कोरोना भाइरस नेपाल: लकडाउन खुलेपछि सरकार र नागरिकले 'गर्नैपर्ने तीन-तीन काम'

लकडाउन खुलेपछि सडकमा सवारी साधनको सङ्ख्या बढेको छ

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, लकडाउन खुलेपछि सडकमा सवारी साधनको सङ्ख्या बढेको छ

सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै देशैभरि भिडभाड बढेर कोरोनाभाइरसको जोखिम थप वृद्धि भएको चिन्ता व्यक्त भइरहेका बेला जनस्वास्थ्यविद्हरूले अब रोगबाट बच्न "थप सुरक्षात्मक उपाय अपनाउने जिम्मेवारी नागरिकहरूको काँधमा आएको" बताएका छन्।

उनीहरूले नागरिकहरूले विशेष सतर्कता र सुरक्षात्मक उपाय अपनाउनु पर्ने र सरकारले समुदायस्तरमा परीक्षणको दायरा बढाउनुपर्ने सुझाव पनि दिए।

मङ्गलवार राति १२ बजेदेखि देशव्यापीरूपमा लगाइएको लकडाउन सकिएको सरकारी निर्णय आएपछि देशैभरि मानिसहरूको चहलपल बढेको विवरणहरू आएका छन्।

सडकमा केही मात्रामा सार्वजनिक यातायातका साधनहरू गुडेका छन् भने कतिपय व्यावसायिक क्षेत्र र सरकारी तथा निजी कार्यालयहरू खुलेका छन्।

त्यसले जताततै भिडभाड बढाउँदा सामाजिक दूरी कायम नभएकाले सङ्क्रमणको जोखिम निकै बढेको जनस्वास्थ्यविद्हरूको भनाइ छ।

यस्तो जोखिम कम गर्न नागरिकहरू र सरकारले गर्नुपर्ने आवश्यक कुराहरू के-के हुन्?

जनस्वास्थ्यविद्हरूकाअनुसार नागरिकले सतर्क रहन गर्नुपर्ने कुराहरू:

१. उत्साहित नहुनु

जनस्वास्थ्यविद्हरूले लकडाउन खुले पनि नागरिकहरूलाई उत्साहित भएर पहिलेकै जस्तो जीवनशैली नअपनाउन सुझाव दिएका छन्।

उनीहरूका अनुसार नेपालमा कोरोनाभाइरसको जोखिम शून्य भएको वा घटेको भन्दा पनि कायम रहेकाले "मानसिक र व्यावहारिक रूपमा" निश्चिन्त हुने अवस्था छैन।

नेपाल जनस्वास्थ्य सङ्घका पूर्व अध्यक्ष एवम् एकजना जनस्वास्थ्यविद् भोगेन्द्रराज डोटेल भन्छन्, "अब सङ्क्रमणबाट बच्न हामी आफैँले सजग हुनुपर्ने बेला आएको छ। कसैको अनुहार हेरेर त उसलाई कोरोनाभाइरस लागेको छ वा छैन थाहा हुँदैन। त्यसैले 'आफ्नो पोको बलियो पार्नु अरूलाई दोष नलगाउनु' भनेझैँ आफैँ सतर्क रहनुपर्छ।"

उनले सङ्क्रमण रोक्न अपनाउनुपर्ने न्यूनतम मापदण्ड अपनाउन सबैलाई आग्रह गरे।

सरुवा रोगका विज्ञ डा. बाबुराम मरासिनी लकडाउन हट्दा अहिले धेरैले कोरोनाभाइरस समाप्त भएजस्तो गरी व्यवहार गरेको भन्दै "सबैले कोरोनाभाइरस लाग्न सक्छ" भन्ने सोचेर हिँड्नुपर्ने सुझाव दिन्छन्।

२. सुरक्षाका उपाय अपनाउन जारी राख्नु

लकडाउन हटेपछि भिडभाड बढेर जोखिम थप वृद्धि भएकाले सामाजिक र शारीरिक दूरी कामय गर्ने कुरा थप महत्त्वपूर्ण हुन पुगेको विज्ञहरूको भनाइ छ।

