीबाट यो देश गुज्रिरहेको थियो।
अहिले लकडाउनका कारण अत्यावश्यक बाहेकका हजारौँ व्यवसाय बन्द भएका छन्।
दशौँ हजार मानिसले जागिर गुमाएका छन् र लकडाउनपछि पुनः जागिर पाउने वा नपाउने कुराको टुङ्गो छैन।

तस्बिर स्रोत, Getty Images
ख्यातिप्राप्त आर्जेन्टिनी न्यूरो वैज्ञानिक फाकुन्डो मानेसद्वारा स्थापित इनेको फाउन्डेशनका अनुसार महामारीअघिको तुलनामा पाँचगुनाले बढीमा डिप्रेसनको समस्या बढेको छ।
“हामीले मानसिक बिमारीको महामारी देखिरहेका छौँ,” स्थानीय मिट्रे रेडिओलाई उनले भने।
आफ्ना बालबालिकालाई कहिलेदेखि फेरि विद्यालय पठाउन पाइन्छ भन्ने कुरा पनि धेरैलाई थाहा छैन।

तस्बिर स्रोत, Getty Images
महिनौँयता अधिकांश उडान रद्द गरिएका छन् भने यातायात मन्त्रालयले पूर्वनिर्धारित सेप्टेम्बर १ तारिखबाट उडान सुरु नहुने जनाइसकेको छ।
हाल व्यावसायिक उडानहरू नगर्ने विश्वका थोरै देशमध्ये आर्जेन्टिना पनि एक हो।








