कोरोना भाइरस: के कोभिड-१९ ले मस्तिष्कमा क्षति पुर्याउँछ

तस्बिर स्रोत, Reuters
- Author, जो क्रोमियर
- Role, बीबीसी फ्यूचर
जुली हेल्म्सका लागि उत्तरी फ्रान्सको स्ट्रासबर्ग विश्वविद्यालय अस्पतालको सघन उपचार कक्षमा भएका केही बिरामीबाट यो अवस्था सुरु भयो।
केही दिनमै कक्षमा भएका सबै बिरामीलाई कोभिड-१९ भएको थियो र उनले ध्यान तानेको कुरा श्वासप्रश्वासमा देखिएको असहजता मात्रै थिएन।
"उनीहरू ज्यादै उत्तेजनामा थिए र धेरैमा भ्रमित हुने वा नानाथरी कुरा गर्ने जस्ता मस्तिष्कसम्बन्धी समस्या थिए," उनी भन्छिन्।
"यो एकदमै असामान्य थियो। धेरै डरलाग्दो पनि थियो किनभने उपचाररत धेरैजसो बिरामी ३० देखि ५० वर्षसम्मका थिए। एक जना त १८ वर्षका थिए।"
हेल्म्स र उनका सहकर्मीहरूले न्यू इङ्गल्यान्ड जर्नल अफ मेडीसीनमा एउटा सानो अनुसन्धान प्रकाशित गरेका छन् जसमा उनीहरूले कोभिड-१९ का बिरामीमा देखिएको मस्तिष्कसम्बन्धी समस्याहरूको विवरण छ।
ती सबै समस्या मस्तिष्कमा भएको क्षतिसँग सम्बन्धित छन् र फेब्रुअरीमा चीनको वुहानका बिरामीहरूमा अध्ययनकर्ताहरूले देखेको समस्यासँग मेल खान्छ।
अहिले विश्वभरि गरिएङ्का ३०० भन्दा बढी अध्ययनमा कोभिड-१९ का बिरामीमा मस्तिष्कसम्बन्धी असामान्य अवस्था रहेको पत्ता लागेको छ।
ती अवस्थाहरूमा टाउको दुख्ने, गन्ध सुँघ्ने क्षमतामा ह्रास र झमझम हुने खालका लक्षणदेखि बोल्न असहज हुने, मस्तिष्कघात र छारे रोगका लक्षणसम्म छन्।

तस्बिर स्रोत, Getty Images
हालैका दिनमा श्वासप्रश्वाससम्बन्धी रोग लगाउने मानिएको कोरोनाभाइरसले मिर्गौला, मृटु र अन्य लगभग शरीरका सबैअङ्गलाई असर गर्ने थाहा भएको छ।
"हामीलाई यो थाहा छैन कि अन्य भाइरसले भन्दा कोरोनाभाइरसले मस्तिष्कलाई बढी क्षति पुर्याउँछ कि पुर्याउँदैन तर हामीले यो धेरै मात्रामा देखिरहेका छौँ," स्नायुरोग विशेषज्ञ एलिसा फोरीले भनिन्।
"सङ्क्रमणका बिरामीहरू बढिरहँदा हामीले सामान्य खाल लक्षण मात्रै होइन, असामान्य खालका लक्षणहरू पनि देखिरहेका छौँ र ती सबै एकै पटक देखिरहेका छौँ जुन हामीले अहिलेसम्म जीवनकालमा देखेका थिएनौँ। "
कोरोनाभाइरस सङ्क्रमण देखिएका कतिमा मस्तिष्कसम्बन्धी समस्या देखिन्छ भन्ने कुराको तथ्याङ्क फरक छ तर आधा जसो व्यक्तिमा यस्ता समस्या देखिएको बताइन्छ।

