सुन तोलाको एक लाख रुपैयाँभन्दा बढी तर व्यवसायी घोर निराशामा

तस्बिर स्रोत, EPA
तपाईँ कल्पना गर्न सक्नुहुन्छ १२ वर्ष अगाडिसम्म सुनको मूल्य तोलाको १२,००० रुपैयाँ हाराहारी थियो।
बुधवार नेपालको बजारमा सुनको भाउ पहिलोपटक लाख नाघ्दै प्रतितोला १०१,४०० रुपैयाँ कायम हुँदै गर्दा त्यो कल्पना आश्चर्यजनक लाग्न सक्छ।
सुनचाँदी क्षेत्रका पुराना अग्रणी व्यवसायी तेजरत्न शाक्यले बुधवार विगतलाई यसरी सम्झिए: "सुनको भाउ २०६४ सालभन्दा अगाडिसम्म बाह्र हजार रुपैयाँ प्रति तोला थियो। तर त्यसपछि यसरी तेज गतिमा यसको भाउ बढ्न थाल्यो कि केही वर्षमै सत्तरी हजार पुग्यो।"
"एकपटक फेरि घटेर पचास हजार हाराहारीमा आइपुगेको थियो तर अहिले त तोलाकै एक लाख रुपैयाँ नाघेको छ।"
२०६४ सालताका विश्वव्यापी आर्थिक मन्दीको बेला थियो र त्यसले सुनको भाउ प्रभावित भएको थियो।
सुनको भाउ उसको नाउँ जत्तिकै चम्किँदै गएको छ तर सुनौलो भविष्य देखेर यसमा लागेका हजारौँ व्यवसायीहरू भने घोर निराशामा परेको बताउँछन्।
व्यवसायी किन निराश?
नेपाल सुनचाँदी व्यवसायी महासङ्घको आँकडा अनुसार सन् २०२० ज्यानुअरी १ तारिखमा प्रतितोला ७३,५०० रुपैयाँमा बिकिरहेको सुन बुधवार १,०१,४०० रुपैयाँ पुगेको छ।
चाङ्गका चाङ्ग सुन पसलमा भएका व्यवसायीहरू यस पहेँलो धातुको भाउ यसरी बढ्दा निकै खुसी भएको हुनुपर्ने धेरैले ठान्छन्। तर स्थिति उल्टो देखिन्छ।

मोहनकुमार सुनार नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष हुन्।
सुन तोलाको लाख नाघेको दिन उनलाई सम्पर्क गर्दा सुनार निकै निराश मुद्रामा थिए।
"हाम्रो त व्यवसाय नै चौपट भएको छ। व्यापार ठप्प छ। ब्याङ्कको कर्जा र किस्ता कसरी तिर्ने, घरखर्च कसरी चलाउने भन्ने चिन्ताले गाँजेको छ," उनले दुखेसो सुनाए।
महासङ्घका महासचिव हुन् धर्मसुन्दर बज्राचार्य जसको नयाँ बानेश्वरमा पसल छ।
"अब त स्थिति कस्तो भयो भने अलिअलि सुन सिसाको दराजमा देखाएर बेच्न पनि डर मान्नुपर्ने छ। भाउ बढेको हुनाले आपराधिक मानसिकता भएकाहरूको आँखा परेको छ एकातिर भने अर्कोतिर पसल खोलेपनि ग्राहक आएका छैनन्," बज्राचार्यले भने।
पुराना स्टक राख्ने व्यवसायीहरूलाई भाउ बढ्दा स्वत: केही फाइदा त हुने तर व्यापार वा किनबेच नै नहुने भएपछि त्यसको महत्त्व नहुने शाक्य ठान्छन्।
केही समयअगाडि लगातार सुनको भाउ बढेपछि व्यवसायीहरूलाई अब मानिसहरू बेच्नका निम्ति बजारमा ओइरिन्छन् भन्ने लागेको थियो तर त्यसो भएन।
"शायद अझै बढ्ने आशमा मानिसहरूले बेचेका पनि छैनन्," बज्राचार्य भन्छन्।
"एक वर्ष अगाडिसम्म वर्षको ८-९ हजार किलो सुन विक्री हुन्थ्यो। त्यो अहिले नगण्य भएको छ," बज्राचार्य बताउँछन्।

तस्बिर स्रोत, AFP
उनका अनुसार सरकारको नियमले दैनिक २० किलोसम्म सुन वितरण गर्न पाइनेमा अहिले कोरोनाभाइरस सङ्कटका बेला यसको खपत घटाएर विदेशी मुद्राको सञ्चिति जोगाउने उद्देश्यले दैनिक १० किलोसम्म वितरण गर्न पाइने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
त्योबाहेक विदेशबाट फर्किएका नेपालीहरूले गहनाका रूपमा ५० ग्रामसम्म सुन ल्याउन पाउने नियम छ।
"कारोबार नै हुन छाडेपछि यी सीमाको पनि अर्थ रहन छाडेको छ," उनले भने।
के अझै बढ्छ सुनको भाउ?
राष्ट्र ब्याङ्कको आँकडा अनुसार गत वर्षको ११ महिनामा ३१ अर्ब रुपैयाँ बराबरको सुन आयात भएकोमा असारमा सकिएको अघिल्लो आर्थिक वर्षको सोही अवधिमा त्यो ५६ प्रतिशतले घटेर १३ अर्बमा झरेको छ।
अहिलेको मूल्य वृद्धिको मुख्य कारण अन्तर्राष्ट्रिय बजारको अवस्था नै हो।
एकातिर कोरोनाभाइरसको सङ्क्रमणले शिथिल बनेको विश्वव्यापी अर्थतन्त्रमा लगानीकर्ताहरू सुनमा आकर्षित भएका छन् भने अर्कोतिर चीन र अमेरिकाबीच चर्किएको तनाव तथा अमेरिकी केन्द्रीय ब्याङ्कले घटाएका ब्याजदरका कारण पनि सुनको भाउ बढिरहेको छ।
यो कहाँसम्म पुग्ला भन्न सकिने स्थिति देखिँदैन।