न्यूरोडमा मानिसको भिड

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, न्यूरोडमा मानिसको भिड

नेपालमा अधिकांश सङ्क्रमितहरूमा लक्षण नदेखिएकाले जोखिम धेरै रहेको उनीहरू बताउँछन्।

"अब सामाजिक दूरी कायम गर्ने, बारम्बार हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्ने, मास्क लगाउनेजस्ता कुरामा झन् धेरै ध्यान दिनुपर्छ," डोटेल भन्छन्, "लकडाउन खुले पनि आवश्यक नपर्दासम्म घरबाट बाहिर ननिस्कनु नै उत्तम हुन्छ।"

उनी अब नागरिकहरूले पहिले भन्दा पनि बढी सतर्क हुने र कुनै पनि लक्षण देखिनेबित्तिकै नजिकैको स्वास्थ्य संस्थामा गइहाल्ने अवस्था आएको बताउँछन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल अनुसन्धान एकाइ प्रमुख डाक्टर शेरबहादुर पुन सङ्क्रमणबाट जोगिनका लागि अब सर्वसारधाणले सार्वजनिक यातायात र कार्यालयहरूमा विशेष सतर्कता अपनाउनुपर्ने सुझाव दिन्छन्।

उनी भन्छन्, "बसहरूमा सङ्क्रमण फैलने खतरा बढी हुने भएकाले यात्रा गर्दा सकेसम्म भाडा ठीक पारेर दिने र धेरैले प्रयोग गरेको पैसा कम प्रयोग गर्ने बानी बसाल्नुपर्छ। चालक सहचालकले पनि सुरक्षाका उपाय अपनाउनु पर्छ। गाडीमा बस्दा पनि सामाजिक दूरी कायम गरेर बस्नुपर्छ।"

पुन कार्यालयहरूमा पनि पहिलेको जस्तो नजिकै बसेर काम गर्ने भन्दा पनि दूरी कायम गर्नुपर्ने तथा चिया र खाजा खाने बहानामा भिडभाड गर्ने चलनलाई निरुत्साहित गर्नुपर्ने बताउँछन्।

त्यस्तै एउटै कार्यालयमा एकै स्थानमा बसेर फरक मानिसहरूले काम गर्नुपर्ने अवस्था रहेमा एक व्यक्तिले छाडेपछि निर्मलीकरण गर्नुपर्ने पनि उनको सुझाव छ।

सेवाग्राही र सेवाप्रदायक दुवैले सुरक्षाका उपाय अपनाएर मात्र सेवा प्रवाह गर्नुपर्ने जनस्वास्थ्यविद्हरू बताउँछन्।

३. 'अरूको बारेमा पनि सोच्नुहोस्'

जनस्वास्थ्यविद्हरू अब सबै नागरिकले पहिलेभन्दा पनि बढी अन्यको बारेमा सोच्नुपर्ने बेला आएको बताउँछन्।

सवारी साधन

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, कतिपय सवारीसाधनमा सावधानी नअपनाइकनै यात्रु राखिएको पाइएको छ

उनीहरूका अनुसार अहिले कतिपय व्यक्तिहरूले 'म त युवा उमेरको छु त्यसैले केही हुँदैन' भन्ने जस्तो व्यवहार देखाएको देखिएको छ।

"तर त्यही व्यक्तिको घरमा वृद्धवृद्धा वा दीर्घरोगीहरू हुनसक्छन्। उसको सम्पर्कमा पनि त्यस्ता व्यक्ति पुग्नसक्छन्। त्यसैले सबैले 'मलाइ केही नभए पनि अरूलाई हुनसक्छ' भन्ने सोचिदिनुपर्छ," मरासिनी भन्छन्।

जनस्वास्थ्यविद्का नजरमा सरकारले गर्नुपर्ने कामहरू:

१. समुदायमा परीक्षण बढाउनु

लकडाउन अन्त्य भएको खबरसँगै कतिपय जिल्लाहरूमा समुदायस्तरमा सङ्क्रमण भेटिएको सङ्केत पाइएको व्यहोराका खबरहरू पनि आइरहेका छन्।

बिरामीको विवरण टिप्दै

तस्बिर स्रोत, RSS

अधिकारीहरूले भने कोरोनाभाइरस समुदायस्तरमा फैलिएको भनेर आधिकारिक रूपमा बताइसकेका छैनन्।

यस्तो अवस्थामा अब सरकारले पुरानो मापदण्डलाई परिवर्तन गर्दै समुदायस्तरमा व्यापक परीक्षण अघि बढाउनुपर्ने जनस्वास्थ्यविद्हरूको सुझाव छ।

यसरी परीक्षण गरिएमा सङ्क्रमणको वास्तविक अवस्था जानकारी हुने डोटेल बताउँछन्।

पुन पनि उनको मतसँग सहमत छन्। उनी समुदायस्तरमा सङ्क्रमणको सङ्केत पाइएका क्षेत्रमा परीक्षण व्यापक बनाएर यथार्थ पत्ता लगाउनुपर्ने सुझाव दिन्छन्।

२. वृद्धवृद्धा र दीर्घरोगी लक्षित सतर्कता अपनाउनु

विज्ञहरू अब सरकारले वृद्धवृद्धा र दीर्घरोगीहरूलाई लक्षित गरेर सङ्क्रमण नियन्त्रण तथा रोकथामका उपायहरूलाई अघि बढाउनुपर्ने सुझाव दिन्छन्।

नेपालमा कोभिड-१९ बाट मृत्यु भएकामा अधिकांश दीर्घरोगी भएको देखिएको भन्दै उनीहरूले सरकारले अब जोखिम क्षेत्रमा गरिने परीक्षणमा पनि दीर्घरोगी र वृद्धवृद्धालाई प्राथमिकता दिनुपर्ने बताए।

पुन भन्छन्, "अब हामीले जोखिममा परेका क्षेत्र र समूहलाई छुट्ट्याएर परीक्षण बढाउनुपर्ने हुन्छ। अबको ध्यान त्यतातर्फ जानुपर्छ।"

विशेषगरी राजधानी काठमाण्डूसहित शहरी क्षेत्रमा यस्ता जोखिम समूहका नागरिकहरूको सङ्ख्या धेरै भएकाले ती क्षेत्रमा सरकारले विशेष ध्यान पुर्‍याउनुपर्ने जनस्वास्थ्यविद्को भनाइ छ।

३. मापदण्ड बनाउनुपर्ने र अनुगमन गर्नुपर्ने

कतिपय जनस्वास्थ्यविद् चाहिँ सरकारले लकडाउन अन्त्य गर्ने र विभिन्न पेशा व्यवसाय खोल्ने निर्णय गरे पनि त्यसै अनुसार मापदण्ड नबनाएकाले समस्या उत्पन्न हुनसक्ने देख्छन्।

त्यस्तैमध्येका एक जनस्वास्थ्यविद् मरासिनी सरकारलाई होटल रेस्टुराँदेखि यातायातसम्मका लागि मापदण्डहरू बनाउन र समुदायस्तरमा परीक्षण बढाउन सुझाव दिन्छन्।

उनी भन्छन्, "सरकारले विभिन्न क्षेत्र खोल्ने भने पनि ती हरेक क्षेत्रमा कस्ता सुरक्षात्मक उपाय अपनाउनुपर्ने हो भन्नेबारे मापदण्ड बनाइएको देखिँदैन। त्यो नगरी सङ्क्रमण थप बढ्नसक्ने देखिन्छ। सरकारले त्यसतर्फ ध्यान दिनुपर्छ।"

उनी सार्वजनिक स्थलमा सावधानी अपनाइएको वा नपनाइएकोबारे सरकारले निगरानी र अनुगमन गर्नुपर्ने पनि बताउँछन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर