कोरोना भाइरस नेपाल: काठमाण्डूमा सङ्क्रमण 'समुदाय स्तरमा फैलिएको' आशङ्काकाबीच के गर्दैछ सरकार

काठमाण्डू

तस्बिर स्रोत, RSS

घना बस्ती भएको काठमाण्डूमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या थपिँदै गएको तथा ढलमा पनि उक्त भाइरसको 'स्ट्रेन' फेला परेको विवरणहरू सार्वजनिक भइरहेका बेला स्वास्थ्य मन्त्रालयले सङ्घीय राजधानीमा परीक्षण बढाउने तयारी गरिरहेको बताएको छ।

विभिन्न देशहरूबाट नेपाल फर्कन चाहनेहरूको उद्धार जारी रहेको तथा लकडाउन समेत खुकुलो पारिएको अवस्थामा सर्वसाधारणहरूबाट कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि भनेर तोकिएको मापदण्डको पालना नहुँदा सङ्क्रमितहरूको सङ्ख्या बढेको मन्त्रालयका सह-प्रवक्ता समीर अधिकारी बताँउछन्।

"सङ्क्रमितहरू प्राय:ले यात्रा गरेको देखिएको छ। त्यसैले काठमाण्डूमा अझै पनि सङ्क्रमण समुदाय स्तरमा फैलिसकेको छ भन्ने अवस्था छैन," अधिकारीले भने।

तर स्वतन्त्र विज्ञहरू सरकारी दाबीसँग सहमत देखिन्नन्। उनीहरूले काठमाण्डूमा सङ्क्रमण समुदाय स्तरमा पुगिसकेको बताउने गरेका छन्।

ढलमा भाइरस भेटिएको भए पनि त्यसकै आधारमा समुदायमा सङ्क्रमण फैलिसकेको भन्ने नमिल्ने अधिकारीको भनाइ छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

"अन्य देशहरूमा पनि ढलमा भाइरस देखिएका छन्। पछिल्लो रिपोर्टको प्राविधिक पक्ष मन्त्रालयले हेर्ने नै छ। ढलमा भाइरस देखिएकै अवस्थामा समेत त्यो नसरेको उदाहरणहरू धेरै ठाउँमा छन्," उनले भने।

"नेदरल्याण्ड जस्ता देशहरूमा समेत समुदाय स्तरमा सङ्क्रमण फैलनु अघि नै ढलमा भाइरस देखिएको थियो।"

योजना

सरकारी तथ्याङ्क अनुसार काठमाण्डू उपत्यकाको जनसङ्ख्या ४० लाख भन्दा बढी छ।

घना बस्ती भएका कारण उपत्यकामा विशेष सतर्कता अपनाइनुपर्ने मत विज्ञहरूले राखिरहेका बेला मन्त्रालयले चाँडै ठूलो सङ्ख्यामा परीक्षण गर्ने बताएको छ।

तर सरकारले यस अघि असार १५ बाट दैनिक १० हजार परीक्षण गर्ने भन्ने प्रतिबद्धता पूरा गर्न सकेन।

काठमाण्डू प्रवेश गर्नेहरू

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, लकडाउन खुकुलो बनाइएपछि काठमाण्डू प्रवेश गर्नेहरूको सङ्ख्या बढेको छ

"पछिल्लो समय परीक्षण घटाइएको भन्ने कुराहरू पनि आएका छन्। क्वारन्टीनमा रहेकाहरूको सङ्ख्या घट्दै गएको अवस्थामा त्यस्तो भएको हो। हामीले यात्राको विवरण र स्वास्थ्य अवस्थालाई आधार मानेर परीक्षण गर्ने हो," अधिकारीले बीबीसीलाई भने।

हाल नेपालका विभिन्न क्वारन्टीनहरूमा ३३,१२५ जना छन्।

तर काठमाण्डूमा विदेशबाट फर्केकाहरूको सङ्ख्यामा वृद्धि भएको अवस्थामा परीक्षणको दायरा व्यापक बनाउने विषयमा मन्त्रालयले तयारी थालेको उनी बताउँछन्।

"त्यसको गर्दा कुनकुन स्थानमा बढी ध्यान दिने भन्ने विषयमा हामी छलफल गरिरहेका छौँ," उनले भने।

त्यस बाहेक काठमाण्डूमा प्रयोगशालाहरू पनि थप गर्न लागिएको अधिकारीको भनाइ छ।

काठमाडूमा कोभिड-१९ परीक्षण गर्न सकिने सरकार मातहत रहेका पाँचवटा प्रयोगशाला सञ्चालनमा रहेको अधिकारी बताउँछन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता अन्यको भन्दा बढी छ।

त्यसबाहेक नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पतालसहित चारवटा अस्पतालमा प्रयोगशाला बनाउने तयारी भइरहेको मन्त्रालयको भनाइ छ।

यसअघि लकडाउनकै अवधिमा कालीमाटी तरकारी बजार लगायत उपत्यकाका विभिन्न स्थानबाट १० हजार नमुना सङ्कलन गरेर परीक्षण गरिएको थियो।

यस्तो परीक्षणले समुदायमा सङ्क्रमण पुगे नपुगेको थाहा हुनुका साथै परीक्षणका थप योजना बनाउन सहज हुने बताइएको छ।

स्वास्थ्य मन्त्रालयकै अनुसार नेपालमा अगस्ट महिनाको दोस्रो सातासम्ममा सङ्क्रमितहरूको सङ्ख्या ३० देखि ४० हजार पुग्ने सम्भावना छ।

पछिल्लो तथ्याङ्क अनुसार नेपालमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या १५,४९१ पुगेको छ। मृत्यु हुनेहरूको सङ्ख्या ३४ पुगेको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर