कोरोना भाइरस चीन: छ महिनासम्म बन्द रहेका सिनेमाघर खुल्न थाले

तस्बिर स्रोत, Getty Images
चीनमा कोरोनाभाइरस सङ्क्रमण फैलनबाट रोक्ने प्रयास अन्तर्गत बन्द रहेका सिनेमाघरहरू फेरि खुला गर्न लागिएको छ।
चिनियाँ चलचित्र प्रशासनले सोमवारदेखि " कम जोखिम भएका" स्थानहरूमा सिनेमाघर खोल्न सकिने बताएको छ।
चीनका अधिकांश स्थानलाई कम जोखिम भएका क्षेत्रका रूपमा वर्गीकरण गरिएका कारण यो नयाँ निर्णयको अर्थ देशभरिका लगभग सबै सिनेमाघर खुल्ने अनुमान छ।
ज्यानुअरीमा सुरु भएको लकडाउनले चीनका सिनेमाघरहरू नराम्ररी प्रभावित भएका र केही स्थायी रूपमा बन्द भइसकेका छन्।
खुल्ने सिनेमाघरहरूले कुल क्षमताको ३० प्रतिशतमात्रै दर्शक राख्नुपर्ने र पहिले देखाउने गरेकोभन्दा आधा सङ्ख्यामा मात्रै चलचित्र देखाउन पाइने कडा नियम पालना गर्नु पर्नेछ।
दर्शकहरूको शरिरको तापक्रम नापिने छ र दर्शक र सिनेमाघरका कर्मचारी सबैले जुनसुकै बेलापनि अनिवार्यरूपमा मास्क लगाउनु पर्नेछ।
चलचित्रको टिकट अनलाइन किन्नुपर्ने र फरक समूहका दर्शकहरू कम्तीमा एक मिटर दूरी कायम गरेर बस्नुपर्ने नियमहरू लगाइएको छ।
नयाँ सुरक्षा नियमहरूमा सिनेमाघरमा खानेकुरा र पेय पदार्थ बेच्न नपाइने पनि रहेको छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

पछिल्लो कोरोनाभाइरस सङ्क्रमणको पहिलो केन्द्रविन्दु रहेको चीन चलचित्रको लागि विश्वको दोस्रो ठूलो बजार हो।
सन् २०१९ मा त्यहाँ चलचित्रको बजार नौ अर्ब डलरभन्दा बढी रहेको थियो।
तर यो वर्ष धेरै चिनियाँ र अङ्ग्रेजी चलचित्रहरूको प्रदर्शन रद्द भएकोले त्यो बजार नराम्ररी खस्किने अपेक्षा गरिएको छ।
जुलाई महिनाको सुरुमा चीनको सबैभन्दा धेरै सिनेमाघरहरूको स्वामित्व रहेको कम्पनी वान्डा फिल्मले यो वर्षको छ महिना घाटा हुने जनाएको थियो।
चीनभरि ६०० भन्दा बढी सिनेमाघर रहेको सो कम्पनीले एक दशमलव छ अर्ब युआन घाटा बेहोर्नु पर्ने अनुमान गरेको जनाएको छ।