तस्बिर स्रोत, Reuters
यस्तो समस्याको पहिचान गर्न कतिपय अवस्थामा चिकित्सकहरू सक्दैनन् किनभने यस्ता कतिपय अवस्थाका लक्षण धेरै देखिँदैन र सघन उपचार कक्षको वातावरण एवम् औषधिले पनि भूमिका खेल्छन्।
"कोरोनाभाइरस सङ्क्रमण भएका धेरै व्यक्तिको देखिने एउटै लक्षण भनेको भ्रमित हुनु हो," जोन्स हप्किन्स मेडीसीनका सह-प्राध्यापक रोबर्ट स्टेभेन्सले भने।
"हामी मस्तिष्कसम्बन्धी रोगको महामारीको सँघारमा छौँ।"
मस्तिष्कमा लक्षणहरू
अधिकांश अध्ययनकर्ताहरू कोरोनाभाइरसले यस्तो असर कि त मस्तिष्कमा अक्सिजनको मात्रा नपुगेर कि त शरीरको ज्वरोको कारण हुने मान्छन्।
फोरी र हेल्म्सको विचारमा स्नायुप्रणालीमा पर्ने असर कोरोनाभाइरससँग शरीरले जुझ्दा उत्पन्न हुने ज्वरोका कारण हो।
अन्य अध्ययनकर्ता भने स्पष्ट छैनन्, तर कोरोनाभाइरसले मस्तिष्कमै आक्रमण गर्ने प्रमाणहरू पनि फेला पर्न थालेका छन्।

तस्बिर स्रोत, AFP
"यदि तपाईँले मलाई एक महिनाअघि कोरोनाभाइरसकले रगत र मस्तिष्कको घेरा नाघ्न सक्छ भनेर सोधेको भए म सक्दैन भन्ने थिएँ तर अहिले धेरै अध्ययनहरूले यसले त्यसो गर्न सक्ने देखाएको छ," स्टेभेन्सले भने।
जापानमा एक २४ वर्षीय पुरुष आफ्नो बान्तामा लडेर बेहोस भएका थिए। उनलाई कामज्वरो आएको कारण अस्पताल लगिँदै थियो।
उनको मस्तिष्कको एमआरआईमा भाइरल मेनेन्जिटिस र मस्तिष्क-मेरुदण्डको तरल पदार्थमा कोरोनाभाइरसको उपस्थिति देखिएको थियो।
चिनियाँ अध्ययनकर्ताहरूले एक ५६ वर्षीय सङ्क्रमितको मस्तिष्क-मेरुदण्डको तरल पदार्थमा पनि भाइरसको निशान भेटेका थिए।

तस्बिर स्रोत, Reuters
इटलीमा कोरोनाभाइरसबाट मृत्यु भएका एक बिरामीको पोस्टमोर्टममा पनि अध्ययनकर्ताहरूले मस्तिष्कको रक्तनलीसँगैको कोषमा भाइरसको अंश भेटेका थिए।
अहिले केही वैज्ञानिकहरू कोरोनाभाइरस सङ्क्रमितको मृत्यु फोक्सोमा पुग्ने क्षतिको कारण नभई बेहोस हुँदा पनि श्वासप्रश्वास कायम गर्न निर्देशन दिने मस्तिष्कको भागमा पुग्ने क्षतिका कारण हुनसक्ने बताउँछन्।
मस्तिष्क सामान्यतया "रक्त-मस्तिष्क छेकबार" भनिने मस्तिष्क र मेरुदण्डको रक्तनलीमा हुने एक प्रकारको विशेष कोषका कारण सङ्क्रामक रोगबाट सुरक्षित रहन्छ। ती कोषले जीवाणु र अन्य हानिकारण तत्त्वलाई मस्तिष्क प्रवेश गर्न रोक्छ।
यदि कोरोनाभाइरसले त्यो छेकबार तोड्न सकेको हो भने यसको अर्थ ती भाइरस स्नायुप्रणालीको केन्द्रमा प्रवेश गर्न सक्यो भन्ने मात्रै होइन कि लामो समयसम्म त्यहाँ रहेका फेरि फर्कन सक्ने सम्भावन रहन्छ।

तस्बिर स्रोत, Science Photo Library
विरलै हुने भए पनि भाइरले यस्ता विशेषता देखिदै नदेखिएको भने होइन। ठेउलाको भाइरसले सामान्यतया स्नायुलाई असर गर्ने पछि दादको रूपमा फेरि सक्रिय हुन सक्ने हुन्छ।
सामान्यतया बाल्यकालमा ठेउला लागेका ३० प्रतिशत मानिसलाई जीवनको कुनै बेला दाद आउँछ। अन्य भाइरसको असर झन् खतरनाक हुन सक्छ।
सन् १९१८ मा महामारी फैलाएको भाइरसले मस्तिष्क र स्नायु प्रणालीलाई स्थायी क्षति पुर्याएका थिए। लगभग ५० लाख मानिसमा निन्द्रा बिरामी भनेर चिनिने चरम थकावट हुने रोग लागेको थियो।
बाँचेकामध्ये धेरै जीवनबाट निलम्बितझैँ अवस्थामा रहे।
"उनीहरूले न त जीवन महसुस गरे न भावना भन्न सके; उनीहरू भूतजस्ता र पूर्ण निष्क्रिय भए," सन् १९७३ मा प्रकाशित चर्चित संस्मरणमा प्रसिद्ध स्नायुरोग विशेषज्ञ ओलिभर स्याक्सले लेखेका छन्।

तस्बिर स्रोत, Science Photo Library
एम्पेरिअल कलेज लन्डनका प्राध्यापक डेभिड नटले सन् १९७० र सन् १९८० को दशकमा गम्भीर डिप्रेसनका बिरामीहरूको उपचार गरेको र उनीहरूमा सो रोग सन् १९५७ मा यूकेमा फैलिएको महामारीपछि देखा परेको बताए।
"त्यो डिप्रेसन स्थायी प्रकृतिको थियो जस्तो कि उनीहरूको सबै भावनात्मक प्रणाली कसैले बन्द गरिदिएको होस्," नट भन्छन्।
नटले कोरोनाभाइरसको महामारीपछि धेरै ठूलो सङ्ख्यामा यस्तै हुन सक्ने चेतावनी दिए।
कोरोनाभाइरसले मस्तिष्कमा गर्ने असर यसले फोक्सोमा गर्ने असरभन्दा धेरै ठूलो र खतरनाक हुन सक्छ।
फ्रान्समा हेल्म्स कोरोनाभाइरसको मस्तिष्कमा कति नराम्रो असर हुन सक्छ भने जानकार छिन्।

तस्बिर स्रोत, Getty Images
बीबीसीले उनीसँगको अन्तर्वार्ता गर्न कुर्नुपर्यो किनभने उनका एक कोभिड-१९ को बिरामी जो दुई महिनाअघि सङ्क्रमणमुक्त भएर अस्पतालबाट घर फर्केका थिए, उनलाई आत्महत्याको जोखिम कम गर्न आपत्कालीन सहयोग चाहिएको थियो।
ती व्यक्ति दुई महिनासम्म पनि थकावट र गम्भीर डिप्रेसनबाट बाहिर निस्कन सकेका थिएनन्।
र, ती व्यक्ति यस्तो समस्या देखिएका एक्लो व्यक्ति थिएनन्। धेरै निको भएका बिरामीहरूको यस्तै अवस्था थियो।
"उनी भ्रमित थिइन्, हिँड्न सक्दैन थिइन् र उनी मर्न चाहन्थिन्।यो साच्चै खराब अवस्था हो," हेल्म्सले भनिन्।
"उनी ६० वर्षकी भइन् तर उनले मलाई भनेकी छन् कि कोभिड-१९ ले उनलाई मृत बनायो अर्थात् उनको मस्तिष्कलाई काम नलाग्ने बनायो। उनी जीवनमा अब थप केही चाहन्नन्।"

तस्बिर स्रोत, Reuters
"यो साह्रै गाह्रो अवस्था हो किनभने हामीलाई यो क्षति कसरी रोक्ने भन्ने थाहा छैन। हामीसँग मस्तिष्कमा हुने क्षति रोक्न कुनै उपचार नै छैन," हेल्म्सले भनिन्।
फोक्सोको समस्या देखिएका बिरामीलाई श्वासप्रश्वास सहज बनाउने मेसिनमा राख्न सकिन्छ र मिर्गौलाको डायलसिस गर्न सकिन्छ।
राम्रो भयो भने यी दुवै अङ्ग फेरि पुरानै अवस्थामा फर्कन सक्छन्। तर मस्तिष्कका लागि त्यस्तो कुनै यन्त्र छैन।








