कोरोना भाइरस नेपाल: कोरोनाभाइरसको आरडीटी परीक्षण बन्द
कोरोनाभाइरस सङ्क्रमण पहिचानका लागि हुँदै आएको र्यापिड डाईअग्नस्टिक टेस्ट आरडीटी परीक्षण बन्द गर्ने निर्णय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको छ।
मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारी भन्छन्, "आरडीटी किट मौज्दातमा छैनन् र स्थानीय तहमा केही किट बाँकी रहे पनि कोरोनाभाइरस पहिचानका लागि त्यो प्रयोग नगर्ने निर्णय मन्त्रालयले गरेको छ।"
देशभर कुल ३,१८, ४६१ आरडीटी परीक्षण गरिएकोमा १८,९६३ पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क छ।
विवादास्पद आरडीटी परीक्षण बन्द गरेर पीसीआर परीक्षण मात्रै गर्नुपर्ने माग राखेर युवाहरूले केही दिनदेखि सरकारविरोधी प्रदर्शन गरिरहेका थिए। यसै हप्ता मन्त्रालय र अनशनरत युवाहरूबीच आरडीटी प्रयोग स्थगित गर्ने सहमति पनि भएको थियो।
निगरानी र अनुसन्धान मात्रै
डा. अधिकारीले आरडीटी परीक्षण कोरोनाभाइरस सङ्क्रमण पहिचानका लागि नभई निगरानी राख्न र अनुसन्धान गर्न मात्रै प्रयोग गरिएको दाबी गरे।
उनले भने, "कोरोनाभाइरस परीक्षण गर्न आरडीटी हिजो पनि प्रयोग गरिएको थिएन, आज पनि गरिएको छैन र भोलि पनि गरिने छैन।"
उनले बाँकी रहेका आरडीटी किट अनुसन्धानका लागि प्रयोग गर्न सकिने बताए।
डा. अधिकारीका अनुसार मन्त्रालयले थप आरडीटी खरिद प्रक्रिया र त्यसको प्रयोगलाई पूर्ण रूपमा बन्द गरिसकिएको छ।

तस्बिर स्रोत, RSS
बैशाखदेखि परीक्षण
कोरोनाभाइरस सङ्क्रमण फैलिने जोखिम बढ्दै गएपछि परीक्षण विस्तार गर्न आरडीटी परीक्षण बैशाखमा पनि देशका ५६ जिल्लाहरूमा सुरु गरिएको थियो।
त्यतिबेलै त्यो परीक्षणले 'सङ्क्रमित व्यक्तिको नतिजा नेगेटिभ र सङ्क्रमण नभएका व्यक्तिलाई पोजिटिभ देखाएको' भन्दै विश्वसनीयतामाथि कतिपयले प्रश्न उठाएका थिए।
सरकारी अधिकारीहरूले भने आरडीटी र पीसीआर विधिले दिने परिणाम र उद्देश्यबारेको अनभिज्ञताले भ्रम परेको बताएको थियो।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

कुन परीक्षणबाट के पत्ता लाग्छ?
पीसीआरले शरीरमा भाइरस छ कि छैन पत्ता लगाउँछ।
स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ भनाइमा सुरुको दुई हप्तामा पीसीआरमा भाइरस पोजिटिभ देखिन्छ।
उनी भन्छन्, "आरडीटीले भाइरस शरीरमा प्रवेश गरेपछि एन्टीबडी (शरीरले बाह्य पदार्थसँग लड्न बनाउने तत्व) बनेको छ कि छैन भनेर हेर्छ।"
आरडीटी परीक्षण के हो?
मानिसको शरिरमा भाइरस सङ्क्रमणको विरूद्धमा बनाएको एन्टीबडी रहे नरहेको हेर्न छिटो र सहज परीक्षण आरडीटी हो।
शरीरमा एन्टीबडी भएको अवस्थामा परीक्षणको नतिजा पोजिटिभ आउँछ तर पीसीआर परीक्षणमा त्यो व्यक्तिको नतिजा नेगेटिभ देखिन सक्छ।
जनस्वास्थ्य अनुसन्धानकर्ता तथा वैज्ञानिक डा. समीरमणि दिक्षितका अनुसार आरडीटी पोजिटिभ र पीसीआर नेगेटिभ भनेको कुनै समयमा त्यो व्यक्तिमा भाइरस सङ्क्रमण थियो तर सङ्क्रमण बाँकी नरहेको अवस्था हो।