कोरोना भाइरस नेपालः थप ५९३ जनामा सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

नेपालमा विगत २४ घण्टामा थप ५९३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

योसँगै शुक्रवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ११,७५५ पुगेको छ।

तीमध्ये २,६९८ जना निको भएका छन् भने २७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

मन्त्रालयले थप ४८ जना निको भएको तथा एक जनाको मृत्यु भएको शुक्रवार पुष्टि गरेको हो।

अहिलेसम्म प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड-१९ भएका व्यक्ति भेटिएका छन्।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।

नेपाल कोरोनाभाइरस

बिहीवार विभिन्न जिल्लामा ४३४ जना र बुधवार ६२९ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

गत असार ४ गते एकै दिन सर्वाधिक ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

को हुन् मृतक?

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार कोभिड-१९ पुष्टि भएकी मृतक दाङमा फेला परेकी थिइन्।

असार ११ गते अचेत अवस्थामा फेला परेकी र अस्पतालले मृत घोषित गरेकी ती अन्दाजी २५-३० वर्षीया ती महिलाको नाम परिचय खुलेको छैन।

मरणोपरान्त उनीबाट सङ्कलित नमुना परीक्षण गर्दा ती महिलामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको उनले बताए। परीक्षणको परिणाम शुक्रवार आएको थियो।

के छ अरू तथ्याङ्क?

अहिलेसम्म रसुवाबाहेक सबै ७६ जिल्लामा कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्ति फेला परेका छन्।

coronavirus test
BBC
नेपालमा कोरोनाभाइरस सङ्क्रमण

असार १२ शुक्रवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क

  • ११,७५५कुल सङ्क्रमण

  • ७६प्रभावित जिल्ला

  • विगत २४ घण्टामा पीसीआर परीक्षण ६,५३५

  • चिकित्सकीय निगरानीमा अलग्गै९,०३०

  • देशभरि क्वारन्टीनमा७१,०१२

  • अहिलेसम्म निको२,६९८

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ६,५३५ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या २,०६,२७१ पुगेको छ।

क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।

अहिले देशभरि ७१,००० जनाभन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस नेपाल: क्वारन्टीनमा सङ्गीत
कोरोनाभाइरस ब्यानर
Presentational white space