अमेरिकामा पृथ्वीकै 'उच्चतम तापक्रम मापन'

डेथ भ्याली

तस्बिर स्रोत, Getty Images

पृथ्वीमा अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम ५४.४ डिग्री सेल्सीअस अमेरिकाको क्यालिफोर्नियास्थित डेथ भ्याली राष्ट्रिय निकुञ्जमा आइतवार मापन गरिएको दाबी गरिएको छ।

अमेरिकी राष्ट्रिय मौसम सेवाले सो तापक्रम मापनको अध्ययन गरिरहेको छ।

अमेरिकाको पश्चिमी क्षेत्रमा भइरहेको तापक्रम वृद्धिका बीच यो तापक्रम मापन गरिएको हो। त्यहाँ आउने साता अझै तापक्रम बढ्ने आकलन गरिएको छ।

शनिवार उच्च तापक्रमका कारण ऊर्जा कारखानामा समस्या भएपछि क्यालिफोर्नियामा दुई दिन विद्युत् बन्द भएको छ।

"यहाँ भीषण गर्मी छ र यो तपाईँकै अगाडि छ," निकुञ्जमा कार्यरर ब्रान्डी स्टेवार्टले बताइन्।

उनी त्यहाँ बसेको र काम गरेको लगभग पाँच वर्ष भएको छ। अगस्टमा प्रचण्ड गर्मी हुने भएका कारण उनी घरभित्रै बस्छिन्।

"बाहिर हिँड्दा तपाईँको अनुहारमा केही हेअरड्रायरले तातो फाले जस्तो हुन्छ," उनले भनिन्।

"यो चुलोभित्र हिँडे झैँ हुन्छ र तपाईँलाई वरिवरिबाट पोल्छ।"

यसअघिको सबैभन्दा बढी तापक्रम कति?

यसअघि सन् २०१३ मा त्यहाँ ५४ डिग्री सेल्सीअस मापन गरिएको थियो।

एक शताब्दीअघि त्यहाँ ५६.६ डिग्री मापन भएको बताइन्छ। तर त्यसले आधिकारिकता पाएको छैन।

शनिवार क्यालिफोर्नियामा देखिएको उच्च तापक्रमको भुमरी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, शनिवार क्यालिफोर्नियामा देखिएको उच्च तापक्रमको भुमरी

सन् १९१३ मा त्यहाँ गरिएको तापक्रम मापन वरपरको क्षेत्रमा गरिएको मापनसँग मेल नखाने मौसम इतिहासविद् क्रिस्टोफर बर्ट बताउँछन्।

ट्यूनिशियामा सन् १९३१ मा ५५ डिग्री सेल्सीअस तापक्रम मापन गरिएको दाबी गरिए पनि त्यो बर्टका विचारमा विश्वसनीय मापन होइन।

प्रचण्ड गर्मीले के हुन्छ?

दुईदेखि तीन दिन लगातार ३२ डिग्री सेल्सीअसभन्दा बढी तापक्रम भएमा त्यसलाई प्रचण्ड गर्मी भनिन्छ।

अमेरिकी जनस्वास्थ्यविज्ञहरूका अनुसार अमेरिकामा मौसमका अरू कारणले भन्दा प्रचण्ड गर्मीले त्यहाँ धेरै मानिसहरूको मृत्यु हुने गरेको छ।

उच्च तापक्रमले मानिसहरूहरू शरीरमा पानी कम हुनेदेखि घातक असरसम्म पार्न सक्छ।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, एअर कन्डिशनरले यसरी गर्मी बढाउँछ