कोरोना भाइरस नेपाल: थप ५८६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि, बाँकेमा एक जनाको मृत्यु

परीक्षण

तस्बिर स्रोत, Rss

नेपालमा विगत २४ घण्टामा थप ५८६ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको र एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

योसँगै बुधवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७,१७७ पुगेको छ।

तीमध्ये १,१६७ जना निको भएका छन् भने २० जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

विगत २४ घण्टामा नौ जना निको भएर अस्पतालबाट घर फर्किएको उनले बताए।

अहिलेसम्म ७७ मध्ये ७३ जिल्लामा कोभिड-१९ पुगेको पुष्टि भएको छ।

coronavirus test
BBC
नेपालमा कोरोनाभाइरस सङ्क्रमण

असार ३ गते मङ्गलवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क

  • ७,१७७कुल सङ्क्रमण

  • ७३प्रभावित जिल्ला

  • विगत २४ घण्टामा पीसीआर परीक्षण ६,०३७

  • चिकित्सकीय निगरानीमा अलग्गै५,९९०

  • देशभरि क्वारन्टीनमा१,२५,७९८

  • अहिलेसम्म निको१,१६७

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड-१९ भएका व्यक्ति फेला परेका छन्।

सरकारले मङ्गलवार पुष्टि गरेको सङ्क्रमितको सङ्ख्या ३८० थियो।

त्यसैगरी आइतवार र सोमवार क्रमश: एक जनाको मृत्यु र ४२५ जनामा सङ्क्रमण तथा ४५१ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

मृत्यु भएकी महिला को हुन्?

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा सोमवार साँझ मृत्यु भएकी महिलाको परीक्षण गर्दा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो।

बीबीसीकी नेपालगन्जस्थित संवाददाता विमला चौधरीका अनुसार बाँके जिल्लाको वैजनाथ गाउँपालिका-६ की ४६ वर्षीय महिलाको दायाँ फोक्सोमा समस्या देखिएपछि गत जेठ ३० गते अस्पताल भर्ना गरिएको थियो।

डा. गौतमका अनुसार ती महिलामा मिर्गौलाको पनि समस्या रहेको बताए।

कोरोनाभाइरस नेपाल

उनको सोमवार दिउँसो कोरोनाभाइरस परीक्षणका लागि स्वाब सङ्कलन गरिएको बाँके स्वास्थ्य कार्यालयका नरेश श्रेष्ठले जानकारी दिए।

अस्पतालका अनुसार महिलाको मृत्यु सोमवार साँझ भएको र परीक्षणको नतिजा मङ्गलवार राति आएको हो।

श्रेष्ठले मृतकको शव अस्पतालकै शवगृहमा रहेको र कोभिड-१९ निर्देशिकाबमोजिम अन्तिम संस्कार गरिने बताए।

बाँकेमा कोरोनाभाइरस सङ्क्रमणका कारण भएको यो दोस्रो मृत्यु हो। यसअघि नरैनापुर क्वारन्टीनमा मृत्यु भएका २५ वर्षीय पुरुषमा कोरनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

के छ अरू तथ्याङ्क?

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६,०३७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १,४९,५७२ पुगेको छ।

क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।

अहिले देशभरि एक लाख २५ हजारभन्दा बढीव्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशमा र त्यसपछि क्रमश: प्रदेश नं ५, कर्णाली प्रदेशमा र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन्।

अहिले देशभरि २२ वटा प्रयोगशालाबाट कोरोनाभाइरस पुष्टि गर्ने परीक्षण हुने गरेको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर