जलवायु परिवर्तनः कार्बन डाइअक्साइड तथा अन्य हरित गृह ग्यासको मात्रा अहिलेसम्मकै सर्वोच्च

तस्बिर स्रोत, Getty Images
सन् २०१८ मा पृथ्वीको वायुमण्डलमा कार्बन डाइअक्साइड तथा अन्य हरित गृह ग्यासको मात्रा अहिलेसम्मकै सर्वोच्च भएको छ।
विश्व जलवायु सङ्गठनका अनुसार त्यो वृद्धि गत दशकको औसत स्तरभन्दा माथि छ।
मिथेन तथा नाइट्रस अक्साइडजस्ता ग्यासको मार्ता पनि औसतभन्दा बढी पाइएको छ।
सन् १९९० यता लामो समयदेखि वायुमण्डलमा रहेका हरित गृह ग्यासका कारण उत्पन्न तापमान वृद्धिको असर करिब ४३ प्रतिशतले बढिरहेको छ।
विश्वव्यापी
सो सङ्गठनको पछिल्लो प्रतिवेदनले उत्सर्जनभन्दा पनि वायुमण्डलमा त्यस्ता ग्यासका परिमाण अध्ययन गरेको थियो।

तस्बिर स्रोत, Getty Images
यो अध्ययनको हकमा उत्सर्जन र परिमाणबीचको फरक भनेको उत्सर्जनले केवल वायुमण्डलमा फ्याँकिएको ग्यास बताउँछ जुन विशेषत: इन्धन प्रयोग गरेर, कोइला बालेर वा वनविनाशका कारण हुने गर्छ।
परिमाणले चाहिँ उत्सर्जित भइसकेको ग्यासमध्ये समुद्र, वन वा भूमिले सोसेर वायुमण्डलमै बाँकी रहेको स्तर जनाउँछ।
सामान्यतया उत्सर्जित कार्बनमध्ये झन्डै एकचौथाइ समुद्रले सोस्छ भने त्यतिकै जति भूमि तथा जङ्गलले सोस्छन्।
विद्यमान प्रवृत्तिका कारण जलवायु परिवर्तनको अत्यन्त नराम्रो असर झन् उजागर हुन थालेको उसले जनाएको छ।

तस्बिर स्रोत, Getty Images
राष्ट्रसङ्घको उक्त निकायका अनुसार गत वर्ष कार्बन डाइअक्साइडको मात्रा सन् २०१७ को तुलनामा झन्डै एक प्रतिशत बढेको छ।
सङ्गठनका महासचिव पेट्टेरी तालसका अनुसार प्यारिस जलवायु परिवर्तनसम्बन्धी सम्झौता अनुसारका तमाम प्रतिबद्धताका बावजुद हरितगृह ग्यासको उत्सर्जन घट्नुको साटो जारी छ।
उनका अनुसार अहिलेको स्तरमा देखिए जति मात्राको कार्बन डाइअक्साइड यसअघि सम्भवत: ३० देखि ५० लाख वर्ष पहिले मात्र थियो।
त्यतिखेर समुद्री सतह अहिलेको भन्दा २० मिटर माथि पुगेको थियो।
वैज्ञानिकहरूले सबभन्दा धेरै चिन्ता मानेको कुरा चाहिँ वायुमण्डलमा बढ्दो हरित गृह ग्यासको मात्राले विश्वव्यापी तापमान वृद्धिमा पुर्याइरहेको योगदान हो।
यस्तो असर सन् १९९० को तुलनामा ४३ प्रतिशतले बढेको पाइएको छ।

यो पनि हेर्नुहोस्









