कोरोना भाइरस महामारी: विश्वभरि कोभिड-१९ सङ्क्रमितको सङ्ख्या तीन करोड नाघ्यो

तस्बिर स्रोत, EPA
कोरोनाभाइरसबाट विश्वभरि सङ्क्रमित हुने मानिसहरूको सङ्ख्या तीन करोड नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।
चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको सङ्ख्या नौ लाख नाघेको तथ्याङ्कले देखाउँछ।
कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ।
हालसम्म त्यहाँ ६६,६९,३२२ भन्दा बढी सङ्क्रमित भएका छन् भने १,९७,५८९ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ।
गम्भीर स्थिति
दोस्रो धेरै सङ्क्रमित भारतका छन् भने तेस्रो बढी सङ्क्रमित रहेको देश ब्राजिल हो।
मृतकको सङ्ख्याको हिसाबले चाहिँ ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ।
ब्राजिलमा १,३४,१०६ जनाले कोरोनाभाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८३,१९८ जनाको मृत्यु भएको छ।
रुस १०,८१,१५२ सङ्क्रमितसहित चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको पेरुमा ७,४४,४०० व्यक्ति सङ्क्रमित छन्।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा सङ्क्रमण देखिएको छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

उत्तरी गोलार्द्धमा पर्ने देशहरूमा हिउँद याम शुरू हुन लाग्दा नराम्ररी प्रभावित देशहरूमा सङ्क्रमित हुनेहरूको सङ्ख्या बढ्न थालेको छ।
डब्ल्यूएचओका युरोप निर्देशक हान्स क्लूगाले सङ्क्रमणमा देखिएको वृद्धिलाई "सजग गराउने घटना" को रूपमा लिइनुपर्ने बताए।
उनका अनुसार विगत दुई साताभित्र युरोपेली सङ्घ (ईयू)का आधाभन्दा बढी सदस्य राष्ट्रमा नयाँ सङ्क्रमितको सङ्ख्यामा दुई गुणाले वृद्धि भएको देखिएको छ।
उनले भने, "हामी सामु एकदमै गम्भीर स्थिति उत्पन्न भएको छ।"









