कोरोना भाइरस उत्तर कोरिया: 'पहिलो सम्भावित घटना देखिएपछि' उच्च सतर्कता

तस्बिर स्रोत, Reuters
उत्तर कोरियामा कोरोनाभाइरसको शङ्का गरिएको पहिलो घटना भेटिएको त्यहाँको एक सरकारी सञ्चारमाध्यमले जनाएको छ।
समाचार संस्था केसिएनएका अनुसार तीन वर्षअघि दक्षिण कोरिया भागेर पुगेका एक व्यक्ति दुई देशलाई छुट्याउने रेखावारि देखा परेका थिए र उनमा कोरोनाभाइरसका लक्षणहरू थिए।
नेता किम जङ-अनले शीर्ष अधिकारीहरूसँग एउटा आपत्कालीन बैठक गर्दै उक्त सीमावर्ती शहर केसङमा लकडाउन जारी गरेका छन्।
आफ्ना गतिविधि एवम् विवरणहरू गोप्य राख्ने गरेको उत्तर कोरियाले यसअघि त्यहाँ कोभिड-१९ का कुनै घटनाहरू नभएको बताएको थियो।
तर विश्लेषकहरू त्यस्तो सम्भव नहुने बताउँछन्।
समाचारमा के भनिएको छ?
केसिएनएले भनेको छ: "केसङ शहरमा आपत्कालीन रूपमा एउटा घटना भएको थियो। जहाँ तीन वर्षअघि गैरकानुनी रूपमा सीमा छुट्याउने रेखा काटेर दक्षिण कोरिया पुगेका एक व्यक्ति १९ जुलाईमा फर्किएका थिए।"
शनिवारको पोलिटब्यूरो बैठकमा नेता किमले भाइरसलाई परास्त पार्न 'उच्चतम आपत्कालीन प्रणाली' लागु गर्न आदेश दिएका थिए।

तस्बिर स्रोत, Getty Images
उक्त समाचार संस्थाका अनुसार किमले ती व्यक्तिबारे अनुसन्धान समेत सुरु गरेका छन्।
जसमा निकै कडा सुरक्षा र निगरानी हुने उक्त क्षेत्रमा फर्कन ती व्यक्ति कसरी सफल भए भन्ने खोजिनेछ।
र त्यसमा जिम्मेवार व्यक्तिहरूलाई 'निकै कडा सजाय' दिइने चेतावनी दिइएको छ।
'हालै आउजाउ भएको देखिँदैन'- सोल
त्यति नै बेला दक्षिण कोरियाले असैनिकृत सीमा क्षेत्रमा हालै गैरकानुनी रूपमा कुनै आउजाउ भएको नदेखिएको जनाएको छ।
विश्वभर कोरोनाभाइरस फैलिरहँदा उत्तर कोरियाले आफ्नो सीमाना बन्द गर्दै हजारौँ मानिसहरूलाई ६ महिनासम्म आइसोलेसनमा राखेको थियो।
यो महिनाको सुरुमा किमले कोभिड-१९ सँग जुझ्ने मामिलामा आफ्नो देशले 'प्रशंसायोग्य सफलता' हासिल गरेको दाबी गरेका थिए।








