नोबेल पुरस्कारः हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिक यस वर्ष चिकित्साशास्त्रतर्फ पुरस्कृत

हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकले यो वर्ष चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार पाएका छन्।

उनीहरू ब्रिटिश वैज्ञानिक माइकल हाउटन तथा दुई अमेरिकी अनुसन्धानकर्ता हार्भी अल्टर र चार्ल्स राइस हुन्।

नोबेल पुरस्कार समितिले उक्त आविष्कारले लाखौँ मानिसको ज्यान जोगाउन सघाएको बताएको छ।

उक्त भाइरसले कलेजोको क्यान्सर गराउँछ र यो नै कलेजो प्रत्यारोपण गर्नुपर्ने एउटा प्रमुख कारण हो।

सन् १९६० को दशकमा दाताबाट प्राप्त रगत लिएका बिरामीलाई कलेजोको अज्ञात दीर्घरोग देखिन थाल्यो।

नोबेल समितिले त्यो बेला रक्ताधान (अर्काको रगत लिने काम) "रुसी रूलेट" अर्थात् जुवाजस्तै भएको टिप्पणी गरेको छ।

अत्यन्त संवेदनशील रक्तपरीक्षणले अहिले संसारका धेरै ठाउँमा त्यस्तो समस्या उन्मूलन भइसकेको छ। उक्त भाइरसविरुद्ध प्रभावकारी औषधि पनि बनिसकेको छ।

"इतिहासमा पहिलो पटक उक्त रोग निको पार्न सकिन्छ। त्यसबाट हेपाटाइटिस सी भाइरस उन्मूलन गर्ने आशा बढेको छ," समितिले भनेको छ।

तर अहिले पनि सात करोड मानिस उक्त भाइरसबाट सङ्क्रमित छन् र त्यसले प्रत्येक वर्ष चार लाख मानिसको ज्यान लिन्छ।

रहस्यमय हत्यारा

हेपाटाइटिस ए र बी भाइरस सन् १९६० को दशकको मध्यतिर पत्ता लागे।

पछि प्राध्यापक हार्भी अल्टरले अर्को रहस्यमय सङ्क्रामक तत्त्व पनि अस्तित्वमा भएको पुष्टि गरे। सन् १९७२ मा उनी यूएस न्याश्नल इन्स्टिट्यूट्स अफ हेल्थमा रक्ताधान गरिएका बिरामीको अध्ययन गर्दै थिए।

दान गरिएको रगत लिएका बिरामीहरू बिरामी पर्ने क्रम रोकिएको थिएन।

उनले सङ्क्रमित बिरामीको रगत दिइएो चिम्पान्जीमा पनि उक्त रोग लाग्ने उनले पुष्टि गरे।

त्यो रहस्यमय रोगलाई "नन-ए, नन-बी" हेपाटाइटिस भन्न थालियो।

प्राध्यापक माइकल हाउटनले सन् १९८९ मा उक्त भाइरसको आनुवंशिक संरचनाको शृङ्खला पत्ता लगाए। त्यसबाट उक्त विषाणु एक प्रकारको फ्ल्याभिभाइरस भएको देखियो। त्यसको नामकरण हेपाटाइटिस गरियो।

प्राध्यापक चार्ल्स राइसले सेन्ट लुईस्थित वाशिङ्टन यूनिभर्सिटीमा हुँदा सन् १९९७ मा थप काम गरे।

उनले आनुवंशिक रूपमा परिशोधित (जनेटिकली इन्जनीअर्ड) हेपाटाइटिस सी भाइरस चिम्पान्जीको कलेजोमा हालेर त्यसबाट हेपाटाइटिस हुने प्रमाणित गरे।

विजेताले कसरी थाहा पाए?

नोबेल असेम्ब्लीका सदस्यसचिव प्राध्यापक टमस पर्लमानले आफूले प्राध्यापक अल्टर र प्राध्यापक राइसलाई मात्र पुरस्कारसम्बन्धी सूचना दिन पाएको बताए।

"उहाँहरू पक्कै पनि फोनको छेउमा बस्नुभएको थिएन किनभने त्यसअघि दुईचोटि फोन गरेको थिएँ तर उठेको थिएन।"

तर फोनमा कुरा भएपछि उहाँहरू धेरै छक्क पर्नुभयो। अनि खुसी हुनुभयो र लगभग निःशब्द। उहाँहरूसँग कुरा गर्न साँच्चै धेरै रमाइलो भयो।"

यसअघि कसले पाएका थिए?

  • २०१९ - ब्रिटेनका सर पिटर र्‍याट्क्लिफ र संयुक्त राज्य अमेरिकाका विलियम काएलिन एवम् ग्रेग सिमेन्जा। कोषहरूले अक्सिजनको मात्रालाई कसरी चिन्छन् र अङ्गीकार गर्छन् भन्ने पत्ता लगाएकाले
  • २०१८ - जेम्स पी एलिसन र तासुकु होन्जोको। शरीरको रोगप्रतिरोधी क्षमताको प्रयोग गरेर क्यान्सरको उपचारविधि पत्ता लगाएकाले
  • २०१७ - जेफ्री हल, माइकल रोस्ब्याश र माइकल यङ्। शरीरले कसरी सर्कीडीअन रिदम अर्थात् 'जैविक घडी' कायम राख्छ भन्ने अनुसन्धानका लागि
  • २०१६ - योशिनोरी ओहसुमी। विकार पुनर्प्रयोग गरेर कोषहरू कसरी स्वस्थ रहन्छन् भनेर पत्ता लगाउने अनुसन्धानका लागि
  • २०१५ - विलियम सी क्याम्पबेल, सातोशी ओमुरा र यूयू टू। परजीवी नियन्त्रण गर्ने औषधिका लागि
  • २०१४: जन ओ'कीफ, मे-ब्रिट मोजर र एड्वार्ड मोजर। मस्तिष्कको परिगमन प्रणाली पत्ता लगाउने अनुसन्धानका लागि
  • २०१३ - जेम्स रथ्म्यान, र्‍यान्डी शेक्म्यान र थोमास स्युड्होफ। कोषले कसरी पदार्थहरू परिवहन गर्छन् भने अनुसन्धानका लागि
  • २०१२: जन गर्डन र शिन्या यामानाका। कोषलाई स्टेम सेल बनाउन सफल भएकोमा