कोरोना भाइरस नेपालः अनुशासनमा नबस्नु 'सङ्क्रमणको आगोमा घ्यू थपे जस्तो', के महामारी भयावह स्थितिमा पुगिसकेको हो?

तस्बिर स्रोत, Reuters
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
जनस्वास्थ्यविद् तथा सङ्क्रामक रोग विशेषज्ञले नेपालमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका थप प्रभावकारी कदम नचालिए स्थिति “झन् डरलाग्दो” अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन्।
केही समययता दैनिक पीसीआर परीक्षण गर्ने गरिएका व्यक्तिमध्ये १८ देखि २० प्रतिशतको हाराहारीमा सङ्क्रमण देखिनु जनस्वास्थ्यका लागि “सुखद सङ्केत नभएको" उनीहरू बताउँछन्।
गत माघ ९ गते चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।
त्यसको २६० दिनपछि अर्थात् झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघेको छ।

भदौ २५ गते सङ्क्रमितको कुल सङ्ख्या ५०,४६५ थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले एक महिनाभित्र नै सङ्क्रमितको सङ्ख्या दोबर हुने क्रम देखाउँछ।
नेपाल अतिप्रभावित देशमध्ये शीर्ष ५० भित्र परेको जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कले देखाउँछ। कुल सङ्ख्यामा नेपालले चीनलाई यसअघि नै उछिनिसकेको छ।
बिहीवार सङ्क्रमितको सङ्ख्यामा अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि भयो। थपिएका ४,३६३ सङ्क्रमितमध्ये साढे दुई हजारभन्दा बढी काठमाण्डू उपत्यकाका थिए।
वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी छ। तीमध्ये अधिकांश काठमाण्डू उपत्यकाका हुन्।

यो स्थिति कसरी आयो?
शुक्रवार अपराह्णसम्म विभिन्न जिल्लामा २७,०५३ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये १६,०३९ जना अर्थात् ५९ प्रतिशत काठमाण्डू उपत्यकामा छन्।
केही दिनयता उल्लेख्य सङ्ख्यामा सङ्क्रमितहरू बढिरहँदा कतिपय विज्ञहरू रोकथाम र नियन्त्रणका सरकारी कदमलाई हेर्दा अहिलेको स्थिति "अनपेक्षित नभएको" बताउँछन्।

तस्बिर स्रोत, Reuters
सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले बीबीसी न्यूज नेपालीसित भने, “पानी धेरै उम्लिएर भाँडाबाट पोखिएको जस्तै अहिलेको अवस्था हो, यो स्वाभाविक नै थियो।”
असार महिनाको बीचतिर सङ्क्रमणको दर घटेको नभई सरकारले पीसीआर परीक्षण नै कम गरेका कारण त्यति बेला सङ्क्रमितहरूको सङ्ख्या कम देखिएको उनको तर्क छ।
विगतमा भएको कमजोरीका कारण अहिलेको अवस्था आएकोमा जनस्वास्थ्यविद् डा. शरदराज वन्त पनि सहमत देखिन्छन्।

“सङ्क्रमणको गति रोक्ने हामीसँग पर्याप्त अवसर थियो। लकडाउनकै बेला हामीले व्यापक रूपमा परीक्षण, सङ्क्रमितको उचित व्यवस्थापन र कन्ट्याक्ट ट्रेसिङ गरेको भए अहिलेको जस्तो अवस्था पक्कै आउने थिएन,” बीबीसी न्यूज नेपालीसित कुराकानी गर्दै उनले भने।
तर त्यसपछि पर्याप्त तयारीबिनै लकडाउन हटाउँदा पनि सङ्क्रमण तीव्र गतिमा फैलिन पुगेको डा. वन्तको ठम्याइ छ।
उनका अनुसार लकडाउन हट्नासाथ जोखिमबाट मुक्त भयौँ भन्ने हिसाबले सर्वसाधारण नागरिकले पनि जनस्वास्थ्यसम्बन्धी मापदण्डहरूको खासै पालना नगरेको देखियो। अनुशासनमा नबस्नु सङ्क्रमणको 'आगोमा घ्यू थपे' जस्तो भएको उनको भनाइ छ।
डा. सुवेदीको यस विषयमा समान धारणा छ। “मानिसहरूले अनावश्यक भिडभाड गर्ने गरेको, मास्क नलगाउने र सामाजिक दूरी कायम नगरेको अझै पनि देखिन्छ,” उनले भने।


- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा


सरकारले अब के गर्नुपर्छ?
सङ्क्रमण रोकथाम र नियन्त्रणका उपाय एकसाथ अझ प्रभावकारी ढङ्गले अगाडि बढाउनुको विकल्प नभएकोमा विज्ञहरू एकमत छन्।
जनस्वास्थ्यविद् डा. वन्तका अनुसार अब सङ्क्रमणको विस्तार रोक्नु र सङ्क्रमितको व्यवस्थापन महत्त्वपूर्ण हुन्छ।
“एकातिर धेरैभन्दा धेरै कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षण गर्नुपर्छ भने अर्कोतिर सङ्क्रमितहरूको उचित व्यवस्थापन गर्नुपर्छ। त्यो भनेको उनीहरूको स्वास्थ्यमा जटिलता नआओस् र उनीहरूले आवश्यक उपचार पाऊन्।”

तस्बिर स्रोत, EPA
नेपालमा कन्ट्याक्ट ट्रेसिङ र पीसीआर परीक्षण दुवै पर्याप्त नभएको डा. सुवेदीको निष्कर्ष छ।
“कतिपय देशमा एकजना सङ्क्रमित बराबर २५ जनासम्मको कन्ट्याक्ट ट्रेसिङ गर्ने गरिएकोमा हामीकहाँ त्यो सङ्ख्या जम्मा दुई रहेको छ। पछिल्लो समय निजी प्रयोगशालामा मान्छेहरू आफैँले परीक्षण गराउन थालेर पनि सङ्क्रमितहरू बढी देखिन थालेका हुन्।”
“पछिल्लो वृद्धिबाट के देखिन्छ भने हामी जति बढी परीक्षण गर्छौँ त्यति बढी सङ्क्रमित थपिन्छन्,” उनले थपे।

नागरिकले के गर्नुपर्छ?
के नेपालमा कोरोनाभाइरस महामारी भयावह स्थितिमा पुगिसकेको हो त?
जनस्वास्थ्यविद् डा. वन्त र सङ्क्रामक रोग विशेषज्ञ डा. सुवेदी दुवै जना अहिले चिन्ता गर्नुपर्ने अवस्था आइसकेको बताउँछन्। केही दिनअघि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नै एकदमै गाह्रो अवस्था भए मात्रै अस्पताल आउन अनुरोध गरेका थिए।
उनको यो भनाइले पनि स्थिति गम्भीर हुँदै गएको सङ्केत गरेको विज्ञहरूको निष्कर्ष छ। यो अवस्थामा नागरिकहरू आफू पनि उत्तिकै सजग र जिम्मेवार हुनुपर्ने उनीहरू बताउँछन्।
“सरकार आफैँ आई दूरी नापेर यहाँ उभिनूस् भनेर भन्न सक्दैन, सरकार आफैँ आएर मास्क लगाइदिँदैन। यी कुरा हामी आफैँले गर्नुपर्यो,” वन्तको सुझाव छ।
सर्जिकल मास्क र कपडाको भए फरक खालका दुईथरी कपडा प्रयोग गरिएको दुईपत्रे मास्क लगाउँदा उपयुक्त हुने डा. सुवेदी बताउँछन्।
“भल्ब भएको मास्क प्रयोग गर्नुभएन। यदि कसैले प्रयोग गर्नुहुन्छ भने त्यो सँगसँगै अर्को मास्क पनि प्रयोग गर्नुपर्ने हुन्छ,” उनले थपे।
त्यसबाहेक सामाजिक दूरी कायम गर्ने, बेलाबेला साबुनपानीले हात धुने अथवा स्यानिटाइजर प्रयोग गर्ने लगायत जनस्वास्थ्यसम्बन्धी मापदण्डहरूको कडाइका साथ पालना गर्नुपर्नेमा जनस्वास्थ्यविद्हरूको जोड छ।













