तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपाल: सरकारको प्रक्षेपणअनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या किन बढेन?
- Author, विनीता दाहाल
- Role, बीबीसी न्यूज नेपाली
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असोज ५ गते अर्थात् सोमवार सक्रिय सङ्क्रमितको सङ्ख्या ३९,००० हाराहारी पुग्ने अनुमान गरेको थियो।
तर आइतवारसम्म देशभरि पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या त्यसको आधाजति मात्र पुगेको छ।
यसअघि भदौ २९ गते पनि एकदमै नराम्रो अवस्थामा सङ्क्रमितको कुल सङ्ख्या ९१,००० पुग्ने अनुमान गरिएको थियो। तर असोज ५ गते बल्ल पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६५,००० नाघेको छ।
कोरोनाभाइरस महामारीको "पहिलो लहर" मा सरकारले गरेको प्रक्षेपणअनुसार साउन २९ गते र भदौ २ गते सङ्क्रमितको सङ्ख्या उच्च पुग्ने बताइएको थियो।
भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्। असोज २ गते शुक्रवार एकै दिन २,०२० जनामा सङ्क्रमण पुष्टि भएको थियो। यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।
सङ्क्रमणले सोचे जस्तो नराम्रो रूप नलिएकाले यी प्रक्षेपणहरू नमिल्नुलाई केहीले राम्रो मानेका छन्।
तर केही विज्ञहरूले सरकारले यथोचित काम नगरेका स्थिति भयावह हुनसक्ने चेतावनी दिएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अवैतनिक सल्लाहकार डा. सुरेश तिवारी सरकारी प्रक्षेपणअनुसार सङ्ख्या धेरै नदेखिनुमा विभिन्न कारण रहेको बताउँछन्।
के हुन् कारण?
डा. तिवारीका अनुसार -
१) उच्च जोखिमका क्षेत्रमा परीक्षण कम
समग्रमा सरकारले अन्य देशको तुलनामा धेरै सङ्ख्यामा कोरोनाभाइरसको परीक्षण गरिरहेको छ। अहिलेसम्म परीक्षण दर झन्डै ३.१२ प्रतिशत पुगिसक्यो।
तर उच्च जोखिम रहेका र सङ्क्रमितको सङ्ख्या धेरै रहेका जिल्लाहरूमा जोखिमको क्षेत्र निर्धारण गरी परीक्षण नबढाइएकोले सङ्ख्या कम देखिएको हो।
अहिले काठमाण्डू, भक्तपुर र ललितपुरसहित केही जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन्। ती जिल्लामा पनि सङ्क्रमणको जोखिम उच्च भएको ठाउँमा परीक्षणको दायरा नबढाउँदा सङ्ख्या कमै देखिन्छ।
२) स्वास्थ्य मापदण्डको जानकारी
खोप नबनेको अवस्थामा मानिस जोगिने सबैभन्दा उत्कृष्ट उपाय भनेकै मास्क सही तरिकाले लगाउने हो।
अहिले सङ्क्रमितको सङ्ख्यामा प्रक्षेपणअनुसार वृद्धि नहुनुमा सर्वसाधारण मानिसले मास्क प्रयोग गरिदिएर पनि हो। मानिसहरूबीच कायम हुनुपर्ने सामाजिक दूरीलगायतका स्वास्थ्यका मापदण्डको पालना हुँदा पनि सङ्क्रमितको सङ्ख्या प्रक्षेपण गरिए अनुसार नबढेको हो।
त्यसमा सञ्चारमाध्यमको भूमिका पनि धेरै देखिन्छ।
३) लकडाउन र निषेधाज्ञा
सरकारले लगाएको लकडाउन वा निषेधाज्ञाका कारण मानिसहरूको एकअर्कासँगको भेटघाट निकै कम हुन गयो। व्यापार-व्यवसाय र सार्वजनिक यातायात नचल्दा पनि सङ्क्रमणको दर उच्च हुन पाएन।
यसमा उद्योगी, व्यापारीहरूले सरकारको निर्णय कार्यान्वयन गर्दा पनि सङ्क्रमितको सङ्ख्या वृद्धि हुन पाएन।
४) स्थानीय स्तरमा सक्रियता
सङ्क्रमणको रोकथामका लागि स्थानीय स्तरमा पनि सजगता देखिन्छ।
कसैलाई सङ्क्रमण भएको छ भने त्यसको उपचार र उसको सम्पर्कमा आएका मानिसलाई परीक्षण गराउने कुरामा समुदाय नै परिचालन भएको पनि देखिएको छ।
५) निको हुने दरमा वृद्धि
निको हुने दर पनि पछिल्लो समय बढ्दै गएको छ।
अहिलेसम्म कोरोनाभाइरसका कारण बिरामी भएकामध्ये नेपालमा ४७,००० भन्दा बढी अर्थात् ७२ प्रतिशत सङ्क्रमित निको भइसकेका छन्।
के भन्छन् सङ्क्रामक रोग विशेषज्ञ?
सक्रिय सङ्क्रमितको सङ्ख्या अहिलेको अवस्थामा झन्डै १८,००० हाराहारीमा सीमित भएको भए पनि त्यो आफैँमा ठूलो सङ्ख्या भएको सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी बताउँछन्।
“हामीले नियन्त्रणका प्रयासहरू बलियो बनाएर र अहिले भन्दा कन्ट्याक्ट ट्रेसिङ धेरै गरेको भए सक्रिय सङ्क्रमितको सङ्ख्या निकै कम गर्न सक्थ्यौँ,” उनले भने।
परीक्षणको दर निकै घटाइरहेको बेला प्रक्षेपणभन्दा कम सङ्ख्या आयो भनेर सरकार खुसी हुने अवस्था नरहेको उनको तर्क छ।
“परीक्षणको मापदण्ड खुम्च्याएर अनि कन्ट्याक्ट ट्रेसिङलाई कमजोर बनाउँदै लगेर सङ्ख्या कम छ भन्दा अबको दिन झन् भयावह हुने देखिन्छ,” डा. सुवेदीले भने, “सङ्क्रमित हुनेको दर नै निकै धेरै हुन थालिसकेको छ। त्यो अनुसार नियन्त्रणका लागि सरकारले धेरै काम गर्नुपर्नेछ।”
विश्व स्वास्थ्य सङ्गठनले तय गरिदिएको विधिअनुसार गरिने त्यस्तो प्रक्षेपण सबैभन्दा खराब अवस्थाका लागि गरिने प्रक्षेपण हो।
डा .सुवेदीका अनुसार विदेशमा पनि सङ्क्रमितको सङ्ख्या त्यसरी गरिने प्रक्षेपणभन्दा कम नै रहने गरेको बताए।
अर्को प्रक्षेपण कहिले?
प्रक्षेपण गरिएअनुसार सङ्क्रमितको सङ्ख्या उच्च नपुगे पनि जोखिम भने टरिनसकेको मन्त्रालयका विज्ञ सल्लाहकार तिवारी बताउँछन्।
उनका अनुसार अहिले तत्काल "तेस्रो लहर"को प्रक्षेपण गर्ने अवस्था छैन।
तर विश्व स्वास्थ्य सङ्गठनले तय गरेको विधिअनुसार गरिएको प्रक्षेपणले सक्रिय सङ्क्रमितको सङ्ख्या माघको दोस्रो साता नपुग्दासम्म नघट्ने अनुमान गरेको उनी बताउँछन्।
“नेपालमा माघ १२ गतेदेखि मात्रै सक्रिय सङ्क्रमितको सङ्ख्या ५,००० बाट घट्न थाल्नेछ। त्यो बेलासम्म सक्रिय सङ्क्रमितको सङ्ख्या उच्चबिन्दुमा पुग्छ भन्ने त्यस्तो देखिँदैन र एकै पटक ओरालो पनि लाग्दैन,” उनले भने।