कोरोना भाइरसः इथियोपियामा ११४ वर्ष उमेर भएको दाबी गरिएका वृद्ध कोभिड-१९ बाट निको

अस्पतालमा अबा तिलाहुन

तस्बिर स्रोत, Hana Atsbeha

कम्तीमा एक सय वर्षीय ठानिएका एक इथियोपियाली वयोवृद्ध कोभिड-१९ बाट चामत्कारिक रूपमा निको भएको उपचारमा संलग्न एक चिकित्सकले बीबीसीलाई बताएका छन्।

अबा तिलाहुन वोल्डेमिकाइलको परिवारका अनुसार उनी ११४ वर्षका छन्। त्यसको अर्थ उनी विश्वकै सबैभन्दा वयोवृद्ध व्यक्ति हुनसक्छन्, तर त्यसलाई पुष्टि गर्न जन्मदर्ताको प्रमाणपत्र छैन।

असी वर्षभन्दा बढी उमेरका व्यक्तिमा कोरोनभाइरस सङ्क्रमण भए उनीहरू बढी जोखिम समूहमा पर्ने बताइन्छ।

यी शताब्दी पुरुषलाई अहिले घरमै नातिले हेर्दै आएका छन्।

छिमेकमा पर्ने राजधानी आदिस अबाबामा पहिल्यै निर्धारण नगरिएको जाँचका क्रममा अबा तिलाहुनमा कोरोनाभाइरस फेला पर्‍यो।

बीबीसीको न्यूजडे कार्यक्रमलाई डा. हिलुफ अबातेले बताएअनुसार लक्षण देखिनुभन्दा पहिल्यै अबा तिलाहुनलाई अस्पताल भर्ना गरिएको थियो।

तसर्थ चिकित्सकहरूले उनको राम्ररी उपचार गर्न सके अनि नजिकबाट उनको अवस्थालाई नियाल्न सके।

डा. हिलुफका अनुसार एका कोतेबे अस्पतालको कोरोनाभाइरस वार्डमा राखिएको चार दिनभित्र अबा तिलाहुनको स्वास्थ्य अवस्था खस्कियो र भाइरसले उनलाई कमजोर बनाइदियो। त्यसपछि उनलाई अक्सिजन दिन थालियो।

चौधदिने अस्पताल बसाइका क्रममा एक साताभन्दा बढी समय अक्सिजन दिएर उनको उपचार गरियो।

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि कडा उपायहरू अवलम्बन गरेको इथियोपियामा ५,००० भन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने ८१ जनाको ज्यान गएको छ।

उथलपुथलको समय

सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यका साथ इथियोपियामा ठाउँठाउँमा जाँच गरिँदै आएको छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यका साथ इथियोपियामा ठाउँठाउँमा जाँच गरिँदै आएको छ

हुन त एका कोतेबे अस्पतालले अबा तिलाहुन ११४ वर्षका भएको पुष्टि गर्न सक्दैन, तर उपचारमा संलग्न चिकित्सक टोलीका अनुसार उनी १०० वर्षभन्दा माथिका पक्का हुन्। चिकित्सकहरू उनको उमेर १०९ हुनसक्ने बताउँछन्।

देशमा अस्थिरता हुँदा जवानीमा उनी दक्षिणी इथियोपियाबाट आदिस अबाबा बसाइँ सरे।

आफ्नो जीवनकालमा उनी सन् १९३५ देखि १९४१ सम्म इटलीद्वारा देशमाथि कब्जा गरिएको, सन् १९७४ मा शासक हाइली गेब्रेसेलासीबालाई सत्ताच्युत गरिएको र सन् १९९१ मा मार्क्सवादी डेर्ग शासन ढलेको जस्ता विविध घटनाको साक्षी बने।

अहिले उनले कोभिड-१९ महामारी पनि खेपे।

इथियोपियन अर्थोडक्स चर्चमा उनले वर्षौँदेखि एक भिक्षुको रूपमा सामान्य जीवन बिताए। अबाको अर्थ बुवा हुन्छ।

तर जवानीमा अबा तिलाहुनले बिजुलीको काम गने र रङ्ग लगाउने मिस्त्री तथा सहायकका रूपमा काम गरेको उनका २४ वर्षीय नाति बिनयाम तिलाहुनले बीबीसीलाई बताए।

नातिसँग अबा तिलाहुन

तस्बिर स्रोत, Binyam Lulseged Tilahun

तस्बिरको क्याप्शन, अबा तिलाहुन अहिले आफ्ना नातिसँग बस्छन्

वयोवृद्ध भएर पनि उनका हजुबुवाले राम्रो गरिरहेका थिए र उनी स्वस्थ देखिन्थे। तर भाइरस लागेपछि स्वर कमजोर बनाइदिएको नातिले बताए।

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि इथियोपिया सरकारले एप्रिलमा देशमा सङ्कटकाल घोषणा गर्‍यो।

विद्यालय तथा खेलकुद स्थलहरू बन्द गराइयो भने ठूला जमघट तथा खेलकुद कार्यक्रममा प्रतिबन्ध लगाइयो र सार्वजनिक यातायातमा कटौती गरियो।

तर व्यापार-व्यवसाय चाहिँ खुला राखिएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, वास्तवमा कोरोनाभाइरस के हो?