सशर्त सवारीसाधन चल्न दिने सरकारको निर्णय, विज्ञ भन्छन्: ‘सङ्क्रमणको ठूलो जोखिम’

तस्बिर स्रोत, RSS
सरकारले सार्वजनिक यातायात सशर्त सञ्चालन गर्न दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना गरिने नियमित पत्रकार सम्मेलनका क्रममा बिहीवार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सवारीसाधन सञ्चालनसम्बन्धी निर्णयबारे जानकारी गराएका हुन्।
कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामलाई ध्यानमा राख्दै गत जेठ २८ र असार १५ गते गरिएको सार्वजनिक यातायात बन्द गर्ने निर्णयमा सरकारले परिमार्जन गरेको हो।
"काठमाण्डू उपत्यकाका तीन जिल्ला र उपत्याका बाहिरका सम्बन्धित जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय भएको हो," मन्त्री खतिवडाले भने।
शर्तहरू के छन्?
उनका अनुसार काठमाण्डू उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सवारीसाधन चालकबाहेक दुईजना र एकै परिवारको भए बढीमा पाँच वर्षसम्मको बच्चा जोडिएर दुई जनाबाहेक काखमा बस्ने गरी यात्रा गर्न पाउने छन्।
ट्याक्सी सञ्चालनबारे पनि सरकारले यसअघिको निर्णयमा परिमार्जन गरेको छ।
जसअनुसार काठमाण्डू उपत्यकाको हकमा उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन हुने ट्याक्सी चालकबाहेक बढीमा दुईजना र परिवारभित्रको भए पाँच वर्षभित्रका बालबालिका समेतले यात्रा गर्न पाउने छन्।
काठमाण्डू उपत्यकाको हकमा उपत्यकाभित्र सबै जिल्लामा र अन्य जिल्लाको हकमा यात्रुवाहक सार्वजनिक यातायात चालकसहित सीट क्षमताको बढीमा ५० प्रतिशतसम्म यात्रु रहने गरी एक पङ्क्तिको एक सीटमा सामाजिक दूरी कायम हुने गरी एकजना यात्रु राख्नुपर्ने मन्त्री खतिवडाले बताए।

सबै यात्रुले अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने, यात्रु चढ्ने सयममा सवारीसाधनको ढोकामा र भित्र स्यानीटाइजरको व्यवस्था गर्नुपर्नेछ।
चालक तथा सहचालकले समेत अनिवार्य रूपमा मास्क, भाइजर र पञ्जा लगाउने तथा सवारीसाधनलाई दैनिक निःसङ्क्रमण गर्ने गरी सञ्चालन गर्नुपर्ने सरकारी निर्णय छ।
भाडा बढ्यो
ट्याक्सीबाहेक अन्य सवारीसाधनको हकमा व्यवसायीहरूले ५० प्रतिशत बढी भाडा लिन पाउने छन्।
"५० प्रतिशतभन्दा बढी क्षमतामा नचलाउने भएपछि सञ्चालन खर्चलाई ध्यानमा राखेर कोभिड-१९ सम्बन्धी आदेश रहेसम्म थप भाडा लिन पाउने गरी निर्णय गरिएको छ,"मन्त्री खतिवडाले थपे।
त्यसैगरी उद्योग, प्रतिष्ठान तथा निजी सेवा प्रदायकहरूले आफ्ना कर्मचारी ओसारपसार गर्दा पनि सामाजिक दूरी र सीट क्षमताको आधा मात्रा मान्छे राख्न पाउने छन्।
सङ्क्रमणको जोखिम
तर एकजना यातायातविद् आशिष गजुरेलले सरकारी मापदण्ड अनुसार सवारीसाधन सञ्चालन नगरिएमा त्यसले सङ्क्रमणको जोखिम अझ बढ्न सक्ने खतरा औँल्याउँछन्।
बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै उनले भने, "पहिलापहिला यात्रु कोचाकोच गरेर उनीहरू कमाउँथे। अहिले आएर सीटको आधा क्षमतामा यात्रु राख्न पाउने यो नियम मानेर चलाउनेमा मलाई शङ्का छ।"
"यदि सरकारले भनेका कुरा पूर्ण रूपमा पालना नभए अब त सङ्क्रमण अझ बढ्ने जोखिम रहन्छ," उनले थपे।
सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी अहिले सार्वजनिक यातायात सञ्चालन गर्ने उपयुक्त समय भइनसकेकोतर्फ सचेत गराउँछन्।
"अहिले आवागमन र भिडभाड बढ्नु खतरनाक हुन्छ, सार्वजनिक यातायात खोल्न दिने समय भएको छैन," बीबीसी न्यूज नेपालीसित उनले भने।
"सरकारको तथ्याङ्कले के भन्छ थाहा छैन तर सङ्क्रमण एकदम फैलिसकेको देखिन्छ।"


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा









