कोरोना भाइरस नेपाल: पोजिटिभ भएपछि भरङ्ग भएको मन 'योगले सम्हाल्यो'

- Author, माधव नेपाल
- Role, बीबीसी न्यूज नेपाली, बुटवल
उनीसँग योग सिक्ने मान्छे फेरिए। क्वारन्टीन फेरिए तर उनको दैनिकी करिब छ महिनादेखि एकनासको छ।
लुम्बिनी आयुर्वेदिक अस्पताल बुटवलमा कार्यरत वैद्य विष्णुहरि आचार्य योगीराजको दिनचर्या एकाएक परिवर्तन भएर क्वारन्टीन हुँदै आइसोलेशन सेन्टरमा केन्द्रित भएको हो।
छिमेकी मुलुक भारतमा कोरोनाभाइरस सङ्क्रमणको दर उच्च देखिन थालेपछि नेपालस्थित आफ्ना गाउँ फर्केकाहरूलाई १४ दिन क्वारन्टीनमा राख्न शुरू भएसँगै स्थानीय निकायहरूले त्यस्ता व्यक्तिलाई योग, नाचगान र जडीबुटी सेवन गराउन थालेका हुन्।
चैत्रको तेस्रो साता देखि क्वारन्टीनमा बसेकाहरूलाई योगाभ्यास गराउँदै आएका योगीराजले अहिले पनि त्यही काम गरिरहेका छन्।
तनाव व्यवस्थापन
"योगको काम तनाव व्यवस्थापन गर्ने हो। तनाव व्यवस्थापन हुने बित्तिकै मानिसले नकारात्मक कुरा सोच्न छाड्छ। नकारात्मक कुरा नसोचेपछि उसको आत्मबल त्यसै पनि बढ्छ," योगीराज भन्छन्।
नियमित रूपमा गर्ने योग र शारीरिक अभ्यासले कडा खालका लक्षण नदेखिएका कोरोनाभाइरस सङ्क्रमितहरूलाई छिटै नै सङ्क्रमण मुक्त हुन सहयोग पुर्याएको विश्वास योगीराजको छ भने त्यस्तै विश्वास सङ्क्रमित भएर लामो समय आइसोलेशनमा बसेकाहरूमा पनि देखिन्छ।

सङ्क्रमित भएपछि २३ दिन बुटवलको एक आइसोलेशनमा बिताएर अहिले घर फर्केका बुटवलका एक युवा भन्छन्, "कोरोनाभाइरस सङ्क्रमण भएको थाहा पाएपछि शुरूमा त निकै डर लाग्यो तर केन्द्रमा गएपछि त्यहाँ आयोजना गर्ने गरिएका नाचगानदेखि नियमित शारीरिक अभ्यास तथा योग अभ्यासमा सहभागी हुन थालेपछि डर भाग्दै गयो।"
उनी थप्छन्, "केन्द्रमा गराइने शारीरिक अभ्यास र योगले मनोबल विस्तारै उच्च हुन थाल्यो अनि भाइरससँग लड्न सकिन्छ भन्ने लाग्न थाल्यो।
त्यस्तै बुटवलको आइसोलेशन केन्द्रमा १४ दिन बिताएका एक युवाको अनुभव छ- केन्द्रमा गरिने योग अभ्यास तथा नाचगान औषधीको खुराक जस्तो लाग्थ्यो। योगले धेरै सङ्क्रमितको आत्मबल बढाउने काम गरेको छ।"
"सङ्क्रमितहरूलाई बिहान ५ बजे उठाउनु अनि योग गराउनु त्यसपछि नाचगान गराउनु जस्ता काम सङ्क्रमित क्षेत्रका योग प्रशिक्षक तथा जनप्रतिनिधिहरूको लागि नियमित जस्तै हुन थालेको छ," बुटवल वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र खनाल भन्छन्।
सरकारी निर्देशिका
प्रदेश नं ५ मा सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि यहाँको सामाजिक विकास मन्त्रालयले योगबाट तनाव व्यवस्थापन गर्नका लागि भन्दै एक निर्देशिका पनि जारी गरेको छ।

अहिले त्यही निर्देशिकालाई आधार बनाएर सङ्क्रमितहरूलाई योग-ध्यान सहित मनोसामाजिक परामर्श दिने काम योग प्रशिक्षक तथा वैद्यहरूले गर्दै आएका छन्।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा


यसबाहेक सबैजसो केन्द्रहरूमा रोग प्रतिरोधी क्षमता बढाउने भनिएका जडीबुटी पनि नियमित रूपमा दिने गरिएको छ।
तर शुरूमै कडा खालका लक्षण देखिएका सङ्क्रमितहरूलाई भने अस्पतालहरूमै भर्ना गरेर उपचार गरिँदै आएको छ।










