किन पृथ्वीमा सबैभन्दा गर्मी स्थान अत्यन्त खतरनाक हुन्छ भन्ने छैन

तस्बिर स्रोत, Getty Images
के तपाईँले ५४.४ डिग्री सेल्सीअस गर्मी भएको स्थानमा बस्दा कस्तो हुन्छ भनेर कहिल्यै सोच्नुभएको छ?
तपाईँले यो कल्पना गरिरहनुपर्दैन किनभने त्यति तापक्रम वास्तवमै मापन भइसकेको छ।
अमेरिकाको क्यालिफोर्नियास्थित डेथ भ्याली न्याश्नल पार्कमा १६ अगस्टमा त्यति तापक्रम पुगेको थियो।
त्यसको अनुभूति कस्तो होला त? पार्कमा काम गर्ने एक कर्मचारी ब्र्यान्डी स्ट्यूवर्टका अनुसार त्यति बेला कपाल सुकाउने उपकरण हेअरड्रायर मुखतिर फर्काए जस्तो महसुस भएको थियो।
संयुक्त राष्ट्रसङ्घको मौसम हेर्ने निकायका अनुसार त्यहाँ रेकर्ड गरिएको तापमानबारे थप पुष्टि गरिँदैछ।
तर गर्मीका बेला तापमान ४८.८ डिग्री सामान्य रूपमै नाघ्ने डेथ भ्याली पृथ्वीको सबैभन्दा गर्मी स्थानमध्ये पर्छ।

तस्बिर स्रोत, Getty Images
उच्च तापमान हाम्रा लागि किन नराम्रो?
उच्च तापमानले सबैलाई प्रभाव पार्छ।
तर शरीरमा पानीको कमी, गर्मीका कारण हुने थकान अनि हीट स्ट्रोकको परिणाम विशेषतः मुटु, मिर्गौला अनि श्वासप्रश्वासको समस्या भएका तथा वृद्ध र बालबालिकाका लागि घातक हुनसक्छ।
लामो समयसम्म कायम रहेको चर्को गर्मीको लहरले अमेरिकाको पश्चिमी तटीय क्षेत्रमा प्रभाव पारेसँगै यो रेकर्ड तापमान मापन गरिएको हो।
"चर्को गर्मीको लहर खतरनाक हुनसक्छ। किनकि सुरक्षित तहमा रहनका लागि मानिसको शरीर आफैँले तापमान नियमन गर्ने क्षमता यसले घटाइदिन्छ," यूरोपियन सेन्टर फर मीडीयम रेन्ज वेदर फोरकास्टका टिमोथी हिउसन बताउँछन्।
चर्को गर्मीको लहरलाई केले यति खतरनाक बनाउँछ?
डेथ भ्यालीमा सुक्खा किसिमको गर्मी महसुस गरिएको थियो। त्यहाँको आद्रता झन्डै सात प्रतिशतमा सीमित भएको स्थानीय विवरणहरूमा उल्लेख छ।
आद्रताको मात्रा शरीरले गर्मीसँग कसरी सामना गर्छ भन्ने सन्दर्भमा महत्त्वपूर्ण हुन्छ।
कम आद्रता हुँदा शरीरलाई तापमानको सामना गर्न सहयोग हुन्छ र शरीरको तापमान नियमन गर्ने काम गर्छ।

तस्बिर स्रोत, EPA
तर उच्च तापमान अनि आद्रताका कारण शरीरको तापमान व्यापक रूपमा बढ्न सक्छ।
उच्च तापमान र आद्रताको घातक संयोजन
उच्च तापमान र आद्रताको संयोजनले तापमान वृद्धि भइरहेको दुनियाँमा मानवजातिका लागि घातक प्रभाव पार्न सक्छ।
मानव शरीरले चरम गर्मीको लहर होस् वा हिमपात जहिले पनि तापक्रम ३७.५ डिग्री कायम राख्ने प्रयत्न गर्छ।
तर तापमान बढ्न थाल्दा त्यसलाई घटाउन शरीरले बढी प्रयास गर्नुपर्ने हुन्छ।
त्यसैले तापमान कम गर्न छालानजिक रक्तनलीहरू खुल्छन् अनि शरीरबाट पसिना निस्किन थाल्छ। पसिना बाफिएर उडेपछि तापमान नाटकीय रूपमा घट्न जान्छ।
अन्यत्र कहाँकहाँ 'असह्य तापमान'?

तस्बिर स्रोत, Getty Images
पृथ्वीमा रेकर्ड गरिएको वेट बल्ब तापमान विरलै ३१ डिग्री सेल्सीअस कट्ने मानिन्थ्यो।
सन् २०१५ मा पहिलो पकट इरानी सहर बन्दार मसारमा वेट बल्ब तापमान करिब ३५ डिग्री नजिक पुगेको पाइएको थियो। त्यति बेला हावाको तापमान ४३ डिग्री थियो।
तर भर्खरै साइन्स एड्भान्सेस नामक जर्नलमा प्रकाशित एउटा अध्ययनमा विश्वका केही भागमा तापमान चरम बिन्दुमा पुगिरहेको पाइएको थियो।
उक्त अध्ययनका लेखकहरूले विश्वका विभिन्न स्थानमा रहेका ७,८७७ मौसमकेन्द्रबाट डेटा तथ्याङ्कक सङ्कलन गरी सन् १९८० देखि २०१९ सम्मको तापमान र आद्रताबारे अध्ययन गरेका थिए।
भारत, बाङ्ग्लादेश, पाकिस्तान, उत्तरपश्चिमी अस्ट्रेलिया, रेड सीको तटीय क्षेत्र अनि गल्फ अफ क्यालिफोर्नियामा तापमान पटकपटक उत्कर्षमा पुगेको पाइएको थियो।

तस्बिर स्रोत, Getty Images
उच्च तापमान १४ पटक साउदी अरबका दारान र दमाम सहर, कतारको दोहा र यूएईको रास अल खाइममा रेकर्ड गरिएको थियो। त्यहाँ २० लाखभन्दा बढी मानिस बस्छन्।
अध्ययनका बेला खाडी क्षेत्रका सहरहरूमा वेट बल्ब मापन ३५ डिग्री सेल्सीअस एक दर्जनभन्दा बढी पटक पुगेको पाइएको थियो र त्यो तापमान एकदेखि दुई घण्टासम्म कायम रहन्थ्यो।
दक्षिणपूर्वी एशिया, चीनको दक्षिणी भेग र अफ्रिका अनि क्यारबीअन क्षेत्र पनि प्रभावित भएका थिए।
दक्षिणपूर्वी अमेरिकामा पनि दर्जनौँ पटक तापमानसम्बन्धी चरम अवस्था देखा परेको थियो।
कुन क्षेत्र जोखिममा छन्?
यस्ता अधिकांश घटना तटीय क्षेत्र, खाडी क्षेत्र अनि स्ट्रेट मा देखा पर्ने बताइएको छ।
तीव्र गतिमा उच्च तापमान महसुस हुँदै आएका विपन्न क्षेत्रहरूमा बस्ने मानिसहरूबारे चिन्ता व्यक्त हुने गरेको छ।
"गरिब राष्ट्रमा बस्ने र खतरामा रहेकाहरूसँग बिजुलीको पहुँच हुँदैन र उनीहरूले वातानुकूलित अवस्थामा बस्नेबारे सोच्दैनन्," उक्त अध्ययनका एक लेखक र्याड्ली होर्टनले भने।

यो पनि हेर्नुहोस्









