तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कहिलेकाहीँ मन लोभ्याउनेगरी सूर्य किन रातो देखिन्छ
रङ्गीन आकाश र सूर्य धेरैलाई रोमाञ्चक लाग्छ। तर के तपाईँलाई किन त्यस्तो देखिन्छ भन्ने थाहा छ?
प्राय: सूर्योदय वा सूर्यास्तका बेला त्यस्तो दृश्य देखिन्छ।
सूर्य रातो बन्छ र आकाश सुन्तला, गाढा रातो वा बैजनी देखिन्छ।
यो काव्यात्मक हुन्छ, रोमाञ्चक हुन्छ र बारम्बार भइरहन्छ। त्यसो हुनुका वैज्ञानिक कारणहरू छन्।
तपाईँ आफैँ पनि हेर्नुहोस्। तर सूर्यतिर सोझै हेर्नुहुँदैन है! अनि दूरबिन त झन् प्रयोग गर्नै हुँदैन।
नाङ्गो आँखाले प्रकाशपुञ्ज सूर्य हेर्दा आँखाको ज्योति गुम्न सक्छ र सबैतिर अन्धकार हुने स्थिति आउन सक्छ!
कारण
रङ्गीन सूर्यको अद्भुत दृश्यले तपाईँलाई निःशब्द बनाइदिन सक्छ। तर किन देखिन्छ त त्यस्तो दृश्य?
रोयल म्यूजीअम्स ग्रेनिचका खगोलशास्त्री एड्वर्ड ब्लूमर भन्छन्, "रहस्योद्घाटन गरेकोमा क्षमा चाहन्छु, तर यो सबै वैज्ञानिक कारणले हुन्छ।"
सबैभन्दा पहिले हामीले प्रकाशबारे बुझ्नुपर्छ। देख्न सकिने सबै रङ्गहरू मिलेर प्रकाश बनेको हुन्छ। ती रङ्ग रातो, सुन्तला, पहेँलो, हरियो, नीलो, इन्डिगो (नीर) र बैजनी हुन्।
"यो भनेको सूर्यको प्रकाश छरिनु हो र त्यो बराबरी छरिएको हुँदैन," ब्लूमर भन्छन्।
प्रत्येक रङ्गको तरङ्गको छुट्टै लम्बाइ हुन्छ, त्यसैका आधारमा उक्त रङ्ग विशिष्ट देखिन्छ। उदाहरणका लागि बैजनी तरङ्गको लम्बाइ कम हुन्छ तर रातोको बढी हुन्छ।
दोस्रो चरण भनेको हाम्रो वायुमण्डको संरचना बुझ्नु हो। वायुमण्डलमा विभिन्न ग्यासका तहहरू हुन्छन्, तीमध्ये हामीलाई सास फेर्न चाहिने अक्सिजन पनि पर्छ।
छरिएको प्रकाश
सूर्यको प्रकाश विभिन्न घनत्व भएका ग्यासहरूका विभिन्न तहभित्र छिर्दा ती ग्यासहरू प्रिजमजस्तै बन्छन् र प्रकाशका रङ्गहरू छरिन पुग्छन्।
वायुमण्डलमा भएका विभिन्न कणले यसरी छरिएको प्रकाशलाई परावर्तन गराउँछन्।
सूर्योदय वा सूर्यास्त हुँदा एउटा निश्चित कोणबाट सूर्यका किरणहरू वायुमण्डलको माथिल्लो तहमा पर्छन् अनि "चमत्कार" सुरु हुन्छ।
सूर्यको किरण वायुमण्डलको माथिल्लो भागमा प्रवेश गरेपछि नीलो तरङ्ग विभाजित हुन्छ र त्यो हराउनुको साटो परावर्तित हुन पुग्छ।
"सूर्य क्षितिजमा तल हुँदा नीलो र हरियो तरङ्ग छरिएर टाढा पुग्छन्। त्यसैले हामी सुन्तला वा चम्किलो रातो मात्र देख्छौँ," ब्लूमर भन्छन्।
तर आकाश निकै रातो देखिन्छ नि!
धेरैलाई यस्तो लाग्नसक्छ, तर यो त देखिएको मात्र हो। सूर्य त अलिकति पनि परिवर्तन भएको हुँदैन।
तपाईँ कहाँ हुनुहुन्छ भन्ने कुराले पनि तपाईँले कस्तो सूर्य देख्नुहुन्छ भन्ने निर्धारण गर्छ।
"धूलो, बादल, धुवाँआदि कुराले पनि तपाईँले कस्तो आकाश देख्नुहुन्छ भन्ने कुरालाई प्रभाव पार्छन्," ब्लूमर भन्छन्।
तपाईँ यदि भारत, क्यालिफोर्निया, चिले, अस्ट्रेलिया वा अफ्रिकाको केही भागमा हुनुहुन्छ वा अन्यत्र नै रातो बालुवा वा धूलोनजिकै हुनुहुन्छ भने मौसमअनुसार तपाईँ रहेको क्षेत्रका कणहरू प्रकाशमा सक्रिय हुन सक्छन्।
"यो भनेको केही मात्रामा मङ्गल ग्रहमा के हुन्छ भन्ने जस्तै हो। रातो धूलो हावामा मिसिँदा त्यसले आकाश गुलाबी रातो रहेछ भन्ने आभास दिन्छ," उनी भन्छन्।
यसरी वायुमण्डलमा धूलो मिसिने स्थानभन्दा धेरै नै टाढासम्म पनि त्यस्ता कणहरू पुग्ने भएकाले अन्यत्रबाट पनि त्यस्तो देखिन सक्ने उनी बताउँछन्।
अहिले किन रातो सूर्य देखिएको हो?
अहिले जे भइरहेको छ त्यो खासै नौलो कुरा होइन। तर अहिले हाम्रो हेर्ने तरिका फेरिएको छ।
"यो लकडाउनभरि मानिसहरूले आकाशमा धेरै ध्यान दिएको हामी पाउँछौँ," ब्लूमर भन्छन्, "सायद गर्नका लागि धेरै काम नभएर होला।"
धेरै मानिसहरू घरमै बसेका छन् र आफूवरिपरि भएको प्रकृति हेरिरहेका छन्।
धेरै विमानहरू नउडेकाले प्रदूषण घटेको छ। त्यसैले पनि आकाश खुलेको छ।
आकाश दिउँसो किन नीलो देखिन्छ?
उच्च बिन्दुमा हुँदा सूर्यको प्रकाश नटुक्रीकन वायुमण्डलभित्र छिर्छ। त्यसले गर्दा आकाश नीलो देखिन्छ।
तर मौसमअनुसार यो बदलिन पनि सक्छ।
घाम लागिरहेका बेला पानी पर्यो भने प्रकाशमा रहेका रङ्गहरू छरिन पुग्छन् र सातवटै रङ्गहरू इन्द्रेनी बनेर वायुमण्डलमा देखिन सक्छन्।
उन्नाइसौँ शताब्दीका भौतिकशास्त्री लर्ड रेले सूर्यको प्रकाश र आकाश हेरेरै धेरै लामो समय बिताएका थिए।
उनी नै आकाश किन नीलो हुन्छ भनेर बताउने पहिलो व्यक्ति थिए।