कोरोना भाइरस नेपालः सङ्क्रमितको कुल सङ्ख्या ११,००० नाघ्यो, अहिलेसम्म २६ जनाको मृत्यु

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

नेपालमा विगत २४ घण्टामा थप ४३४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

योसँगै बिहीवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ११,१६२ पुगेको छ।

तीमध्ये २,६५० जना भाइरसमुक्त भएका र थप दुई जना गरी कुल २६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

विगत २४ घण्टामा ३१२ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

अहिले विभिन्न जिल्लामा सङ्क्रमितहरू फेला परेका हुन्। उनीहरूमध्ये पुरुषको सङ्ख्या धेरै छ।

बुधवार ६२९ जनामा सङ्क्रमण पुष्टि भएको थियो। गत साता असार ४ गते एकै दिन सर्वाधिक ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

कोरोनाभाइरस

अहिले प्रदेश नं २ र ५ कोभिड-१९ बाट सर्वाधिक प्रभावित भएको देखिएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।

को हुन् मृतक?

डा. गौतमका अनुसार सोमवार राति पोखरास्थित अस्पतालमा मृत्यु हुने व्यक्ति स्याङ्जाका हुन्। उनमा मधुमेह र श्वासप्रश्वासको समस्या देखिएको थियो।

कोभिड-१९ पुष्टि भएपछि ती व्यक्तिलाई असार ८ गते पोखरा ल्याएर अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो। उनको असार १० गते राति मृत्यु भएको डा. गौतमले बताए।

अर्का मृतक ललितपुरका हुन्। उनको पाँच महिनाअघि मिर्गौला प्रत्यारोपण गरिएको र स्वास्थ्यमा समस्या आएपछि परीक्षण गर्दा उनमा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो।

पाटन अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहँदा बिहीवार बिहान उनको मृत्यु भएको जानकारी डा. गौतमले दिए।

को हुन् सङ्क्रमित?

अहिले सङ्क्रमण पुष्टि भएकामध्ये पाल्पाका सर्वाधिक ११५ जना छन्।

काठमाण्डूमा दुई महिला र दुई पुरुष, ललितपुरमा एक पुरुष तथा भक्तपुरमा एक महिला र तीन पुरुष गरी कुल नौ जनामा सङ्क्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार काठमाण्डूमा सङ्क्रमण पुष्टि भएकामध्ये एक जना डोल्पा र एक जना सुनसरीका हुन्।

डोल्पाका पुरुष असार ७ गते नेपालगन्जबाट काठमाण्डू आएको र सुनसरीका पुरुष गत असार २ गते माल्दिभ्सबाट आएको बुझिएको छ। उनीहरूमा कुनै लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ।

गागलफेदीका एक पाँच वर्षीय बालकलाई ज्वरो तथा श्वासप्रश्वासको समस्या देखिएपछि अस्पतालमा परीक्षण गर्दा कोभिड-१९ पुष्टि भएको छ।

त्यस्तै सुकेधाराका एक महिला र एक पुरुष तथा थापागाउँकी एक महिलामा पनि कोरोनाभाइरस सङ्क्रमण देखिएको छ। उनीहरू भारतबाट नेपाल फर्किएपछि जेठ ३२ मा सङ्क्रमण पुष्टि भएको एक व्यक्तिसँग एउटै गाडीमा आएको बुझिएको छ।

ज्वरो आएर परीक्षण गराउन अस्पताल गएका नख्खुका एक किशोरमा पनि कोभिड-१९ पुष्टि भएको छ।

के छ अरू तथ्याङ्क?

अहिलेसम्म रसुवाबाहेक सबै ७६ जिल्लामा कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्ति फेला परेका छन्।

डा. गौतमका अनुसार विगत २४ घण्टामा ६,५४३ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

coronavirus test
BBC
नेपालमा कोरोनाभाइरस सङ्क्रमण

असार ११ गते बिहीवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क

  • ११,१६२कुल सङ्क्रमण

  • ७६प्रभावित जिल्ला

  • विगत २४ घण्टामा पीसीआर परीक्षण ६,५४३

  • चिकित्सकीय निगरानीमा अलग्गै८,४८६

  • देशभरि क्वारन्टीनमा७४,०२२

  • अहिलेसम्म निको२,६५०

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १,९९,७३७ पुगेको छ।

क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।

अहिले देशभरि ७४,००० भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational white space