पर्सीइड शावर: धूमकेतुको बाटोमा पृथ्वी पुग्दा उल्का वर्षा, तर कुनै खतरा हुँदैन

    • Author, इभा अन्टिभेरस
    • Role, बीबीसी विश्व सेवा

कोही पनि धूलो वा फोहोर भरिएको बाटो हिँड्न चाहँदैन… तर कहिलेकाहीँ अचम्म लाग्ने कुरा पनि देखिन्छ।

अगस्ट महिनाको मध्यतिर पृथ्वी अन्तरिक्षमा भएको फोहोरको बादल हुँदै सूर्यको परिक्रमा गर्न जाँदा रात्रिकालीन आकाश चम्किलो देखिनेछ।

यो तपाईँका लागि उल्कापात भएको हेर्न पाउने अभूतपूर्व अवसर हो।

संयोग मिल्यो भने तपाईँ अनौठा पुच्छ्रेतारा पनि देख्न सक्नुहुन्छ।

के हुन् पर्सीइड्स?

स्विफ्ट-टटल नामक धूमकेतुबाट उत्पन्न उल्कापिण्डहरूलाई पर्सीइड्स भनिन्छ।

उक्त धूमकेतुले पनि पृथ्वीले जसरी नै आफ्नो कक्षमा रहेर सूर्यको परिक्रमा गर्छ। तर त्यसो गर्दा एउटा कोण बन्छ।

रोयल म्यूजीअम्स ग्रेनिचका खगोलशास्त्री एड्वर्ड ब्लूमर भन्छन्, "प्रत्येक वर्ष पृथ्वी उक्त धूमकेतुको बाटोमा र त्यहाँ भएको फोहोरमा ठोकिन्छ।"

उनका अनुसार बरफ, धूलो र चामलजत्रा ढुङ्गायुक्त ब्रह्माण्डीय अवशेष पृथ्वीको वायुमण्डको बाह्य तहसँग ठोकिँदा अकस्मात् आगो सल्किन्छ। "कहिलेकहीँ केवल एक सेकेन्डको एक अंशका लागि मात्र किन नहोस्।"

पर्सीइड उल्का वर्षालाई किन विशेष मानिन्छ त? उनी भन्छन्, "यो एकदमै विश्वसनीय छ र यसको उत्कर्ष प्रत्येक वर्ष अगस्टको मध्यतिर हुने भए पनि तपाईँ यसलाई जुलाई महिनाको अन्त्यतिरबाटै देख्न पनि सक्नुहुन्छ।"

यसलाई नाङ्गो आँखाले नै देख्न सकिन्छ। कैयौँ रातसम्म यसलाई परीक्षण गर्न सकिन्छ।

कहिलेकहीँ धूमकेतुको अवशेषको ठूलो भाग पनि देखापर्छ।

"यदि तपाईँ भाग्यशाली हुनुहुन्छ भने अनौठा र भव्य पुच्छ्रेताराहरू पनि देख्न सक्नुहुन्छ," ब्लूमर भन्छन्।

के यो दर्शनीय छ?

"वास्तवमै," ब्लूमर भन्छन्, "सबै बत्तीहरू बन्द गर्नुहोस् र हेर्न जानुहोस्।"

पर्सीइड शावर भनेको प्राकृतिक आतसबाजी‍जस्तै हो। अनि उल्कापात यति धेरै हुन्छ कि एक घण्टामा १०० वटा उल्का देख्न सकिन्छ।

यद्यपि ती उल्काहरू वायुमण्डलमा २,१५,००० किलोमिटर प्रतिघण्टाको गतिमा ठोकिँदा पनि पृथ्वीमा कुनै खतरा हुँदैन।

ब्लूमर भन्छन्, "एउटा कम्बल ओछ्याउनुहोस् र आकाश हेर्नुहोस्। यो एकदमै मनोरम हुन्छ र विश्वको सबै भेगबाट देखिन्छ।"

पर्सीइड उल्कापात हेर्नखगोलशास्त्री एड्वर्ड ब्लूमरका सुझावहरू यस्ता छन्:

  • पूर्व वा उत्तरपूर्वतिर खुला आकाश खोज्नुहोस्। यदि तपाईँलाई नक्षत्रमण्डलबारे ज्ञान छ भने क्यासीअपीआनजिकै पर्सीअसतिर हेर्नुहोस्। थाहा छैन भने कुनै एपको सहायता पनि लिन सकिन्छ।
  • महामारी फैलिनुअघि खगोलीय घटाना हेर्न सजिलो थियो, तर अहिले सामाजिक दूरी कायम गर्दै पनि हेर्न सकिन्छ।
  • गोधूलिको बेला ठाउँ छान्नुहोस्, कम्बल ओछ्याउनुहोस् र सजिलोसँग बस्नुहोस्। अँध्यारो हुन्जेल कुर्नुहोस्। वरपर सबै बत्तीहरू निभाएर पूरै अन्धकार पार्नुहोस्।
  • आनन्दपूर्वक प्रतिघण्टा १०० वटा उल्का झरेको हेर्नुहोस्।

नाममा के छ?

"हामी यसलाई पर्सीइड्स भन्छौँ किनभने यो पर्सीअस तारापुञ्जबाट उत्पन्न हुन्छ," ब्लूमर भन्छन्। तर विभिन्न संस्कृतिमा यसलाई फरक नामबाट चिनिन्छ।

लोरेन्ट्समा उल्लेख गरिएअनुसार क्याथोलिक परम्परामा यसलाई "सेन्ट लरेन्सको आँशु" भनिन्छ।

मेडिटरेनीअन लोककथामा अगस्टमा देखिने यो गतिविधिलाई "आगोको झिल्काको अवशेष" भन्ने पुराना सन्तलाई जिउँदै पोलिएको बताइएको छ।

तर रोमनहरूले भन्दा पहिले नै पर्सिया, बेबिलोन, इजिप्ट, कोरिया र जापानमा उल्कापातबारे विस्तृत विवरण दिइएको पाइन्छ।

पर्सीइड उल्कापात अवलोकन गरेको पहिलो उपलब्ध लिखित विवरण भने चीनको हान राजवंशका बेलाको रहेको विश्वास गरिन्छ।

त्यहाँ सन् ३६ मा खगोलशास्त्रीले यस्तो उल्कापातबारे लेखेका छन्।